अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करण जेठ १६ गतेदेखि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिकाको सह–आयोजनामा हुने किम्फको ओपनिङमा इटालियन फिल्म ‘द टाइगर्स नेस्ट’ देखाउन लागिएकाे हाे।
इटालियन निर्देशक ब्रान्डो क्विलिची ‘द टाइगर्स नेस्ट’ को पहिलोपटक एसिया प्रिमियर हुन लागेको हो। नेपालमा छायाङ्कन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ।
‘इकोज अफ चेन्ज’ (परिवर्तनको प्रतिध्वनि) नारा रहेको महोत्सवमा यसपटक २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन्। किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तगर्त वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन्। नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रस्तुत हुनेछन् जसले समकालीन नेपालको कथा उजागर गर्नेछ।
आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमहरूको लाइन-अप मार्फत दर्शकहरूलाई मनोरञ्जन सँगसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवादमा संलग्न गराउने छ।
किम्फ २०२४ को मुख्य आकर्षण ‘एभरेष्ट रिभिजिटेड १९२४-२०२४’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिकै सगरमाथा आरोहण प्रयासका दुर्लभ तस्बिरहरू प्रदर्शन गरिनेछन्।
नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछ।
जेठ २० गतेसम्म चल्ने किम्फ २०२४ को निर्णायकमण्डलमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) रहेका छन्।
निर्णायकहरूले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येवाट विजेता छनोट गर्नेछन्।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपियाँ प्राप्त गर्नेछन्। यसैगरी दर्शक पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
किम्फले चलचित्र निर्माता, चलचित्र प्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तर्क्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गर्नेछ।
महोत्सवमा ‘माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तर्क्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँग को सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा‘ शीर्षकको प्यानल छलफलको आयोजना हुनेछन्।
‘च्याम्पियनिङ योङ फिल्ममेकर्स’ ले ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तर्क्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट.कथा पिच हुनेछन्।
यस महोत्सवको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ। किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो।
महोत्सवको टिकट र सिजनल पास खल्ती एपवाट प्राप्त गर्न सकिनेछ। टिकटको मूल्य एक सय पचास (विद्यार्थीहरूको लागि एक सय रूपैंयाँ) तोकिएको छ।
Shares

प्रतिक्रिया