कला


फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले उपन्यासको कथा चोरेको आरोप

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले उपन्यासको कथा चोरेको आरोप

पूर्णबहादुको सारंगीका मूल पात्र र सङ्ग्रामपुर उपन्यास


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १०:४४, काठमाडौँ

देशभरका हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ।

लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन्। 

फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको जिकिर छ।

उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु-छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन्। 

‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन्। केही प्रसंगहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ। तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले फेसबुकमा लेखेका छन्।

एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उनले उल्लेख गरेका छन्।

यही कात्तिक १५ देखि प्रदर्शनरत यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्।

सरोज पौडेलको कथा र निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको यस फिल्मले नेपालमा अत्यधिक शो पाउने फिल्मको रेकर्डसमेत बनाइसकेको छ।

डा. शिवशंकर बस्यालले फेसबुकमा लेखेका छन्-

पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास

बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेशजस्तै लागिरहेको थियो। यसै बीचमा संग्रामपुर​ उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्‌ग्रामपुर उपन्यासभित्र रहेको कथासँग मिलेको कुरा बताए। यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगेँ। पूर्ण बहादुरको सारङ्गीलाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा सारङ्गी उपन्यासका मूल मिलेका मूल प्रसंग मात्र यी पाएँ।

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर!

२. पूर्णबहादुरको स्त्री विछोडको रहस्यमयी प्रसंग सारङ्गीमा रूपमानको स्त्री विछोडको प्रसंगजस्तै रहस्यमयी छ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन्। आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो छ।

४. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यंग्य गरेका छन, समीरलगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन्।

५. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीरजस्तै टप विद्यार्थी हुनु।

६. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु।

७. सारङ्गी उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु।

८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु।

९. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।

यी यी त कथाका मूल प्रसंगहरू हुन्। यीबाहेक सूक्ष्म ढंगले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव,  छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।

केही प्रसंगहरू बिलकुलविपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया। सङ्ग्रामपुर उपन्यासमा बाबुछोराको प्रेमसहित समीर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ।

माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरेँ। यो भन्दा अरू कथामा नौलो भेटिनँ।

तसर्थ यो संयोग होइन, यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्तिविरोधी कार्यमा लगाउने प्रपञ्च।

कुनै लोभलालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रूपरङ मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो! म अब नबोलौँ होला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ।

मन जितिरहेको यो चलचित्रले अरू मान्छेहरूको मन जितिरहोस्। मेरो यही शुभकामना!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad