कला


एक दशकपछि ‘कमला मिस’ मार्फत निर्देशनमा फर्किए नीर शाह

एक दशकपछि ‘कमला मिस’ मार्फत निर्देशनमा फर्किए नीर शाह

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १३:६, काठमाडौँ

कलाकार नीर शाह एक दशकपछि फिल्म निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा फिल्म ‘कमला मिस’ बन्न लागेको हो।

उनको ८ औं निर्देशकीय यस फिल्मको शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभ मुहूर्त गर्दै छायांकन सुरू गरिएको हो।

स्वर्गीय साहित्यकार विजय मल्लद्वारा लिखित चर्चित नाट्य कृति ‘कोही किन बर्बाद होस्’ को कथाबाट प्रेरित छ। यस फिल्ममा शाहसहित बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी लगायतका कलाकारहरूको अभिनय रहनेछ। बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई फिल्मले उजागर गर्ने जनाइएको छ।

पछिल्लो पटक शाहले सन् २०१५ मा फिल्म ‘सेतो बाघ’ निर्देशन गरेका थिए।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा बन्ने फिल्मको कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद शाहसहित प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

सन् १९६९ मा प्रकाशित ‘कोही किन बर्बाद होस्’ कृतिमाथि कुञ्ज थिएटर, सेन्ट जेभियर्स कलेज, बुढानिलकण्ठ स्कुल लगायतले नाटक मञ्चन गरिसकेका छन्। कुञ्जले मञ्चन गरेको नाटकमा चर्चित रंगकर्मी सुनिल पोखरेलले समेत अभिनय गरेका थिए।

शाहको पछिल्लो फिल्म ‘परान’ ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad