चर्चित साँगीतिक ब्यान्ड ‘कन्दरा’ शनिबार राति ठमेलको एलओडी क्लबमा गुञ्जिएको छ। स्थापनाको ३२ वर्ष पुगेको अवसरमा कन्दराले पहिलोपटक काठमाडौंमा दिएको प्रस्तुति निकै सानदार र भव्य थियो।
कन्सर्टको सुरुवातीमा गायक देबेन्द्र बब्लुले आफ्नो ब्यान्ड ‘दी फिरन्ते’ मार्फत थुप्रै गीतहरु प्रस्तुत गरे। देबेन्द्रको प्रस्तुतिपछि राति १० बजेपछि कन्दरका गायक विवेक श्रेष्ठ हेलो काठमाडौं भन्दै देखिए। उनलाई देख्दा दर्शकहरुले व्यापक हुटिङ बजाएका थिए।
त्यसपछि सुरुवातमा विवेकले हिट गीत ‘तगारोमा रुमाल राखी’ गाउँदै कन्सर्ट सुरु गरे। त्यसपछि उनले भेडी गोठैमा, लेककी हे माया, विदेशिएर गइन् उनी, चञ्चले कान्छीको, हङकङ पोखरा, बिचरा म लगायतका गीत गाए। दर्शकहरुबाट वान्समोर आउँदा कुनै कुनै गीत त दोहोर्याए पनि।
कन्दराले पुराना संगीतकर्मी रञ्जित गजमेर, लोकगायिका बीमाकुमारी दुरा लगायतका साँगीतिक व्यक्तित्वलाई समर्पित गर्दै राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाएको थियो। आफू पनि मानसिक समस्या भोगेको बताउँदै यो कन्सर्ट मानसिक समस्याबाट गुज्रिरहेका सम्पुर्णलाई समर्पित भएको सुनाए।
९० को दशकको सुरुदेखि नै नेपाली सङ्गीत प्रेमीहरूमाझ लोकप्रिय बनेको कन्दरका लोक–रक गीत चर्चित छन्। जसमा तिमी परी, हङकङ पोखरा, लेककी हे मायाजस्ता गीत हिट छन्।
‘पहिले घरदेश अनि परदेश’ सुरु भएको यो अभियान विश्वव्यापी रुपमा गुञ्जिनेछ। सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोप टुर गर्नेछ।
Shares

प्रतिक्रिया