भविष्यका लागि देखेको सपना। त्यहीँ सपना पछ्याउँदै सहर पुग्नु पर्ने बाध्यता। गाउँ छोड्नुको पीडा। सानो कोठा अनि चिसो भुइँ। रित्तो कोठाभित्रको एक्लोपन।
आर्थिक अभावले भोग्नुपरेको सास्ती। त्यसमाथि पाहुनाको ताँती। र, घरबेटीले दिने अनेक दु:ख। त्यही कहरबीच सहरमा हराएको जीवन। तब एक्कासि सम्झनामा आइदिन्छ जन्मेको र हुर्केको गाउँ।
जीवन थियो थोत्रो, फाटो
गाउँमै छुट्याको छ, गाउँमै छुट्याको छ, गाउँमै
गाउँमै छुट्याको छ, गाउँमै छुट्याको छ गाउँमै
यी भावहरूलाई देवव्रतको शब्द रहेको म्युजिकल फिल्म ‘कोठा’ले समेटेको छ। जुन कोठामा बस्ने सबैको साझा भोगाइ हुन्। त्यसैले त धेरैले यो म्युजिकल फिल्म हेरेर आफ्ना विगत सम्झिरहेका छन्। र, आफ्ना सामाजिक सञ्जालका भित्तामा ‘कोठा’को भिडिओ सेयर गरिरहेका छन्।

प्रशान्त शिवाकोटीले आफ्नो स्वर र संगीतको जादु छरेका छन्। ती गहकिला शब्द र मिठो संगीतमा निर्देशक भीष्म जोशीले कोठाको कथालाई दृश्यमा दुरुस्तै उतारेका छन्। र, कलाकार प्रवीणकुमार पाण्डेले पनि डेब्युमै बलियो छाप छोडेका छन्। उनीसहितका कलाकारहरूको अभिनयले कोठालाई सशक्त बनाएको छ। यसले पनि कोठा धेरैलाई आफ्नैजस्तो लागेको छ।
आफ्नै कथा भन्ने हुटहुटी
२०६३/६४ ताका भीष्म कलाकार बन्छु भनेर कैलालीबाट काठमाडौँ पसेका थिए। चोभार आसपास कीर्तिपुर उनको कोठा थियो। कलेज बिदा हुने बित्तिकै उनी दिनभरि सुटिङ हेर्न चोभार पुग्थे। सुटिङस्थलमै हुँदा उनलाई धेरैले चिन्न थालिसकेका थिए। निखिल उप्रेतीदेखि विराज भट्टका थुप्रै फिल्मको सुटिङ हेरेको सुनाउँछन् उनी। त्सपछि उनले पहिलोपटक फिल्म ‘सायद’मा देखिने मौका पाए।
उनले सर्वनाम थिएटरमा अभिनय कक्षा पनि लिए। उनीसहितको आठौँ ब्याचले नाटक ‘बादलका आकारहरू’ बनाएको थियो। एकदर्जन नाटकहरूमा अभिनय गरेका उनले ऐना कथासङ्ग्रहमा समावेश कथामा आधारित नाटक श्रीमान् वीरबहादुर निर्देशन समेत गरे। जुन नाटकलाई निकै रुचाइएको थियो।
फिल्ममा पनि राम्रो भूमिकामा देखिन चाहन्थे उनी। मुख्य भूमिका माग्दै उनी भौँतारिए पनि। तर, सानोतिनो मात्रै पाए। जसमा न आफूलाई भेटाउँथे, न सन्तुष्ट नै हुन्थे। त्यसैले उनलाई जहिल्यै आफ्नो कथा भन्नुपर्छ ख्याल आउँथ्यो।
त्यही ख्यालबीच उनी आफ्नो कथा ल्याउन कस्सिए। ९/१० कक्षामा पढ्दा आफ्नो स्मृति कथामा ढाले। जुन कथालाई केही गीतकारलाई सुनाए पनि। तर, उनीहरूले खासै चासो दिएनन्। अनि आफैँ कस्सिएर शब्द कोरेर ‘समय र उमेर’ बनाए। त्यहाँबाट राम्रो प्रतिक्रिया पाए। त्यसपछि भीष्मलाई अब के गर्ने? भनेर सोचिरहेका थिए। ठ्याक्कै समय र उमेरकै पात्रलाई सम्झिए। पक्कै पनि त्यो पात्र काठमाडौँ आयो होला !

जुन पात्र भीष्मनजिक थियो। उनलाई जहिल्यै आफ्नो निजी कोठा होस् भन्ने लाग्थ्यो। तर, कहिल्यै पनि उनको निजी कोठा भएन। अछाममा जन्मेका उनी कैलालीमा हुर्किए। तर, आफ्नो घरमा उनको निजी कोठा भएन। उनी कहिले हजुरआमासँग बस्थे त कहिले दाइसँग।
काठमाडौँ आएपछि उनको निजी कोठा त भयो। तर, त्यो कोठा उनलाई आफ्नोजस्तो कहिल्यै लागेन। रित्तो कोठा, चिसो भूइँ अनि घरको सम्झना। पूरा गर्नु पर्ने अनेकौँ सपना। साथीहरू आएर गाँजाचुरोट खान्थे। गाउँबाट कोही आउँदा पनि त्यसैमा बस्थे। जो आफ्नो जस्तो कहिल्यै लागेन। कोठको आफ्नै अनुभूतिहरू जोड्दै उनले कथा बनाए।
‘अस्तव्यस्त भए पनि त्यस कोठाभित्र धेरै कुरा अटेका थिए। अनेकौँ सपना। घरको सम्झना। साथीभाइको संगत। एकहोरो प्रेम। गाउँबाट जो आए पनि कोठामा बस्थे,’ उनले भने, ‘त्यो अनुभूतिलाई मैले प्रतिनिधित्व गर्नुपर्छ लाग्यो। किनभने यहाँ म मात्रै छैन, असङ्ख्य सपना देखेर काठमाडौँ आएको छ। काठमाडौँ आइसकेपछि सहरप्रतिको दृष्टिकोण र उसलाई गर्ने व्यवहारलाई सुदूरपश्चिमको पात्रमार्फत कथामा ढालेँ।’
कथाको फ्रेम तयार पारेपछि उनी कथासुहाउँदो शब्दको खोजी गर्न थाले उनी। युट्युबमा खोज्दा कोठा शीर्षकको कविता भेट्टाए। जुन कवि देवव्रतले लेखेका थिए। आफ्नो कथालाई सुहाउँदो शब्द भेट्टाएपछि उनले देवव्रतलाई फोन गरे।
शब्दमा तीन महिना खर्च
हुन त सुरुमा भीष्म त्यस कथामाथि सर्ट फिल्म बनाउन चाहन्थे। तर, कोठामाथि देवव्रतका कविता सुनेपछि उनलाई म्युजिकल फिल्ममार्फत कथा भन्न मन लाग्यो। र, उनले देवव्रतलाई आफ्नो कथा सुनाएर शब्द लेखिदिन आग्रह गरे।
सुरुमा त देवव्रतले आनाकानी गरे। तर, भीष्मले बारम्बार भनेपछि उनले पहिलो ड्राफ्ट लेखेर पठाए। जसको एकलाइन फाइनल भयो। जुन लाइन थियो: म दूर छु दूर कतै मेरो जून छ।
त्यसै हुक लाइनबाट भीष्मले गीत तयार पार्न लगाए। जसको लागि उनी देवव्रतलाई दैनिकजसो फोन गर्नेदेखि भेटघाट गर्न थाले। यता देवव्रतलाई भने दिक्क लागिसकेको थियो। किनकि उनले गीत लेखेकै हुन्थेन, भीष्म भने गीतबारे चासो दिइरहन्थे।
भीष्म आफ्नो कथाअनुसार गीत लेखाउन निरन्तर लागिरहे। उनी गीतको लागि देवव्रतको बालकुमारीस्थित कोठाछेउ पुग्थे। आफ्नो कथाअनुसार गीतको प्रत्येक लाइन बनाउन लगाउँथे। बारम्बारको भेटघाट र थुप्रै पटक शब्द परिवर्तन गरेर तीन महिनामा कोठाको शब्द तयार भयो। देवव्रतसँगै भीष्मले पनि गीतका शब्दहरू लेखेका हुन्।
हुनत देवव्रतले कोठामाथि बनेका चार/पाँच वटा नै कविताहरू बनाएका छन्। तर, गीतमा ढाल्न निकै गाह्रो भएको उनको अनुभव छ।
‘कोठामाथि मेरो चार/पाँचवटा नै कविता छ। म पछाडिको अनुप्रास मिलाएर कविता कमै लेख्छु। त्यसकारण यो लेख्दा निकै गाह्रो भयो। अनुप्रास मिलाउन निकै समय लागेको थियो। त्यसमा पाँचसात वर्ष पुरानो कवितामा गजलको टुक्रा पनि समावेश गरेँ,’ उनले भने।
गीत तयार भइसकेपछि गायन र संगीतको लागि गायक प्रशान्त शिवाकोटीलाई जिम्मा दिइयो। चर्चित गीत ‘काँधेकुरी’ का गायक प्रशान्त त्यतिबेला ‘पूर्णबहादुरको सांरगी’ टिमसँग जोडिएका थिएनन्।

यस गीतमा आधुनिक र लोकलय दुवैको मिश्रण छ। केही लाइनमा सुदूरपश्चिमको शब्द र भाका पनि। जसकारण यो गीतको कम्पोज गर्न निकै गाह्रो भएको सुनाउँछन् गायक शिवाकोटी।
‘भिडिओ टिमबाट यस्तो टाइपको कम्पोज हुनुपर्छ भन्ने माइन्डसेट बनाइसक्नुभएको थियो। आफू पूर्वको भएकाले सुदूरपश्चिमको भाका भनेपछि सुरुमा तनाव लागेको थियो। त्यसपछि त्यहाँको भाषा र लवजको बारेमा रिसर्च गरेँ। जसले गीतमा सुदूरपश्चिमको फ्लेभर ल्याउन सकियो,’ उनले भने।
प्रशान्तलाई गीत बनाउन खासै समय लाग्दैन। प्रायजसो उनी दुईतीन दिनमै गीत कम्पोज गर्छन्। तर, यो गीत कम्पोज गर्न निकै समय लागेको उनको अनुभव छ।
‘सामान्यतया मैले लिएको काम दुईतीन दिनमै गर्छु। तर, यो कम्पोजको लागि म रेगुलर एक महिना खटिएँ। टिमसँग भेटघाटदेखि सल्लाह लिने र पात्रअनुसारको कम्पोज फाइनल गर्न डेढदुई महिना टाइम लागेको थियो। मेरो लागि चुनौती र समय दिएको यही गीत हो,’ उनी भन्छन्।
काँधेकुरीपछि यो गीत आएसँगै आफूले विधा पनि परिवर्तन गरेको ठान्छन् प्रशान्त। कम्पोजमा भर्सटायल देखिएको प्रतिक्रियाले आफूलाई थप उर्जा प्राप्त भएको उनको भनाइ छ।
गीतकार देवव्रतलाई पनि गीत कम्पोज भएर आएपछि निकै आनन्द महसुस भयो।
‘धेरैपटक सम्पादन गरेर गीत बनाइएको थियो। तर, कम्पोज गरेर पठाउँदा त मलाई एकदमै आनन्द भयो। तीनमहिनाको तनाव बिर्सिएँ,’ उनले भने, ‘फ्ल्यासब्याकको दुईलाइन चाहिँ पछि थपिएको हो। सुरुमा पश्चिमकै भाषामा लेख्ने कुरा थियो। तर, हामीलाई डर लागिरहेको थियो। किनकि तीनचार ठाउँमै गीत ब्रेक भएको छ। परिवर्तन भएपछि बिग्रिने पो हो कि भनेर कलर मात्रै ल्यायौं।’
यसअघि पनि देवव्रतको कविता ‘नरो ए कर्णाली’ गीतको रूपमा आइसकेको छ। सजल न्यौपानेले उनको कवितालाई गीतको रूप दिएका थिए। यसरी कविताबाट गीत बनाउनुलाई निकै सकारात्मक रूपमा हेर्छन् उनी।
‘कविताबाट गीत बन्नु एकदमै सकारात्मक हो। पछिल्लो समय अनुप्रास मिलेका गीतहरू धेरै आए। त्यसमा गहिरो भावहरू आएका थिएनन्। जसकारण मलाई कविता नै गाइनुपर्छ जस्तो लाग्छ। गीतमा संगीतमा मात्र नभई शब्दमा पनि काम गर्नुपर्छ,’ उनी भन्छन्।
फिल्म बनाउने लक्ष्यमा आर्टघर
यो म्युजिकल फिल्म आर्ट घरको लगानीमा बनेको हो। भीष्मसहित सन्तोष विष्ट र सरोज खड्का मिलेर आर्टघर खोलेका हुन्। ९ महिनाअघि खुलेको आर्टघरले दुइवटा प्रोजेक्टहरू ल्याइसकेको छ। जसमा भीष्मले आफ्नो निर्देशन र स्टोरीटेलिङबाट मन जितिरहेका छन्।
कोठामार्फत भीष्मले आफ्नो वास्तविक कथा मात्रै भनेका छैनन्, सुदूरपश्चिमको सामाजिक अवस्थालाई समेत चित्रण गरेका छन्। भिडिओमा आमाले छोरालाई गाउँबाट चामल पठाउँछिन्। त्यस बोराभित्र चामलसहित कुठिरोमा बाँधिएको हुन्छ अमला र अम्बा। अनि आमाको मायासहित २ सय भारतीय रूपैयाँ पनि। जसले सुदूरपश्चिमबासीहरू अझै पनि भारतसँग आश्रित छन् भन्ने दर्साउँछ।

‘कोठा’बाट पाएको प्रतिक्रियाले निकै उत्साह थपिएको सुनाउँछन् भीष्म। उनले भने, ‘सुरुमा यति धेरै चर्चा होला भन्ने आशा थिएन। मलाई मेकिङ र साहित्यमा सबैभन्दा बढी इमान्दार हुनुपर्छ जस्तो लाग्छ। मैले यो मनैबाट बनाएको हुँ। यो बनाउन मात्रै सातआठ महिना लागेको थियो। आर्ट कहिल्यै पुरानो हुँदैन भनेझैँ कुनै दिन चल्ला नि त भनेर बनाउने जमर्को गरेको हुँ। अहिलेको प्रतिक्रियाले निकै उत्साह थपेको छ।’
भर्खरै सार्वजनिक भएको ‘कोठा’ चलचित्रदेखि संगीतक्षेत्रका व्यक्तिहरूको नजरमा परिरहेको छ। यद्यपि, युट्युवमा भने कोठाले हालसम्म २० हजार मात्रै भ्युज पाएको छ। यो तीन लाख रूपैयाँ लगानीमा बनेको हो।
तर, आफूलाई भ्युजले खासै फरक नपर्ने उनको दाबी छ।
भन्छन्, ‘भ्युजको लागि भन्दा मैले आफ्नो कथा भन्न यो काम गरेको हुँ। यो सबैको स्टोरी हो। जुन कलात्मक र काव्यात्मक तरिकाले बनाइएको छ। अहिले धेरैले राम्रो भन्नुभएको छ। भ्युज पनि बिस्तारै जान्छ भन्ने विश्वास छ।’
म्युजिकल फिल्म बनाउँदै आर्टघरले पछि फिल्म बनाउने लक्ष्य रहेको समेत उनले सुनाए।
तस्बिरहरू : सरोज नेपाल
Shares

प्रतिक्रिया