गत वैशाखमा रिलिज भएको ‘ऊनको स्वीटर’ बक्सअफिसमा आक्रामक कमाइ गर्न सफल भयो। तर, त्यसपछि रिलिज भएका नेपाली फिल्मले भने खासै कमाल गर्न सकेनन्।
वर्षायाम भएकाले असारमा एउटा मात्रै फिल्म रिलिज हुँदा साउनको मध्यसम्म पनि ‘रियाल रिंगेट’ मात्रै हलमा लाग्यो। तर, यो फिल्म तीन दिन पनि हलमा टिक्न सकेन। हलले उपयुक्त समयको सो नदिएको भन्दै निर्माण टिमले प्रदर्शन रोके।
यस्तोमा गत शुक्रबारदेखि दुई नेपाली फिल्महरू ‘मोहर’ र ‘सिटामोल’ एकसाथ रिलिज भए। जुन फिल्मले बक्सअफिसमा आशा जगाएका छन्। सुरुवातमा औसत व्यापार गरे पनि शनिबारदेखि भने दुवै फिल्मले दर्शकको राम्रो साथ पाएका छन्।
शुक्रबार औसत ओपनिङ गरेको ‘मोहर’ शनिबार भने आक्रामक देखियो। शनिबार बिहानीका सोहरू औसत देखिए पनि मध्यान्हबाट फिल्म हेर्ने दर्शकको भीड बढेको थियो।
काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका सोसम्म दर्शकको उच्च चाप देखियो। नेपालगन्जका हलहरूले हिन्दी फिल्मको सो कटौती गरेर ‘मोहर’को थपेको छ।
फिल्मले पोखरा, बुटवल, चितवनमा पनि सुखद व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए।
शनिबार दिनभर नै फिल्मका निर्देशक ओम प्रतीकसहित पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाह काठमाडौंका हल पुगेका थिए।
उनीहरू काठमाडौंको अष्टनारायण हल पुग्दा दर्शकको भिड लागेको थियो। अभिनेता पल शाहले दर्शकलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए।
फिल्मका वितरक करण श्रेष्ठले ‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली फिल्मको व्यापारको खडेरीलाई चिरेको बताए। चुम्बन जंग शाहीको लगानी रहेको फिल्मले देउकी प्रथाको कथा समेटेको छ।
त्यस्तै, सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको ‘सिटामोल’ मा पनि दर्शकको उपस्थिति राम्रै देखिएको छ। हलमा दर्शक देखिएपछि सौगात र बेनिशा लगायत कलाकार उपत्यकाका हल पुगेका थिए। जहाँ दर्शकहरूले कथावस्तुले मन जितेको भन्दै अन्तिममा रुवाएको समेत प्रतिक्रिया दिए। फिल्मले राम्रै गरिरहेको निर्माण टिमले जनाएको छ।
राजबहादुर साने निर्देशित सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी र बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। तुल्सीदेवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।
आज पनि दुवै फिल्मलाई हलहरूले लगभग बराबरी सो उपलब्ध गराएका छन्। यद्यप दुवै निर्माण टिमले रकमको अंक भने सार्वजनिक गरेका छैनन्। बलियो माउथ पब्लिसिटी भएको खण्डमा यी फिल्मले बक्सअफिसमा रौनक फर्काउन सक्ने निर्माण टिमहरूको विश्वास छ।
Shares

प्रतिक्रिया