कला


पोखरामा चैत २२ मा हुँदै ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’

पोखरामा चैत २२ मा हुँदै ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १८:३९, काठमाडौँ

लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपानेको एकल सांगीतिक साँझ हुने भएको छ। पोखरामा चैत २२ गते शुक्रबार हुने ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’ मा न्यौपाने गुन्जिनेछ्न्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा आयोजना गरेको यो साँझमा गायक न्यौपानेले आफ्ना रूचाइएका गीतहरू लाइभ बाजामा प्रस्तुत गर्नेछन्।

दिउँसो ३ बजेदेखि सुरू हुने कार्यक्रममा उनले गीतमा सहकार्य गरेका केही चर्चित गायिकाले समेत न्यौपानेलाई प्रस्तुतिमा साथ दिनेछन्। थुप्रै चर्चित लोक तथा दोहोरी कलाकारहरू समेत सहभागी हुनेछन्।

आयोजक दोहोरीगीत प्रतिष्ठान सांगीतिक साँझको तयारीमा लागिसकेको छ। सांगीतिक साँझलाई भव्य बनाउने गरी आफूहरूले तयारी गरिरहेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्।

प्रतिष्ठानले गत वर्षदेखि एकजना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो।

गतवर्ष पहिलो कार्यक्रम काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले संस्थाको नारा नै अग्रजलाई सम्मान, नयाँ–प्रतिभालाई प्रोत्साहन रहेको बताउँदै अग्रजको सम्मानका लागि यसरी सांगीतिक साँझ कार्यक्रम गरिएको बताइन्।  

‘गत वर्षको कार्यक्रममार्फत हामीले केही हदसम्म सम्मान दिन सक्यौं जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसपालिको कार्यक्रम पनि त्यस्तै भव्य हुने विश्वास छ।’

गायक पुरूषोत्तम न्यौपाने तीन दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्। एक हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रून्छ नि मन किन रूँदैन, मिर्मीमुनी काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ लगायतका गीत चर्चित छन्।

गायक न्यौपाने वर्षौदेखि पोखरा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन्। सोही कारण पनि यसपालि काठमाडौंमा नभएर पोखरामा सांगीतिक साँझको आयोजना गरिएको दोहोरीगीत प्रतिष्ठानले जनाएको छ। पुरूषोत्तम न्यौपाने दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad