ad ad

कला


तिहारमा ‘भुल भुलैया ३’ भिड्दै अजयको ‘सिंघम अगेन’

तिहारमा ‘भुल भुलैया ३’ भिड्दै अजयको ‘सिंघम अगेन’

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:२८, काठमाडौँ

अजय देवगन स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’ को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी तिहारको अवसरमा रिलिज हुने पक्का भएको हो।

फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्टर सेयर गर्दै रिलिज मितिबारे जानकारी दिएका हुन्।

यसअघि बिहीबार अजयले रिलिज मिति सर्नेबारे संकेत गरेका थिए। आगामी फिल्म ‘अरों मे कहाँ दम था’ को ट्रेलर रिलिज कार्यक्रममा अजयलाई फिल्म सिंघम अगेनको बारेमा सोधिएको थियो।

यसमा उनले भनेका थिए, ‘मलाई फिल्मको रिलिज मितिबारे केही थाहा छैन। जुन फिल्मको छायांकन चलिरहेको थियो, अहिलेसम्म पूरा भएको छैन। केही सुटिङ बाँकी छ। त्यसैले हामी हतारमा छैनौं किनभने हतारमा काम बिग्रन्छ। हामी तयार भएपछि रिलिज गर्नेछौं।’

यस फिल्ममा अजयसहित अक्षय कुमार, रणवीर सिंह, करिना कपुर र दीपिका पादुकोण लगायतको अभिनय छ। अर्जुन कपुर खलनायकको भूमिकामा छन्।

यसअघि ‘सिंघम अगेन’ आगामी अगस्ट १५ मा रिलिज हुने तय भएको थियो। तर, निर्माताले सुटिङ बाँकी हुँदा रिलिज मिति सारेका हुन्।

‘सिंघम अगेन’ सन् २०११ मा रिलिज भएको सिंघमको तेस्रो श्रृखंला हो। यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन्। यसको दोस्रो सिक्वेल ‘सिंघम रिटर्न्स’ सन् २०१४ मा रिलिज भएको थियो।

योसँगै ‘सिंघम अगेन’ कार्तिक आर्यनको ‘भुल भुलैया ३’ सँग भिड्ने पक्का भएको छ। दुबै सफल फिल्मको शृंखला हुँदा बक्सअफिसमा कडा भिडन्त हुने देखिन्छ।

यस फिल्ममा कार्तिक आर्यन र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। मञ्जुलिकाको भूमिकामा विद्या बालन पनि देखिनेछिन्। यसअघि भुल भुलैया फ्रेन्चाइजका दुई फिल्म रिलिज भइसकेका छन्।

सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा अक्षय कुमार, शाइनी आहुजा, राजपाल यादव, परेश रावल र विद्या बालन जस्ता कलाकार देखिएका थिए।

त्यसपछि सन् २०२२ मा ‘भूल भुलैया २’ रिलिज भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .