दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ। शुक्रवार रिलिज भएको टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बुलाई प्रस्तुत गरिएको छ।
पृष्ठभूमिबाट रेडियो नेपाल बजिरहेको दृश्यसँगै टिजर सुरु हुन्छ। जहाँ सुनिन्छ: यो रेडियो नेपाल हो। आज २०४६ साल फागुन ५ गते।
त्यसपछि पर्दामा देखा पर्छन् प्रदीप खड्का। उनी दमाहा बजाउँदै गरेको प्रस्तुत गरिएको छ। आर्यनलाई डोली चढेर आउँदै गरेको देखिन्छ।
त्यसपछि प्रदीपको परीक्षासँग र आर्यनको अञ्जनासँग आँखा जुधेको दृश्य आउँछ। लगत्तै आर्यन र प्रदीपलाई गाउँलले लखेटिरहेको सिन आउँछ। पल भने टिजरमा भरुवा बन्दुक ताकिरहेको हुन्छन्। उनले बन्दुक प्रहार गरेसँगै टिजरले बिट मार्छ। लगत्तै पृष्टभूमिबाट प्रदीपको स्वरमा सुनिन्छ: पुजार, यो शास्त्र पढे बाहुन भइन्छ ?
यस फिल्ममा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा समेटिएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ। यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया