यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा लक्ष्मण सुवेदी निर्देशित नेपाली चलचित्र 'सतीदेवी' प्रदर्शनरत छ। सन् २०१६ मा 'लालजोडी' बाट निर्देशकीय डेब्यु गरेका सुवेदीको यो दोस्रो निर्देशन हो भने फिल्मको पटकथा पनि उनी स्वयंले लेखेका हुन्।
झण्डै एक दशक (आठ वर्ष)को अन्तरालपछि निर्देशनमा फर्किएका सुवेदीको फिल्म 'सतीदेवी'को रहस्य आखिर के हो त? सतीदेवीको कथा के हो र यो कस्तो बनेको छ? आउनुस्, यसका पत्रहरू पल्टाऔँ।
कथा
नेपाली समाजमा चर्चित उखानमध्येको एउटा हो- बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि! त्यसो त यो कथा आफैप्रति विरोधाभास ओकल्ने कथा हो। यद्यपि, फिल्मको मुख्य बाटो (कथा)लाई मात्र पछ्याउने हो भने फिल्मले यस उखानलाई उल्ट्याउन खोजेको देखिन्छ।
'सतीदेवी', एउटी १९ वर्षीय किशोरीले आफ्नो बाबु र आमाको खुसीका लागि मोलेको जोखिम, गरेको त्याग र संघर्षको कथा हो।
पटकथा
जहाँसम्म सतीदेवीको पटकथाको कुरा छ, यो सिधा बाटो हिँडेको छैन। सजिलो बाटो खोज्न हो या रोमाञ्चक यात्रा लागि अफ्ठ्यारो बाटो खोज्न हो यसको यात्रा त्यस्ता बाटोमा पनि भड्किन्छ, जहाँबाट गन्तव्य बिलकुल विपरीत दिशातर्फ परिदिन्छ।
कुरा नघुमाएरै भन्दा कथामा पत्रहरू (लेयर) थप्ने लोभमा निर्देशक सुवेदीले त्यसलाई यसरी घुमाएका छन्, जसले गर्दा मुख्य कथाले नै स्पष्टता गुमाएको छ। निर्देशकलाई एकातिर 'सती'लाई खोटो सिक्का प्रमाणित गर्नु पनि छ, छोरीले पनि छोराले जस्तै बाबुआमाको जिम्मेवारी उठाउन सक्छन् भन्ने पनि देखाउनु छ। त्यसैबीच अर्कातिर प्रविधिको सदुपयोग र दुरुपयोगबारे ज्ञान दिनु पनि छँदैछ। त्यसो त, पत्रपत्रमा कथा भनिनु सुन्दर अवश्य हो। प्रयासलाई प्रशंसनीय मान्न सकिन्छ तर, यसको प्रस्तुति खोटरहित हुन भने सकेको छैन।
पत्रमा कथा भन्दै गर्दा सहायक कथा यदि मुख्य कथासँग घुल्न सकेन भने त्यसले फिल्मलाई सहायता गर्न सकेको मानिँदैन कि? सतीदेवीको कथा भन्दै गर्दा उसकी साथीको चरित्र केलाउनु कति सान्दर्भिक भयो या भएन? यसको जवाफ दर्शकहरूसँग पक्कै छ।
कथावाचन
नन-लिनियर शैलीमा विगतलाई सम्झिँदै वर्तमानको कथा भन्ने कथावाचकको भाषा परम्परागत लाग्छ। संवाद सम्प्रेषणमा प्रयोग भएको नाटकीय लवज र प्रेषित सन्देशहरूमा समेत परम्परागत कथावाचनको स्वाद आउँछ जसलाई आजका दर्शकले खास नरुचाउलान्। गम्भीर र भावुक दृश्यहरूमा पनि नयाँ दर्शकहरू हाँसिदिन सक्छन्।
खैर, हिजोका अर्थात् अघिल्लो पुस्ताका दर्शकलाई भने यही कथावाचनले रुवाउन पनि सक्ला।
पात्र
मुख्य पात्रमध्येको एक कुले उर्फ् बाबु पात्र कथाको खलपात्र हो। जसका कारण कथामा द्वन्द्व घटित हुन्छ। तर, सुरुमा कालो रङको यस पात्रलाई फिल्मको मध्यतिर खरानी रङ दिँदै अन्त्यसम्म सेतो बनाउने प्रयास गरेको देखिन्छ। एउटा खलपात्रले सकारात्मक चरित्रवृत्त पाउनु एक हिसाबले रोचक र सन्देशका हकमा पनि जनचेतनामुखी हुँदै हो। यद्यपि, यस पात्रमा त्यो सकारात्मक बदलाव पात्रको चेतनामा आएको परिवर्तनले भन्दा बढी पात्रप्रति लेखकको सहानुभूतिका कारण आएको प्रतीत हुन्छ। कमसेकम, कालोबाट पखालेर खरानी रङको चरित्र स्थापित गर्दैगर्दा लेखकलाई यस स्त्रीद्वेषी पुरुष पात्रमाथि पलाएको दया प्राकृतिक लाग्दैन।
अर्की पात्र गंगा, जसको भूमिका फिल्ममा रोचक छ। दर्शकलाई एउटा विन्दुसम्म यस पात्रले बाँधेर राख्छ पनि। तर, जब फिल्मको मुख्य कथाबाट पूर्णरूपमा अलग्गिएर यसले नयाँ कथा सुनाउन थाल्छ, दर्शकलाई बाटो भड्किएको महसुस भइदिन्छ। फेसबुकसँग परिचित गराउनुसम्म त ठीकै छ तर, सतीदेवी र उसको परिवारको संघर्षको कथासँग गंगाको 'चरित्र'को कथाले कसरी सरोकार राख्छ? दर्शक निरुत्तर हुनसक्छन्।
आमा पात्रको कुरा गरौँ, ऊ भर्खरकी सुत्केरी छ, लोग्ने घरबारी दाउमा राखेर जुवा खेल्ने र रक्सी खाएर स्वास्नी पिट्नेबाहेक अरूथोक गर्न जान्दैन। काखको बच्चीबाहेक स्कुले नानीहरू छन्। यस्तोमा घर सम्हाल्दै आएकी जेठीछोरीलाई गाउँ निकाला गर्दैगर्दा उसले गर्ने सबैभन्दा भयानक हर्कत 'आँखा तरेर हेर्नु' मात्रै हो? जब कि एक हिसाबले हेर्ने हो भने त छोरीको सजायको दोषी ऊ स्वयं हो। कमसेकम, आमाको मन यस्तोमा ग्लानिको चीत्कार नरुन सक्दैन।
विशुद्ध आफ्नै कमाइले फेसबुक चल्ने फोन किन्न सक्ने पात्र। सम्पर्कको कुनै कडी नभएको मान्छेलाई अनेक जुक्ति लगाएर पत्ता लगाउन सक्ने पात्र। तिम्रा लागि छोरो मै हुँ भन्दै अग्निपरीक्षामा होमिएको मान्छे। तर, आफू सवार गाडी कहाँ पुग्यो पटकपटक सोध्दा पनि भन्न सक्दैन! त्यति त कसैलाई सोधेर भन्न सकिन्थ्यो कि?
खैर, साहसी देखाउँदा देखाउँदै पनि कमजोर लेखिएको पात्र- देवी!
सती, एउटी स्वाभिमानी स्त्री! जो आर्थिक रूपमा परनिर्भर हुँदा समेत आफ्नै कमाइको मात्र खान्छु भन्ने सोच राख्थी। आज ऊ आत्मनिर्भर छ। तर, उसको नैतिकतामा उठेको प्रश्न स्वाभाविक लाग्दैन। यसलाई दर्शकले विश्वास गर्न गाह्रो मानिदिन्छन्।
भुवन केसी! सतीको प्रेमीको रूपमा आएको यो पात्रलाई नजानेरै सही, ऊ आफ्नो बाबुको गुनासो पोख्छे। आर्थिक दु:खको पोल खोल्छे। जुन विषयमै फिल्मको मुख्य कथा पनि रिङ्गिएकै छ। तर, प्रेमी केटो भुवनलाई त्यस विषयसँग केही लिनुदिनु छैन। उसलाई बस् प्रेमपत्र दिनु छ। र त्यही पनि आफ्नो क्षमताले गर्न ऊ सक्दैन। उसको हुनु र नहुनुले सतीको मुख्य कथामा खास फरक पारेको छैन।
जे होस्, कालो मोसो दलिनुअघि उसलाई सिन्दुरले सिउँदो सजाउने एउटा कल्पना गराउनुभन्दा अर्को भुवन केसीको योगदान देखिँदैन। न त यस पात्रलाई कहिल्यै सम्झिएर सती मुस्कुराउँछे, न त रुन्छे नै। त्यति मात्र उसले गरेकी हुन्थी भने पनि भुवन केसीको उपस्थितिले एउटा अर्थ बोक्थ्यो।
खैर, प्रेमको स्थापन र विस्थापन दुवै हुन नसके पनि प्रेमपत्र लेख्ने यो प्रेमी पात्रलाई फिल्ममा राम्रै स्थान भने मिलेको छ।
अभिनय
अभिनयको हकमा सतीदेवीको चरित्रमा मल्लिका महतले गरेको काम तारिफयोग्य लाग्छ।
त्यसो त पात्र लेखनमा अनावश्यक लम्ब्याइएको महसुस भए पनि गंगा पात्रको भूमिकामा सुजिता सिवाकोटीले गरेको काम सुन्दर लाग्छ। पात्रको चरित्र चित्रणअनुसार सुजिताको शारीरिक हाउभाउ, अनुहारले दिने अभिव्यक्ति र लवजमा सामन्जस्य भेट्न सकिन्छ।
पात्र लेखनका क्रममा नजरअन्दाज गरिँदा आमा पात्रको भूमिकामा सिर्जना अधिकारीको काम पर्याप्त देखिन्न। यद्यपि, संवाद सम्प्रेषणमा उनको पकड राम्रै देख्न सकिन्छ।
कौडे काजीको भूमिकामा देखिएका रमेश बुढाथोकीको संवाद सम्प्रेषणमा आजको युग भेटिँदैन। त्यसो त काजीहरू नै पनि आजको युगमा भेटिन मुस्किल नै पर्दो हो। खैर, जँड्याहा काका गोपीको भूमिकामा भोलाराज सापकोटाको काम प्रशंसनीय लाग्छ भने बाबु कुलेको चरित्रलाई कुलदीप अधिकारीले न्याय गरेका छन्।
विचार पक्ष
देवीले जब देवराज भएर मात्र केही गर्ने आत्मविश्वास राख्छे, छोरीले छोरी भएरै केही गर्न सक्छन् भन्ने भाष्य निर्माण गर्ने ठाउँ यथेष्ठ हुँदाहुँदै पनि फिल्म त्यसमा चुकिदिन्छ।
अर्कोतिर स्त्रीद्वेषी पुरुष चरित्रमाथि सहानुभूतिको पर्दा ओढाएर फिल्मले कुनै पीडक यसै पीडक भएको हुँदैन है भन्ने भाष्य स्थापित गरेको छ। पितृसत्तात्मक सोच र प्रचलनलाई टाउको लुकाउने एउटा आश्रय! तर त्यसैबीच, गंगा- एउटी 'नारी पात्र'लाई चरित्रहीन लेख्न भने फिल्म हिचकिचाएको छैन बरु अतिरिक्त ठाउँ नै बनाएको छ।
त्यसो त 'तथाकथित 'सती'हरूको पनि भित्रभित्रै चरित्र ठीक हुँदैन है' भन्ने भाषा पनि फिल्मले बोलेको छ। तिनले पनि कतै न कतै लुक्नपर्ने, लुकाउनपर्ने, भाग्नपर्ने, मर्नपर्ने असती कर्म गरेकै हुन्छन्! फिल्मले यही सन्देश बिम्बात्मक रूपमा अनेक घटनाहरूको माध्यमबाट दिनु दु:खद लाग्छ। कतै, लेखक/निर्देशक सुवेदी 'न त यहाँ देवी छन्, न त सती नै!', 'त्यही भएरै छोरा चाहिन्छ!' भन्न त खोज्दै छैनन्?
जे होस्, फिल्मले काँधमा बोकेर हिँडिसकेको एउटा गम्भीर सामाजिक मुद्दालाई झिकेर भुइँमा यसरी पछारिदिएको छ कि प्रगतिशील उज्याला विचारहरू परम्पराको कालो टायरमुनि किचिपिचिएका छन्। कथा पनि कालोपत्रे भुइँमा बजारिएर रगताम्मे भएको छ।
र यी दृश्य 'तपाईं देख्नुहुन्छ या हुन्न?' भन्ने प्रश्नको जवाफ 'तपाईंमा पितृसत्ता हाबी हुन्छ या हुँदैन?' भन्ने अर्को प्रश्नमा निर्भर गर्छ।
Shares
प्रतिक्रिया