ad ad

कला


‘प्ले द सिस्टम’ले दर्शकहरूलाई नयाँ चस्मा दिन्छ : आकांक्षा कार्की

‘प्ले द सिस्टम’ले दर्शकहरूलाई नयाँ चस्मा दिन्छ : आकांक्षा कार्की

श्रीजु सरल
असार ३, २०८१ सोमबार १३:४९, काठमाडौँ

काठमाडौँको टेकुस्थित कौसी थिएटरमा कथाघेराले यही असार ६ गतेदेखि नाटक 'प्ले द सिस्टम' मञ्चन गर्ने भएको छ। अमेरिकी नाट्यकार एवं पटकथाकार टरिजा रेबेकको नाटक 'ह्वाट वि आर अप अगेन्स्ट?' को नेपाली रूपान्तरण हो नाटक 'प्ले द सिस्टम'।

नाटकको नेपाली अनुवाद प्रियङ्करले गरेका हुन् भने निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्। इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लजस्ता कलाकारहरू मञ्चमा हुनेछन्। नाटकभित्र कुन सिस्टमबारे चर्चा गरिएको छ? नाटकका विशेषता र विषयवस्तुको वरिपरि रहेर निर्देशक कार्कीसँग गरिएको छोटोमीठो कुराकानी :

प्ले, 'द सिस्टम' कि 'प्ले द सिस्टम'?
'प्ले द सिस्टम' हो। तर, 'द सिस्टम'माथिकै 'प्ले' पनि हो हो।

ठ्याक्कै यही नाटक नै गर्न किन रोज्नुभयो? यसमा त्यस्तो के भेटाउनुभयो?
मैले कहिले पनि 'कुन नाटक गर्ने?' भनेर सोचेको सम्झना छैन। म 'कुन'भन्दा पनि 'किन' भन्नेतिर बढी सोचिरहेको हुन्छु।

किन यही रोज्नुभयो?
जे कुरा म आफैले पनि महसुस गर्दै आएको, भन्न मन भएको तर, वर्षौंदेखि भन्न नजानेर वा नसकेर दबेर बसेको कुरा मैले यो नाटकभित्र ठ्याक्कै भेट्टाएँ। र त्यो भेटिएको कुरा मैले मात्र नभएर सबैले, विशेषगरी, लेडिजहरूले महसुस गर्ने साझा संवेदना वा अनुभूति हो। तर, त्यस्तो अनुभूति जसलाई आफैले केलाउन असम्भवजस्तो! अति मिहीन, अति सूक्ष्म र जटिल मानवीय संवेदनालाई यो नाटकले केलाइदिएर हाम्रोअगाडि राखिदिएको छ।

जुन देखिसकेपछि हामी कहाँनेर फसिरहेका रहेछौँ भन्ने कुरामा छर्लङ्ग हुन्छौँ।

विशेषगरी स्त्रीहरूको साझा अनुभूति यसमा छ भन्नुभयो। यसको विषयवस्तु के होला?
समाजमा हामीले भोगिरहेको वा देखिरहेको पितृसत्तात्मक प्रणाली र नारीद्वेषी चेतमाथिको व्यङ्ग्य यो नाटकमा छ। जसले एउटी महिला नै अर्की महिलाको विरुद्ध कसरी उभिन पुग्छे भन्ने कुरालाई गहिराइदेखि नै खोतल्छ।

अनुभूतिजस्तै यो विषयवस्तु पनि साझा भइसकेको छ। यसले दर्शकलाई नयाँ कुरा पनि केही दिन्छ कि? यो नाटकको विशेषता के हो?
यो साझा भनिराखिएको विषयवस्तु आफैमा यति जटिल छ कि यो जति पुरानो हुन्छ, यसको प्रभाव उति गहिरो र गाढा हुँदै जान्छ। त्यसैले, पुरानै कुरा पनि बारबार गर्नु र दर्शकलाई झकझकाउनु कलाकर्मीहरूको दायित्व नै हो।

तर, नाटकमा तपाईंले खोजेजस्तै नयाँ कुरा पनि अवश्य नै छ। आजसम्म हामीले देखाउँदै आएका नाटकमा देखिने अन्याय, देखिने हिंसाबारे मात्र कुरा भइरहेका थिए। यसमा भने झट्ट हेर्दा आँखाले देख्न नसकिने किसिमका अन्यायहरूलाई केलाउने काम भएको छ।

त्यस्ता अदृश्य अन्याय जसलाई हामीले 'हामीमाथि अन्याय भइरहेको छ है' भनेर बुझ्न पनि सकिरहेका हुँदैनौँ। तर, त्यसले हामीभित्र प्रभाव त पारिसकेको हुन्छ। र नजानेरै हामी त्यसको असरस्वरूप आफूजस्तै अर्की महिलामाथि अन्याय गरिदिन्छौँ। या फेरि आफैलाई गलत ठानेर पीडामा, ग्लानिमा तड्पिरहन्छौँ। हरेस खाइदिन्छौँ, रोइदिन्छौँ, रिसाइदिन्छौँ र कहिलेकाहीँ त आफैलाई गुमाइदिन्छौँ पनि।

नाटकले दर्शकलाई नयाँ कुरा दिने भनेकै एउटा नयाँ चस्मा हो। जसले नदेखिने अदृश्य अन्यायलाई पनि सजिलै देख्नसक्ने बनाइदिनेछ।

नाटक तयार पार्नु एउटा लामो प्रक्रिया हो। त्यो लामो प्रक्रियामा रहँदै गर्दा पनि नाटकले पहिलो दिन तानेजत्तिकै अन्तिम दिनसम्म पनि तानिरह्यो? कि कम हुँदै गयो?
तानेन भने त यहाँसम्म आइपुग्नै सकिँदैन। प्रिमियर हुँदैछ है भन्ने दिनसम्म आइपुग्नु पक्कै नाटकले तानेर नै हो।

व्यक्तिगत रूपमा तपाईंलाई नाटकले किन उत्साहित राखिरह्यो?
नाटक गर्दैगर्दा आफूले भोगेका कुराहरू नाटकले फेरि पनि भोगाइदियो। तर, यसपटक हिजो कहाँनेर गल्ती भयो बुझाइदियो। नाटकका पात्रहरू आफैजस्तो लागे। हिजो त्यो पात्रले जस्तै आफ्नै खुट्टामा आफैले बन्चरो हानेको सम्झाइदियो।

र यो सबै हुँदैगर्दा भोलि मजस्तै अर्को पात्रले जो भोलि दर्शकदिर्घामा भेटिनुहुन्छ, यो नाटक हेरिसकेपछि वहाँहरूले 'त्यही गल्ती दोहोर्‍याउनुहुन्न है' भने महसुस हुनुले एउटा ऊर्जा दिइराख्यो जस्तो लाग्छ।

अन्तिममा के भन्न चाहनुहुन्छ?
पितृसत्तामाथिको व्यङ्ग्य भन्दै गर्दा त्यसको उदाहरण यो नाटकभित्र पनि छ। तर, अनुहारविहीन सिस्टमलाई मात्र दोष दिएर जवाफदेहिताबाट उम्कनु पक्कै सही हुँदैन। र मलाई लाग्छ, यो सबै हुनुको पछाडि ठ्याक्कै कहाँनेर, कसको, कति गल्ती छ भन्न अति गाह्रो कुरा हो। यो अफ्ठ्यारो परिस्थितिबाट म, हामीलगायतको समाज गुज्रिरहँदा बनेको यो नाटकमा पनि केही कमी कमजोरी हुनसक्छन्। सबै ठाउँमा पोलिटिकल्ली करेक्ट हुन नसकिएको पनि हुनसक्छ। यही बिहीबारबाट असार ३१ गतेसम्मका लागि मञ्चमा जाँदैछ।

सधैँ आफूसँग भइरहेको तर, नदेखिएको कुरा देख्नका लागि पनि नाटक हेरिदिनुहोला। आफू र आफ्नो सेरोफेरोलाई हेर्ने नयाँ चस्मा वा दृष्टिकोण तपाईंलाई नाटकले दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .