कला


यी हुन् ‘पूर्णबहादुरको सारङ्गी’ ले बनाएका दुर्लभ रेकर्ड

यी हुन् ‘पूर्णबहादुरको सारङ्गी’ ले बनाएका दुर्लभ रेकर्ड

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १३:१४, काठमाडौँ

विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ अहिले निकै चर्चामा छ। सरल कथामा बनेको यस फिल्मले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।

हुनत: यो वर्ष नेपाली फिल्मलाई फापेको देखिन्छ। वर्षकै सुरुआतदेखि असारसम्म फिल्मले राम्रै व्यापार गरे। नयाँ वर्षको अवसरमा रिलिज भएको डिग्री माइलादेखि बोक्सीको घर, फर्की फर्की, पूजार, घरज्वाइँसम्मका फिल्मलाई दर्शकले निकै रुचाए।

साउन र भदौमा बक्सअफिसमा खडेरी भए पनि असोजमा रिलिज भएको ‘खुस्मा’ ले फेरि हलमा दर्शक फर्काएको थियो।

घटस्थापनाबाट रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ ले सर्वाधिक शोको कीर्तिमान रचेको थियो। पहिलो दिन ३ सय ४० शो पाएको यस फिल्मले पहिलो साता राम्रै व्यापार गरेको थियो। भलै निर्माता निश्चल बस्नेतले शो नपाएको भन्दै पछि हलबाट उतारेर ओटीटीमा रिलिज गरे।

फूलपातीमा रिलिज भएका ‘छक्का पञ्जा ५’ देखि ‘१२ गाउँ’ ले पनि दर्शकको व्यापक साथ पाए। विराज भट्टका छोरा समीर भट्टले डेब्यू फिल्म ‘१२ गाउँ’ बाटै सम्भावना देखाएको भन्दै निकै तारिफ बटुले। अझ कतिपयले त अब एक्सन जनराको फिल्म चल्ने ट्रेन्ड सुरु भएको समेत भन्न भ्याए।

कात्तिक १५ गतेबाट रिलिज भएको ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्मक्षेत्रमा तरंग ल्याइदिएको छ। फिल्मले बक्सअफिसमा बनाएको कीर्तिमान दुलर्भ छ। किनकी ‘पूर्णबहादुरको सारङ्गी’ ले बनाएको रेकर्डहरू सहज छैन।

प्रदर्शनका सुरुआती दिनमा यस फिल्मले सुस्त व्यापार गरेको थियो। ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को दबदबा, त्यसमाथि भोलिपल्टबाटै बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया ३’ रिलिज हुनु। जसकारण तीन दिन फिल्मले खासै राम्रो व्यापार गर्न सकेन।

तर, बलियो वर्ड अफ माउथले फिल्मले पिकअप लिन थाल्यो। दर्शकले निकै मनछुने सिनेमा भन्दै सामाजिक सञ्जालमा लेख्न थाले। टिकटकमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ हेरेर रोएका भिडिओ भाइरल हुन थाले। त्यसपछि त सिनेमा हलमा दर्शकको ओइरो नै लाग्यो। बिहान ४ बजेदेखि राति ११ बजेसम्मका शो हाउसफुल हुन थाले।

जसकारण दोस्रो हप्तामा ‘पूर्णबहादुरको सारङ्गी’ नयाँ रेकर्ड बनाउन सफल भयो। ‘बेहुली फ्रम मेघौली’को रेकर्ड तोड्दै गत बिहीबार यो फिल्म देशभरिका ८९ हलबाट ३८० शोसहित प्रदर्शन भएको थियो। फेरि शो थपिँदै यतिखेर यो फिल्म ४ सय ७० बढी शोसहित प्रदर्शनरत छ। जुन शोको संख्या साँच्चिकै दुर्लभ छ। यो कुल शोको लगभग ७० प्रतिशत हिस्सा हो।

त्यसैगरी, शुक्रबार र शनिबार यस फिल्मले बक्स अफिसमा अर्को नयाँ कीर्तिमान रचेको छ। दोस्रो साताको शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख कमाउँदै यस फिल्मले एक दिनमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड कायम गरेको छ।

यसअघि सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड ‘कबड्डी ४’ ले कायम गरेको थियो। यस फिल्मले पहिलो दिन २ करोड ९० लाख ग्रस कलेक्सन गरेको थियो। तर, त्यो रेकर्ड अब ‘पूर्णबहादुरको सारङ्गी’ले तोडेको छ।

सहायक भूमिकामा देखिँदै आएका विजय बराल यस फिल्ममा लिड रोलमा छन्। विजयको पनि यतिखेर निकै तारिफ भइरहेको छ। व्यापारको यो गति हेर्दा यस फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड पनि बनाउन सक्ने देखिन्छ।

प्रदर्शनको १० दिनसम्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा १७ करोड ९८ लाख कमाइसकेको छ। आज पनि फिल्मको शोहरू हाउसफुल छन्। दर्शकलाई टिकट पाउनै मुस्किल छ।

न चर्चित ब्यानर, न चर्चित निर्देशक र लेखक। सरल कथामा बनेको फिल्ममा विजयले पहिलोपटक मुख्य भूमिका पाएका छन्। यसरी हलमा यो किसिमको क्रेज देखिनुलाई नेपाली सिनेमाको स्वर्णिम कालको रूपमा व्याख्या गर्न थालिएको छ।

रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउने व्यक्तिमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ। यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad