ad ad

कला


मृत्युको आयु चेस बोर्डको खेल होः रवीन्द्र समीर

मृत्युको आयु चेस बोर्डको खेल होः रवीन्द्र समीर

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १०:११,

साहित्यकार डा. रवीन्द्र समीर ‘मृत्युको आयु’ नामक उपन्यास लिएर बजारमा आएका छन्। लघुकथा शैलीमा लेखिएको यस पुस्तक बजारमा आएसँगै चर्चा पनि पाइरहेको छ। यसै सन्दर्भमा नेपालखबरले समीरलाई पुस्तकमा केन्द्रित रहेर ५ प्रश्न गरेको छः

१. उपन्यासको नाम ‘मृत्युको आयु’ नै किन राख्नुभयो ? यसमा कस्ता खालका विषयवस्तु समेटिएका छन्?
जीवनको आयु लेख्दै थिएँ। अचानक काठको बाकससँग जम्काभेट भयो। अकालमा मृत्यु कमाएको नेपाली श्रमिकलाई आफ्नो देश आउन हप्तौं लाग्यो। उसको शवसँगै धेरै कुराहरु जले– उसका सपना, आश्रित परिवारको भविष्य। ऊ जलेपछि १३ दिनको किरियाकर्म सुरु भयो। मलाई लाग्यो, मृत्युको जन्मदेखि अन्तिम संस्कारसम्मको समय एउटा आयु हो, मृत्युको आयु।

२. उपन्यासमा नौलो शैलीको प्रयोग गरेको भन्नुहुन्छ। के हो त्यो शैली?

हाम्रा उपन्यासहरू एकै शैलीमा लेखिएका छन् । मृत्युको आयु लघुकथाको 'फर्म्याट'मा लेखिएको छ। २ सय पेजको उपन्यासमा १ सय ६६ वटा 'च्याप्टर' छन्। ती हरेक 'च्याप्टर' आफैँमा पूर्ण लघुकथा हुन् । १ सय ६६ वटा लघुकथाको माला नै पूर्ण उपन्यास हो। हरेक च्याप्टरमा अन्त्योत्कर्ष छ, अनपेक्षित बैठान छ। आवधिक हिसाबले भन्नुपर्दा पात्रको मृत्युबाट उपन्यास सुरु हुन्छ, अन्तिम संस्कारको १३ दिनमा उपन्यास सकिन्छ। आम उपन्यास फुटबल मैदानको खेल हो भने मृत्युको आयु चेस बोर्डको खेल हो।

३. तपाईं उपन्यास सामाजिक विषयवस्तु र वर्तमान परिवेशमा केन्द्रित छ भन्नुहुन्छ। यसले समाजमा कस्तो आयाम थप्ला?
यो लाखौँ नेपाली श्रमिकले देखेको, सुनेको तथा हजारौं श्रमिकले भोगेको कथा हो। हजारौं आश्रित परिवारको आँशुको कथा हो। यो मृत्यको आयुमार्फत जीवनको आयु लेखिएको उपन्यास हो। वैदेशिक रोजगारीप्रतिको मोह, असुरक्षित जीवनशैली तथा खर्चिलो अन्तिम संस्कारलाई व्यंग्यको पाइन चढाएर लेखेको छु। यो उपन्यासभित्र सुरक्षित वैदेशिक रोजगारीको अन्तर्य छ।

४. खाडी गएको नेपाली श्रमिक (उपन्यासको पात्र)को कथाले नेपाली समाजको चित्रण कसरी गरेको छ?
भाषा, सीप, सुरक्षासम्बन्धी सचेतना तथा कामको प्रकृति नबुझी विदेश जाने जुन रहर र लहर समाजमा छ, त्यो नै अहिलेको हाम्रो समाजको खतरनाक चित्र हो। विना सीप विदेश पठाउने राज्य र स्वदेशमा काम गर्न हिच्किचाउने खतरनाक प्रवृत्तिकाे चित्र हो, मृत्युको आयु।

५. उपन्यास भन्नासाथ अलिअलि प्रेम, अलिअलि रोमान्स र अलिअलि दुःखान्त हुन्छ या भनौँ आख्यान कल्पनाको वहार हो भन्ने गरिन्छ। तपाईंको सामाजिक उपन्यासमा यी कुरालाई कसरी संयोजन गर्नुभएको छ?
यो उपन्यासमा कल्पना तथा मिथको पर्याप्त प्रयोग भएको छ। युवा अवस्थामा निधन भएको पात्रको कथा कारुणिक हुन्छ नै। मृत्युको आयुमा कतै मृत्युसँग प्रेम छ, कतै जीवनसँग। यस्तै कुरा संयोजन गर्न अरबदेखि घाटसम्म, किरियाघरदेखि शास्त्रको ढोकासम्म पुगेर ३ वर्ष मिहिनेत गर्नुपर्यो। मृत्युको आयुमा कथ्य, करुणा तथा व्यंग्यलाई नयाँ शैलीले संयोजन गरेको छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .