चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ बक्सअफिसमा हिट भइसकेको छ। गत माघ १६ गतेबाट रिलिज भएको यस फिल्मले सिनेमा बक्सअफिसमा ९ करोड कमाइ गरिसकेको छ।
फिल्मको सफलतासँगै निर्देशक पन्तले ‘आ बाट आमा’ दोस्रो पार्ट बनाउने भएका छन्। उनले नेपालखबरसँगको कुराकानीमा फिल्मको दोस्रो पार्ट ल्याउनेबारे खुलासा गरे।
‘अर्को वर्षमा साउनमा नयाँ फिल्म गर्छु होला। अहिलेलाई दुईवटा फिल्मको प्लान भएको छ। एउटा लभस्टोरी। अर्को चाहिँ ‘आ बाट आमा’ को पार्ट २ आउँछ। पार्ट २ भए पनि फिल्म नयाँ कथामा हुनेछ। यो फिल्म बन्नुअघिनै दोस्रो पार्ट ल्याउने कुरा भएको थियो। टिममा पहिले कुन फिल्म बनाउने चाहिँ फिक्स भएको छैन,’उनले भने।
वैदेशिक रोजगारीको कथामा बनेको ‘आ बाट आमा’ ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ। गत कात्तिक १५ मा रिलिज भएको ‘परान’ पछि कुनै नेपाली फिल्मले लगानी उठाउन सकेनन्। यस्तो अवस्थामा तीन महिनापछि नेपाली बक्सअफिसले हिट फिल्म पाएको छ।
Shares

प्रतिक्रिया