कला


विजय बरालले करिअरकै सर्वोत्तम अभिनय गरेको पूर्णबहादुरको सारङ्गी

जसले भन्छ बाउछोराको सम्बन्ध र क्रान्तिको कथा
विजय बरालले करिअरकै सर्वोत्तम अभिनय गरेको पूर्णबहादुरको सारङ्गी

श्रीजु सरल
कात्तिक १७, २०८१ शनिबार १६:३३, काठमाडौँ

विजय बराल! हिजोसम्म सहायक पात्रको रूपमा मात्रै देखिँदै आएका उनी आज 'पूर्णबहादुरको सारङ्गी' बाट मुख्य पात्रका रूपमा देखिएका मात्रै छैनन् बरु खुबै रुचाइएका समेत छन्। त्यसो त सहायक पात्रमा पनि विजय बराल कि त हास्य पात्र कि त सन्काहा पात्रको भूमिकामा सिमित थिए। तर, पूर्ण बहादुरको सारङ्गीले उनीसँगसँगै उनीभित्र दबिएको उनको अभिनय क्षमतालाई समेत प्रकाशमा ल्याउने काम गरेको छ।

यसर्थमा, सरोज पौडेल निर्देशित यस फिल्म उनका लागि कोसेढुङ्गो साबित भएको छ। आउनुस्, फिल्मका अरू पत्र तथा पात्रहरू छिचोलौँ।

कमल (प्रकाश सपुत) आफ्नी सानी छोरी बोकेर गाउँले काकाकहाँ पुगेको छ। सारङ्गी फिर्ता लिइकन एउटा चौतारीमा बाबुछोरी सुस्ताउँछन्। छोरीलाई चासो लाग्छ सारङ्गीबारे। जिज्ञासु छोरीलाई सारङ्गी आफ्नो पुर्ख्यौली बाजा रहेछ भन्ने थाहा पाएर पुग्दैन। त्यो सारङ्गी ठ्याक्कै कसको हो? ऊ जान्न चाहन्छे। त्यसपछि कमल आफ्नी छोरीलाई आफ्नो बाबू उर्फ पूर्णबहादुर गन्धर्व (विजय बराल)को कथा सुनाउन थाल्छ।

त्यसो त कथा सुनाउँदा सुनाउँदै उसले त्यो कहानी पनि सुनाउँछ जुन न कहिल्यै उसलाई थाहा थियो न त उसको बाबूलाई जोसँग ऊ हुर्कियो। खैर, फिल्मको पहिलो हाफले कमलको माध्यमबाट पूर्णबहादुर गन्धर्बको जवानी, जोस अनि सारङ्गी र बाटुलीसँगको उसको सम्बन्धको कहानी हाल्छ।

दोस्रो हाफमा फिल्म बाबूछोराको सम्बन्धको कथा भन्न थाल्छ। त्यसो त उति नै बेला एउटा बाबूले छोरालाई बन्दुक नभिराई जातीय विभेदसँग कसरी लड्यो? कमलको रूपान्तरण देखिसकेको वीरेले अब नातिको हातमा सारङ्गी देला कि कलम? फिल्मले एउटा युग फेर्ने क्रान्तिको कथा समेत सुनाउन भ्याएकै छ। पूर्णबहादुर गन्धर्व जातिको मात्र नभएर हरेक त्यस्ता जातिको प्रतिनिधि पात्र हो जो शिक्षाबाट हिजो वर्जित/वञ्चित थिए। तर, जसले समाज र आफ्नै समुदायसँग पनि विद्रोह गरेर शिक्षाको हकसँगै जातीय समानताको क्रान्ति लडेका थिए।

त्यसो त पूर्णबहादुरको गाथा गाइरहँदा बाटुलीलाई पनि बिर्सन मिल्दैन जसको सपना नै पूर्णबहादुरले पछ्याइरहेको थियो। खैर, दोस्रो हाफमा फिल्म आफैले बाटुलीलाई चटक्कै बिर्सिएको निको लाग्दैन। कतै, उनको कहानी सिक्वेलका लागि थाति पो राखियो कि? इसारा त्यस्तो पनि भेटिन्छ।

बाटुलीपछि पात्रहरूकै कुरा गर्नुपर्दा मुकुन भुषालको पात्र 'वीरे'को कुरा गरौँ। वीरेले पटकपटक गन्धर्व भएर 'खाल्डोमै रहन ठीक, चप्पलकै हैसियतमा रहनु सही, सपना नदेखेकै जाती!' जस्ता संवादहरू बोलिरहन्छ। उता पूर्णबहादुर उर्फ पूर्णेले 'गन्धर्व भएर सपना नदेखेकै कारण' अपमान र बेइज्जती खेपिरहनुपरेको देखिन्छ। जसकारण, उसले सपना देख्ने, पूरा गर्ने र इज्जत कमाउने कुरा दोहोर्‍याइरहन्छ। तर, वीरेले पूर्णेजस्तो अपमान भोगेको, बेइज्जती सहेको देखिँदैन। के अपमान र बेइज्जती सहन नपरेकै कारण वीरे चप्पलकै हैसियतमा सन्तुष्ट हुन सकेको हो त? या त त्यस्ता अपमानलाई पचाइदिन वीरेसँग पूर्णेको भन्दा वेग्लै कुनै जीवनदर्शन छ? यी कुराहरू नखुल्दा वीरे पात्रको चरित्र रोचक हुँदाहुँदै पनि कम स्पष्ट भने लाग्छ।

उता मास्टर सा'ब (भोलाराज सापकोटा) पात्रको दोहोरो चरित्र व्यङ्ग्यात्मक रूपमा आएको भए पनि अघि भर्खर स्कुलको सर्टले आङ ढाकेको देखी नसहेको मास्टरले अहिले भर्खरै बिनाकुनै हिचकिच गन्धर्वको त्यही बच्चोलाई स्कुल भर्ना लिइरहेको देख्दा पात्रको चरित्रमा एक किसिमको 'जर्क' महसुस हुन्छ। खैर, यस पात्रको दोहोरो व्यक्तित्व चित्रणले हानेको राजनीतिक व्यङ्ग्यको सिर्कना भने चोटिलो लाग्छ।

मास्टर सा'बले हजारौँ निर्दोष जनताको बलि चढाएर ल्याएको क्रान्ति र पूर्णेले जनताको ज्यान बचाउन रोपेको अनन्त क्रान्तिको बिउ! एकातिर क्रान्तिको विसर्जन र अर्कोतिर क्रान्तिको सुरुवात। एकातिर बन्दुक र मृत्यु। अर्कोतिर कलम र जीवन। बिम्बात्मक हिसाबले पनि फिल्मको कथा उत्तिकै सशक्त लाग्छ।

बाबुछोराको कथाबारे पनि धेरै बोल्न नपर्ला। केही सामान्य भइकन पनि स्पर्शी दृश्यहरू फिल्ममा छन्। स्पोइल नगरी भन्नुपर्दा छोरोले गरेको प्रश्नको जवाफ दिन नसकेर शौच गर्ने बहानामा बाबू भागेको दृश्य! अनि बाबूका लागि सेतो कोट ल्याइदिँदा छोरोले पाठ सिकेको दृश्य! त्यसो त केही दृश्यहरूलाई अलि बढी नै लम्बिएका हुन् कि जस्तो पनि नलाग्ने होइनन्। तर, संवादको वजन र कलाकारहरूको जीवन्त अभिनयले फिल्मका सानातिना त्रुटिहरूलाई नजरअन्दाज गर्न सजिलो बनाइदिएका छन्।

मुकुन भुषालले वीरेको चरित्रलाई न्यायपूर्ण बाँचेका छन्। अञ्जना बराइलीलाई दर्शकहरूले बाटुली नै भनी ठान्नेछन्। बुद्धि तामाङ माइलाको भूमिकामा यति जीवन्त लाग्छन् कि कलाकार र पात्रबीचको मिहिन रेखा 'माइक्रोस्कोप'ले खोज्दा पनि भेट्न मुस्किल नै पर्ला। छोरो कमलको भूमिकामा प्रकाश सपुतलाई उमेरले धोका दिन खोजेको भए पनि अभिनयमा उनले गरेको मिहेनत देखिन्छ। बाबू कमलको भूमिकामा भने सपुतको काम प्रशंसायोग्य लाग्छ। माओत्से गुरुङ, देशभक्त खनाल, विनोद न्यौपाने लगायका कलाकारहरूको अभिनय पनि जीवन्त लाग्छ।

जहाँसम्म विजय बरालको अभिनयको सवाल छ। भारतीय लोकप्रिय गायक अरिजित सिहंले कुनै अन्तर्वार्ताको क्रममा भनेका छन्- मैले आफ्नो आवाजलाई जरैदेखि भत्काएर पुन:निर्माण गरेको हुँ। पूर्णबहादुरको माध्यमबाट विजय बरालले पनि आफ्नो अभिनय करियरकै व्याकरण मानौँ छिन्नभिन्न पारी पुनर्गठन गरेका छन्।

त्यसो त अरिजित सिंहले सारङ्गी बजाएका छन् या छैनन् तर विजयले बजाएको सारङ्गीले  कम्तीमा दर्शकलाई सन्तुष्टि मिल्नेछ। उनको बाह्र वर्ष लामो तपस्या उनको अभिनयमा देखिन्छ।

जाँदाजाँदै, गण्डकी क्षेत्रको भेष, भूगोल र संगीत फिल्मका उत्तिकै सबल विशेषता हुन्। क्यूएफएक्स लगायत देशभरका हलहरूमा 'पूर्णबहादुरको सारङ्गी' प्रदर्शनरत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad