प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेका सेलिब्रिटीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिरहेका छन्। समानुपातिक सूचीमा सेलिब्रिटीलाई राखेको भन्दै आलोचना भएपछि सेलिब्रेटी पछि हटेका हुन्।
एकपछि अर्को सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरिँदा बुधबार मात्रै चर्चित भ्लगर सिर्जना सिज्जुले पनि आफ्नो नाम फिर्ता लिएको बताएकी छन्। काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) को समूहबाट समानुपातिक उम्मेदवार बनेकी सिर्जनाले सामाजिक सञ्जालमार्फत उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।
बालेन र कुलमान घिसिङले रवि लामिछाने नेतृत्वको रास्वपासँग एकताको सहमति गरेका थिए। त्यसपछि तीनैले समानुपातिक उम्मेदवार छनोट गरेका थिए। जसमा कलाकार, व्यवसायी, खेलाडीसहित चर्चित अनुहार परेपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। त्यसपछि सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिने घोषणा गर्न थालेका हुन्।
सुरुमा गायिका तथा डा. त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिने घोषणा गरिन्। उनले फेसबुकमा लामो स्टाट्स लेख्दै उम्मेदवारीबाट पछि हड्ने निर्णय लिएको बताइन्।
‘गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो,’ उनले लेखेकी छन्।
त्यसपछि त उम्मेदवारी फिर्ता लिने घोषणाको लहर नै चल्यो। अभिनेता आशिफ साहदेखि व्यवसायी सचिन ढकाल, पर्वतारोही टासी शेर्पा, अभियन्ता डा. महेन्द्र लावतीले उम्मेदवारी फिर्ता गर्ने घोषणा गरे।
यद्यपि, व्यवसायी विदुषी राणाले नाम फिर्ता नलिने बताएकी छन्। उनले समानुपातिक सूची आफ्नो अधिकारभन्दा पनि जिम्मेवारी भएकाले भोलिको पुस्ताको आवाज लिएर उम्मेदवार बनेको तर्क गरेकी छन्।
गोल्डस्टार जुत्ता उत्पादन कम्पनीकी कार्यकारी निर्देशक रहेकी विदुषीले भनेकी छन्, ‘नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणमा निर्भर छ। यही विश्वासका साथ म यस भूमिकामा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्ध छु।’
रास्वपाको समानुपातिक सूचीमा कला क्षेत्रबाट सात जना परेका थिए। त्रिशला, आशिफसहित चर्चित होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मा, गायक प्रकाश सपुत, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गायिका सत्यकला राई र पूर्व मिस्टर नेपाल तथा डा. रुपक घिमिरे परेका थिए।
कुलमानको पार्टी उज्यालो नेपालबाट राजनीतिमा प्रवेश गरेकी रीमा तयारीका साथ आएको देखिन्छिन्। केही महिनाअघि नै पार्टीमा प्रवेश गर्दैं उनी विभिन्न राजनीतिक गतिविधिमा सक्रिय हुँदै आएकी छन्।
रास्वपामा कुलमानपक्षबाट रीमाको नाम समानुपातिक सूचीमा अटाएको हो। रीमाको नाम दलित महिला क्लस्टरमा छ। जसकारण उनी पछि हट्ने सम्भावना छैन।
त्यस्तै, रीमाजस्तै सत्यकला राई र रुपक घिमिरे विश्वकर्माको पनि पहिल्यैदेखि चुनावी तयारी देखिन्छ। उनीहरू पनि रास्वपाको प्रारम्भिक निर्वाचनदेखि सहभागी भएर आएका हुन्। रुपक दलित पुरुष क्लटरको एक नम्बरमा छन्। यस्तोमा उनले पनि उम्मेदवारी फिर्ता लिने देखिँदैन।
राजनीतिमा गायक तथा अभिनेता प्रकाश सपुतको इन्ट्री भने ‘सरप्राइज’ देखिन्छ। किनकि यसअघि प्रकाश राजनीतिमा आउनेबारे अनुमान समेत गरिएको थिएन। २ वर्षपछि स्टेज कार्यक्रममा फर्किएका उनी अचानक राजनीतिमा प्रवेश गर्नुलाई अनौठो मान्नु स्वभाविक पनि हो।
पूर्वमिस नेपाल अनुष्का भने पछिल्लो समय व्यवसाय सञ्चालन गर्दै आइरहेकी छन्। उनी पनि एकाएक राजनीतिमा आइन्। धेरै जना सेलिब्रिटी पछि हट्दा प्रकाश र अनुष्काले के गर्लान्?
प्रकाश र अनुष्काको उम्मेदवारी फिर्ता लिने अहिलेसम्म सम्भावना नरहेको रास्वपाका सह-महामन्त्री विपिन आचार्यले जानकारी दिए। पार्टीले कुनै प्रेसर नदिएको दाबी गर्दैं सबैले स्वत: उम्मेदवारी फिर्ता लिएको आचार्यको भनाइ छ।
‘तीन जनाको टिमबाट आएको सूची समानुपातिकमा गएको हो। जसकारण हामीले केही त्रुटि भएकोमा सच्याउने भन्दै प्रेस रिलिज नै निकालेका थियो। जनताबाट प्रतिक्रिया आएपछि कतिपय साथीहरूले आत्मबोध गर्दैं अहिलेको लागि म ठीक होइन भनेर फिर्ता लिनुभएको हो जस्तो लाग्छ,’ उनले नेपालखबरसँग भने।
समानुपातिक उम्मेदवारीकाे सूची नाम फिर्ता लिन कसैलाई दबाब नदिएको उनले बताए। ‘पार्टीले कसैलाई प्रेसर दिएको छैन। सबै स्वस्फूर्त रुपमा दिएका हुन्’, आचार्यले भने, ‘प्रकाश र अनुष्काजीले फिर्ता लिने अहिलेसम्म केही कुरा गरेको छैन।’
उम्मेदवारी फिर्ता लिएको घोषणा गरकेा व्यक्तिलाई गलत वा योग्य नभएर फिर्ता लिएको भन्ने भाष्य निर्माण गर्न नहुने उनको भनाइ छ। ‘फिर्ता भएका व्यक्तिहरू गलत भएर फिर्ता लिएको भन्ने भाष्य पनि बनाउनु सही होइन। जति पनि फिर्ता लिनुभएका साथीहरूको नाम छ, उहाँहरूले समाजमा ठूलो योगदान दिनुभएको छ,’ धेरै अफवाह फैलाएको जिकिर गर्दै उनले भने, ‘सबैले आफूलाई भन्दा पार्टीलाई माथि राखेर यो पटक फिर्ता लिँदा नागरिकको माग सम्बोधन हुन्छ भने फिर्ता लिन्छु भनेका छन्।’
मिडियाले पनि गतल भाष्य निर्माण गर्दा उनीहरूप्रति ज्याजती भएको आचार्यको तर्क छ। सेलिब्रिटी भन्दैमा राजनीतिक चेत नै हुँदैन भन्ने भाष्य गतल रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया