ad ad

कला


महाजात्रा : सन्देशले पन्चर पारेको कथा

महाजात्रा : सन्देशले पन्चर पारेको कथा

श्रीजु सरल
चैत १०, २०८० शनिबार १६:२३, काठमाडौँ

शुक्रबारबाट क्यूएफएक्स लगायत देशभरका विभिन्न हलहरूमा 'महाजात्रा' चलिरहेको छ। प्रदीप भट्टराई निर्देशित यो फिल्म उनकै निर्देशनका दुई फिल्म 'जात्रा' र 'जात्रैजात्रा'को अर्को भाग हो। निर्देशकपछि यी फिल्मका साझा पक्ष भनेको यिनको विषयवस्तु हो, अर्थात् पैसा। त्यसपछि क्रमश: यिनका कलाकार। तीनै फिल्म पैसाकै वरिपरि घुम्छन् भने तीनै फिल्ममा रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र विपिन कार्की र वर्षा राउतलाई मुख्य भूमिकामा देख्न पाइन्छ।

त्यसो त जयश, मुन्ना, फणी र सम्पदा सँगसँगै महाजात्राले अर्को मुख्य पात्र भित्र्याएको छ- पुण्यप्रसाद! अग्रज, कुशल एवं सफल हाँस्यकलाकार हरिवंश आचार्यले खेलेको उक्त पात्र त हाँस्छ न त पुण्य कमाउने काम नै गर्छ। यद्यपि, उनको उपस्थितिले दर्शकलाई हाँस्ने खुराक भने दिएकै छ। आउनुस्, जात्राबाट महाजात्रा बन्न फिल्मले नयाँ-नयाँ पात्रसँगसँगै अरू के के भित्र्यायो, हेरौँ है त!

कथा
कुनै समय परिबन्दले बाँधिएका तीनजना (साथीहरू?) आज आ-आफ्नो बाटो लागी आ-आफ्नो जिन्दगी बाँचिरहेका छन्। तर, अचानक परिबन्दले फेरि पनि उनीहरूलाई बाँधेर एकै ठाउँ ल्याइपुर्‍याउँछ। यिनै तीनजनाको संयोगात्मक सम्बन्धको बाटो हुँदै फिल्मले अभाव र अवसरको कथा भनेको छ। अघिल्ला दुई प्रिक्वेलमा जस्तै अभाव र अवसरबीच घटित हुने मानवीय विशेषता वा कमजोरीको कथा नै महाजात्राको पनि कथा हो।

अर्को शब्दमा भन्नुपर्दा नहुञ्जेल बाँडेर खान मन लाग्ने र भएपछि सक्दो एक्लै खाऊँ खाऊँ लाग्ने मानवीय गुणदोषको व्यङ्ग्यात्मक अतिरञ्जनाको नियोजित शृङ्खला हो महाजात्राको कथा।

पटकथा

खैर, आम मानिसको कथा समाज हुँदै सत्तासम्म पुगेको किस्सालाई पनि फिल्मको कथाले समेटेको छ। त्यसो त समाजको घाँटी न्याक्दै सत्तामा बस्नेलाई ठीक लगाउनेदेखि त्यही सत्तामा बस्नेसँग ठिक्क मिल्नेसम्मका किस्साहरू पनि पटकथाका रूपमा आउँछन्।

थपिएका पात्र, किस्सा र कथाका कुरा गर्दैगर्दा पटकथाको कुरा पनि गरिहालौँ। जात्रा सिरिजका अघिल्ला फिल्ममा पटकथा लेखन बलियो नै थिए र तेस्रो भागसम्म आइपुग्दा पनि त्यो बल पटकथामा भेटिन्छ। यद्यपि, पटकथाको यो बलमा कतै न मसिनो प्वाल भने परेकै हो कि? किनभने, फिल्मको पहिलो हाफभरि कसिलो लागेको यो बल दोस्रो हाफमा भने हावा फुस्किएझैँ थोरै फितलो लागिदिन्छ। यस्तो लाग्छ, पहिलो हाफमा पटकथा लेख्दा केन्द्रमा 'कथा'लाई नै राखियो तर, दोस्रो हाफमा 'सन्देश'!

दर्शकका लागि मुख्य आकर्षण र कथाका लागि मुख्य पात्रका रूपमा थपिएका नयाँ अनुहार - 'पुण्यप्रसाद'को चरित्रको उठान र उडान कथा सँगसँगै भयो। तर, यो पात्रको बैठानले एउटा सन्देश खोज्यो। त्यही सन्देश दिने काइदामा पटकथाको बलमा एउटा पन्चर पारियो कि? पत्ता लगाउने जिम्मा दर्शकको। फिल्मको दोस्रो हाफ पन्चर पारीकन राखिएको सन्देशको पनि कुरा गरौँ न त। एउटा भ्रष्टाचारीलाई पनि आफ्नो गल्तीको महसुस हुन्छ तर, कतिबेला मात्र? जतिबेला ठीक उसको छातीमै बन्दुकको नालले स्पर्श गरेको हुन्छ!

यद्यपि, पटकथाको सबैभन्दा बलियो पक्ष यसको संवाद हो। जोडले हँसाउने र मन्द सोचाउने सटायर अर्थात् व्यङ्ग्य फिल्ममा पात्रले बोल्ने डायलगहरूमा भरपूर भेटिन्छन् र तिनले हरेकपटक दर्शकलाई उत्तिकै जोडले हँसाउँछन्।

आइरनी अर्थात् बिडम्बना त पात्रको नाममाथि प्रयोग गरेर पनि झल्काउने कोसिस गरिएको छ। जसले दर्शकलाई जोडले सोचाउँछ र मन्द हँसाउँछ। सम्झिनुस् त, पैसा भेटे पैसा, सुन भेटे सुन पचाइदिने फणीन्द्रको छोरोको नाम भने इमान! अनि छोरीको झन् नैतिकता रे! त्यसो त वर्तमान समाजमा इमान र नैतिकता त देखाउने कवच न भइदिएको छ।

पात्र
पात्रको नामको कुरा हुँदै गर्दा इमान र नैतिकताको हुनसक्ने जति प्रयोग हुन नसकेको हो कि जस्तो लागेन तपाईंलाई? फणीन्द्रजस्तो बाबुलाई आदर्श मान्दै गर्दा इमानले इमान गुमाइदिएको भए?

खैर, अबोध छोरी नैतिकताले बाबुको अनैतिक कृत्यमाथि अबोध रूपमै खबरदारी गरेको दृश्य भने सम्झनलायक छ। पात्रले उठाएको नामको भारले थोरै भए पनि जस पाएको स्थिति!

दिव्य देवले खेलेको अर्को एउटा पात्र छ- एकदेव! झट्ट सुन्दा पात्रको नाम कलाकारकै नामसँग मिलाएर राखेझैँ। तर, पात्रको नाम कलाकारसँग मिल्दै गर्दा कथासँग भने कत्तिको मिल्छ त? 'वान म्यान आर्मी' भनेझैँ एक्लै आफूखुसी चल्ने पात्रको नाम 'एकदेव' हुनु पक्कै 'राम्रो र म' जत्तिकै मिलेको छ।

खैर, पात्रको नाममै मात्र पनि यति धेरै नअल्झूँ कि? एकदेवको चरित्रको उठान, उडान र बैठानको कुरा गरौँ। फिल्मको सुरुवात नै एकदेवको 'वान म्यान आर्मी' पाराको इन्ट्रीबाट भएको छ। अर्थात् पात्रको उठान भव्य लाग्छ। स्पोइल नगरेरै भन्नुपर्दा त्यसपछि, चरित्रको उडानको समय पनि पात्रको लट्टाइमा धागोको कमी महसुस हुँदैन। सिनेआकाशमा चङ्गा उडाउने निर्देशकको खुबी पनि प्रशंसनीय लाग्छ।

तर, जब बैठानको समय आउँछ, चङ्गा घरले छेकिन्छ र केहीबेर दृश्यबाट हराइदिन्छ नै। सायद कतै अल्झिएको हुन्छ किनभने भेटिँदासम्म च्यातभुत भइसकेको हुन्छ। यहाँनेर भने निर्देशकले दर्शक र पात्रबीचको संवेदनात्मक सम्बन्धलाई बिर्सिएको हो कि? त्यसो त चङ्गा हो, ठोक्किन पाउँछ, अल्झिन पाउँछ, च्यातचुत हुन पनि पाउँछ। तर ठोकिएको, अल्झिएको र च्यातचुत भएको दृश्य लुक्न पाउँदैन कि? दुष्ट छिमेकीले छतमा पुगेर छल गरेर च्यातेको त होइन? यस्तो अनुत्तरित प्रश्न रहिरहन्छ।

जे होस्, भगवान नै हो जसरी उदाएको पात्र गल्लीको कुकुर अस्ताएजसरी अस्ताउँदा दर्शक उसको अवसानमा उति दुख्न सक्दैन। उसँग जोडिएका पात्रको संवेदनासँग त झनै भिज्न सक्दैन।

