नर्वेको राजधानी ओस्लोमा नेपाली नाटक ‘गुलाफ’ मञ्चन हुने भएको छ।
अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको यो नाटक ओस्लोको थिएटर मनुमा बिहीबारदेखि तीन दिन नियमित मञ्चन हुनेछ।
रामहरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो पुगिसकेको छ। टोलीमा कलाकारहरू दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ नर्वे पुगेका छन्। निर्देशक ढकालले नेपाली टोलीलाई ओस्लोमा स्वागत गरेका थिए।
नर्वे सरकारको कला र संस्कृतिसम्बन्धी संस्था ‘आर्ट एन्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फन्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको हो। नाटकको नर्वे मञ्चनमा नर्वेली र नर्वेमा रहेका नेपाली दुवै समुदलायलाई लक्षित गरेर मञ्चन गरिनेछ।
यो नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ, जसमा संवाद छैन तर दृश्यहरूले कथा भन्छ।
‘गुलाफ’को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ, जसमा मञ्चको चारैतिरबाट दर्शकले नाटक हेर्न पाउनेछन्। नाटक हेर्न एक ‘सो’मा बढीमा ६४ जनाले मात्र प्रवेश पाउनेछन्।
सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ।
त्यस चरम पीडा र विछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्यप्रस्तुतिको मूल विषय हो। यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभंगीमार्फत उजागर गर्ने कोसिस गरिएको छ।
यस नाटकको गएको पुसमा ठेट्ना आर्ट्सको प्रस्तुतिमा काठमाडौंको मण्डला नाटकघरमा विश्व प्रिमियर गर्दै १४ वटा नियमित मञ्चन भएको थियो।
Shares
प्रतिक्रिया