कला


गायक राजेशपायललाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार

गायक राजेशपायललाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार

केदार मगर
असार १८, २०७६ बुधबार १४:४५,

‘राई ईज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राईलाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिएको छ।

खोटाङको बुइपामा जन्मेका बहुमुखी गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज नगदसहित सम्मान गरेको हो।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश/बिदेशमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशिको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए। गायक राजेशपायललाई आज आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो।

नगर दिवसको अवसरमा उपस्थित हुन नसकेका गायक राजेशपायललाई विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने जनाइएको छ। नगर दिवसको अवसरमा अन्य विविध विद्याका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ।

नगरपालिकाले नगरभित्रका उत्कृष्ट विद्यालयको रुपमा पञ्चमावि दिक्तेललाई नगद रु ५० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ। यस्तै, विद्यालय सुधार सम्बन्धी उत्कृष्ट भूमिका निर्वाह गर्ने सरस्वती मावि दिक्तेलका प्रधानाध्यापक ध्यानबहादुर राईलाई नगद रु ५० हजार राशिको पुरस्कार प्रदान गरिएको छ।

उत्कृष्ट उद्यमीतर्फ पाउरोटी उद्योगी अशोक राईलाई रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै, टोल सुधार सम्बन्धी उत्कृष्ट कार्य गर्ने दिक्तेलबजारस्थित बैँकचोक टोल सुधार समिति र निर्माण उपभोक्ता समितितर्फ उत्कृष्ट कार्य गर्ने साप्सुधाप पर्यटन विकास उपभोक्ता समितिलाई नगद रु २५/२५ हजारका साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ।

नगरपालिकाले केही दिनअघि नतिजा आएको एसइई तथा ८ कक्षाका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई जनही रु पाँच/पाँच हजारका दरले पुरस्कृत गरेको छ। पुरस्कृत एवं सम्मानित व्यक्ति तथा संस्थालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पुरस्कार तथा सम्मान प्रदान गरे।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा नगरले वर्षभरि गरेको विकास/निर्माणलगायत विभिन्न गतिविधिका विषयमा समीक्षा गरिएको छ। कार्यक्रममा पूर्व सभाषदद्वय समिता कार्की ‘अस्मिता’, पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, अन्य जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलगायतका सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .