चलचित्र विकास बोर्डले देशभरका सञ्चालित चलचित्र हलहरुको सूची सार्वजनिक गरेको छ। बोर्डको तथ्याङअनुसार हाल नेपालभरि १६६ हलहरु सञ्चालनमा रहेका उल्लेख छ।
बोर्डले सोमबार सातै प्रदेशमा संचालनमा रहेका हलको विवरण सार्वजनिक गरेको हो। जसमा देशभरिका हलको स्क्रिन संख्या जोडिएको छ।
केही समयअघि उपत्यकाबाहिरका हललाई लिएर बोर्ड र चलचित्र संघबीच छलफल चलेको थियो। बोर्डले सञ्चालनमा रहेका हलको सूची सार्वजनिक गरेर संघबमाथि दबाब दिन खोजेको हो।
बोर्डले यसअघि मोफसलका २० हल नवीकरण नभएको भन्दै फिल्म उपलब्ध नराउन वितरण कम्पनीलाई पत्र पठाएको थियो। यसैबीच, बोर्डले सञ्चालनमा रहेका हल भन्दै सूची निकालेको छ। जसमा चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयको बुटवलस्थित द्धारिका उदय हल समावेश छैन।
सूचीअनुसार सबैभन्दा धेरै हल संख्या बागमती प्रदेशमा ६७ वटा हलहरु छन्। कोशी प्रदेशमा ३१, मधेश प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा ३ र सुदुरपश्चिममा १ मात्रै हल सञ्चालनमा छन्।
सञ्चालनमा रहेका चलचित्र घरको संख्या थपघट भइरहने र यी हलहरुलाई मात्रै चलचित्र वितरण गर्न समेत सूचनामार्फत निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया