१५औँ विन्ध्यवासिनी म्युजिक अवार्डमा ‘जुन माया’ बोलको गीत सर्वोत्कृष्ट भएको छ भने राज सिग्देलले ‘हृदयमा’ बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले ‘मौसम आउलाबाट’ सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेका छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा ‘छौ नि तिमी आहा’बाट श्रीधर अधिकारीले उत्कृष्ट संगीतकार, ‘पिरिम गाडी’बाट वैकुण्ठ महत र बेनिशा पौडेलले युगल गायनको अवार्ड जिते। त्यस्तै विनोद श्रेष्ठ र उषा सुवेदीले ‘विदाई २’ बाट मोडल जोडीको अवार्ड चुमे।
गीत-संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा अर्जुन सापकोटा ‘बस्यौ अलक्कै’ बाट लोकदोहोरी गायक, कविता खत्री ‘नमस्ते ढोगदिया’बाट उत्कृष्ट लोकदोहोरी गायिका घोषित भइन्।
खेम पुनले ‘मर्ने सुई लाईदेऊ’बाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले ‘कन्या राशि’बाट लोकदोहोरी गीत रचना, निशान बानियाँले ‘भाग्यमै रुन लेखेको’बाट उत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशक बने।
पल शाह र नारायणी खत्रीले ‘काइँलाबाट’ लोकदोहोरी मोडलको अवार्ड जिते। अमृत चापागाईंले ‘मयाली’बाट भिडिओ सम्पादक र पवन सुस्लिङले ‘मायालाई पानको पात’बाट छायाकारको अवार्ड जिते।
‘तल्लो बाटो’ बाट खेम सेन्चुरीले उत्कृष्ट संगीतकारको अवार्ड जिते। त्यस्तै, ‘माया आउने बस’ बाट जुना विश्वकर्मा र अनिल पौडेलले पपुलर च्वाइस अवार्ड जिते। समारोहमा १७ विधामा अवार्ड प्रदान गरिएको थियो।
समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।
त्यस्तै गायिका संगीता शाक्यलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान दिइयो। गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मानबाट सम्मानित गरिएको छ।
समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी कला पत्रकारिता सम्मान दिइयो।
लोक गायक शिरिष देवकोटाले २५ हजार रुपियाँसहित झलकमान लोक संगीत सम्मानबाट सम्मान पाए।
कार्यक्रममा गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो।

लाखे नाचबाट सुरु भएको समारोहमा अभिनेता पल शाह र गायक दुर्गेश थापा एउटै मञ्चमा प्रस्तुत भए।
पल शाहले आफ्ना चलेका गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेशले ग्लोबल ट्रेन्डिङमा परेको दुस्मन हेरेको हेर्यैमा कोरसका कलाकारका साथ प्रस्तुति दिए।

यो समारोह विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा भएको थियो।
Shares

प्रतिक्रिया