कला


पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १३:५६,

नेपाली आधुनिक पत्रकारिताका संस्थापक तथा चलचित्र पत्रकारिताका प्रणेता स्व. पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ।

श्रेष्ठद्वारा प्रतिस्थापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन्।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन्।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन्। करिब एक सय देश घुमिसकेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा पुस्तकमार्फत चिन्ता प्रकट गरेका छन्। नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ। मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेटेका छन्। 

नेपालको अवस्था बुझ्न ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ निकै सहयोगी स्रोत सामग्री हुने छ। पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि श्रेष्ठलाई नेपालका डाक्टरले ग्यास्ट्रिक भन्दै औषधि खुवाइरहेको, फुटबल खेल्दा खुट्टा नै बाङ्गो हुने गरी घुँडामा समस्या हुँदा समेत ३५ वर्षअघि मर्केको खुट्टामा ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको, परिणामस्वरुप खेलजीवनबाट संन्यास लिन बाध्य हुनुपरेको उहांका मार्मिक सन्दर्भले किताब भरिएको छ।

पुस्तकमा सञ्चारविद् प्राध्यापक पी. खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा. सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालजस्ता वरिष्ठ र बहुचर्चित व्यक्तिहरुले आ–आफ्ना धारणा प्रकट गरेका छन्।

२०७६ वैशाख ४ गते ६० वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठका बारेमा उनका पुत्रहरु दिरेकलाल श्रेष्ठ र अनुजलाल श्रेष्ठले पितामाथि गरेको विश्लेषण पनि पुस्तकमा समेटिएको छ, जो मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि पठनीय सन्दर्भ बनेको छ।

कुल ३४८ पृष्ठको मोटो गाता (हार्ड कभर)मा प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकको मूल्य रु. १,२५० राखिएको छ भने पेपर ब्याकको पुस्तक रु. ७०० मा प्राप्त गर्न सकिन्छ।

मुलुकभित्र मुख्य शहरमा रहेका प्रभावशाली पुस्तक पसल तथा पत्रपत्रिका विक्रेताबाट खरिद गर्नसकिने यस पुस्तकका लागि काठमाडौं उपत्यकाका पाठकहरुले अनलाइन खरिद पनि गर्न सकिनेछ। इच्छुक व्यक्तिले सिधै ९८५१०७२००४ वा ९८४१४०३७७३ मा फोन गरेर पनि पुस्तक मगाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .