हास्य कलाकार केदार प्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी सीता सुवेदीलाई सहयोग गरेका छन्। एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सुवेदीलाई घिमिरेले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
घिमिरेले सीता हाल उपचाररत रहेको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेका हुन्। यस अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए।
‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेको भनाई थियो।
उनले यस संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे। एमस नेपाल इन्टरनेशनलका तर्फबाट आयोजक झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग सद्भावना र प्रेरणादायी रहेको बताए।
घिमिरेले केही अघि नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा एमस नेपाल इन्टरनेशनल सुवेदीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।
सीता विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचार गरिरहेकी छिन्। सीताले २०२३ मा एमस नेपाल इन्टरनेशनलको ताज जितेकी सीता सामाजिक क्षेत्रमा पनि क्रियाशील समेत थिइन्।
Shares

प्रतिक्रिया