ad ad

कला


जेठ ११ बाट सुरु हुँदै ‘नेपाल फेसन फेस्टिभल’

जेठ ११ बाट सुरु हुँदै ‘नेपाल फेसन फेस्टिभल’

नेपालखबर
जेठ २, २०८१ बुधबार १२:५४, काठमाडौँ

जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीन दिने ‘नेपाल फेसन फेस्टिभल २०२४’ आयोजना हुने भएको छ।

‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तीकरण गर्दै’ भन्ने नाराका साथ यो महोत्सव हुन लागेको हो।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने व्यक्तिहरुका लागि फेसन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुबारे ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न लागेको हो।

यो महोत्सव ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी जेठ ११ गते शुक्रबारदेखि तीन दिनसम्म चल्नेछ। हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभल हुनेछ।

फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तीकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उद्देश्यले महोत्सव गर्न लागेको बताए।

आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कसजुका अनुसार यो फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो। नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो फेस्टिभलको अधिकांश तयारी पूरा भइसकेको छ।

‘हामीले पहिलो पटकको आयोजनामा कम्तीमा ७५ वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्र, जुन हाम्रो जीवनशैलीसँग पनि नजिक छ, ती सबैलाई एउटै छानामुनि समेट्ने प्रयास गरेका छौं,’ कसजुले भने

महोत्सवका क्रममा नेपालको फेसन उद्योगको वरपर रहेर हरेक दिन दुईवटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन हुनेछन्। जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीहरुबारेमासम्बन्धी क्षेत्रका विज्ञहरुबीच कुराकानी गरिनेछ। यसबाहेक महोत्सवमा फेसनसँग सम्बन्धि वर्कशप तथा मास्टर क्लासहरु सञ्चालन गरिँदैछ।

फेसन भन्ने बित्तिकै ग्ल्यामर फोटोग्राफी पनि सँग–सँगै जोडिएर आउने भएकाले महोत्सवको क्रममा फेसन फोटो प्रदर्शनीसमेत आयोजना हुँदैछ। जहाँ नेपालका अनुभवी पाँच जना फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीहरुको प्रदर्शन गरिने छ ।

त्यस्तै, फोटो टक सेसनमा यी फोटोग्राफरहरुले महोत्सवमा प्रदर्शन गरिएका फोटोहरुका बारेमा जानकारी मात्र गराउने छैनन्, फोटोग्राफीको अनुभव, चुनौती तथा सम्भावनाहरुका बारेमा समेत स्पष्ट पार्नेछन्।

महोत्सवमा फेसन फिल्म शोकेस पनि समेत समावेश छ, जहाँ फेसन भिडियोग्राफीहरु शोकेश गरिनेछ। फेसन उद्योगमा आवद्ध व्यक्तिहरुले कुनै न कुनै रुपमा तयार पारेका भिडियो कन्टेन्टहरुलाई यसक्रममा प्रदर्शन गर्नेछन्।

साथै महोत्सवमा हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहा महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरनहरु शोकेश गरिने छ। फेसन शोमा क्याटवाक गर्ने मोडलहरु केही समयअघि अडिसनमार्फत छनोट भइसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .