पछिल्लो समय नेपाली सिनेमाको धार परिवर्तन हुँदै छ। एक समय कमेडी फिल्ममा रम्ने दर्शक अहिले भावनात्मक (इमोसनल) सिनेमातर्फ ढल्किरहेका छन्।
जसका जल्दाबल्दा उदाहरण हुन्- ‘पूर्ण बहादुरको सारंगी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ आदि।
जुन फिल्मले दर्शकबाट प्रशंसासँगै पैसा बटुले।
त्यसैले दर्शकको बदलिँदो रुचि र चाहनाअनुसार आफूहरूले ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ बनाएको बताउँछन् निर्देशक हिमाल न्यौपाने।
‘हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडिओदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रस्ट पारेका छन् भन्ने लाग्छ। हामी आम नेपालीले भोगेको समस्या हाम्रो सिनेमाले देखाउनेछ’, निर्देशक न्यौपानेले भने, ‘भर्खरै आएको गीतले पनि यो प्रस्ट पारेको छ। आमालाई अगाध माया गर्ने छोरोले आमालाई खुसी दिन संघर्ष गरेको देखिन्छ।’
निम्न र मध्यम वर्गका आम नेपालीले भोगिरहेको समस्या आफ्नो सिनेमामा रहेको दाबी निर्देशक न्यौपाने गर्छन्। आर्थिक रूपमा टकटकिएर झन् सानो भएको छोरोको ठूलो मन ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा देख्न पाइने उनको भनाइ छ।
रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटाना दर्शकलाई देखाउने रहरले आफूले यो चलचित्र बनाएको उनी बताउँछन्।
यो फिल्म आगामी भदौ ६ गते रिलिज हुनेछ। अहिले यो सिनेमा छायांकन सकेर पोस्टप्रोडक्सनमा छ। चलचित्रको छायांकन काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो।
फिल्मको मुख्य भूमिकामा विजय बराल छन्।
चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन्। फिल्ममा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतले पनि अभिनय गरेका छन्।
पेपरक्लिपको ब्यानरमा बनेको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिका रहेको फिल्म भएकाले यो वर्षको बहुप्रतीक्षित बनेको छ।
Shares

प्रतिक्रिया