अनि साँच्चै, जुपिटर रोएको रोएकै छ, तर, जुपिटरकी आमा छैन। जुपिटरकी आमा त्यहाँ किन छैन? थाहा छैन! तर, त्योभन्दा सुरुमा जुपिटर र उसका बुवा त्यहाँ किन छन्? थाहा छ, तर कारण खासै ठूलो छैन।

कमेडी
कमेडी फिल्मले पात्रमा प्रयोग गर्ने अर्को एउटा 'बल' हो- स्क्रुबल। अर्थात् 'तार सड्किएको पात्र'। हरदम मामा पात्रको रखवारीमा रहने यो छोरो पात्रलाई फिल्मले स्क्रुबल कमेडीको रूपमा प्रयोग गरेको त छ तर, यस पात्रले दर्शकलाई हँसाउने भन्दा बढी झिँजो लगाउँछ। यो पात्रको माध्यमबाट फिल्मले केही व्यङ्ग्य गर्छ, विडम्बना ओकल्छ र अलिकति त ब्ल्याकमेल पनि गर्छ। यसका बाबजुद कथामा उसको उपस्थिति उति आवश्यक वा बलियो लाग्दैन। सीमित टाइमफ्रेमभित्र नहुँदा पनि फरक नपर्ने पात्रलाई देख्नुपर्दा दर्शक झिँजिनु स्वाभाविक पनि त हो।

कमेडी फिल्मले पात्रमार्फत् प्रयोग गर्ने अर्को कमेडी हो- डेडप्यान कमेडी अर्थात् ड्राइ कमेडी- कमेडी गरेको थाहा नपाई गरिने कमेडी। पुण्यप्रसादको पात्रमाथि केही हदसम्म यो ड्राइ कमेडीको प्रयोग गर्न खोजिएको छ। तर, यही पात्रमाथि नै ट्विस्ट, ब्ल्याकमेलिङ र सन्देशजस्ता जिम्मेवारी समेत हुँदा निस्किन सक्ने जति ड्राइ कमेडी निस्किएन कि? यद्यपि, निस्किएको कमेडीमाथि पेट निचोरेर हाँस्न भने पक्कै सकिन्छ।

साँच्चै, ड्राइ कमेडीको कुरा हुँदै गर्दा फिल्मले खेर फालेको एउटा पात्रको सम्झना भयो। स्पोइल नगरी भनूँ? पात्रको नामै नलिई भन्दा कसो होला? अँ, त्यो निराश पात्र जो कसैको लास कुरिरहेछ।

दाहसंस्कार गर्न पाएको छैन। यसैगरी उसले जुगौँ लास कुर्नपर्यो भने? लासमा ढुसी आएर च्याउ उम्रियो भने? के उसले त्यो च्याउको व्यापार गरेर घर बनाउला? तर, घरमा त मृतकको आत्माले तर्साउन आइहाल्दो हो नि! त्यसोभए, आफू नबसेर भूतघर बनाई व्यवसाय चलाइदिने त? कतिसम्म तन्काउने? दृश्यमा तन्काउने कि संवादमा? या मनोवादमा?

एउटा वैरागी पात्र डेडप्यान कमेडीको लागि अथाह स्रोत हो। लाग्छ, फिल्मले यो उर्वर पात्र खेर फाल्यो। यस्तोमा नम्बर काट्ने कि नकाट्ने दर्शककै जिम्मा।

कमेडीमा भए राम्रो गुणको कुरा गरियो अब हुनैपर्ने गुणको पनि कुरा गरौँ- ड्रामाटिक आइरनी अर्थात् नाटकीय विडम्बना।

फिल्मका स्थायी तीन मुख्य पात्रको जीवनमा एउटा समस्या आइपर्छ। अथवा भनौँ अवसर आइलाग्छ। एउटालाई लाग्छ, मलाई मात्रै थाहा छ, अर्कोलाई त्यसै लाग्छ। तर, दुवैलाई थाहा छ भन्ने कुरा दुवैलाई थाहा छैन, बरु हामीलाई थाहा छ। कठै साथीहरू! अर्कोलाई त थाहै पनि छैन। तर, त्यो थाहै नपाएको पात्र यसरी प्रस्तुत भइदिन्छ कि मानौँ उसैलाई सबैभन्दा बढी थाहा छ। जसकारण 'किन रोइस् मंगले, आफ्नै ढंगले' पनि यही पात्रले हुनुपरेको छ। बिचरा! कठैबरा पात्र देखाएर दर्शकलाई हँसाउन सक्नु फिल्म कमेडी जनरामा पास हुनु हो कि?

फिल्मको सबैभन्दा सुन्दर पक्ष भने 'फ्रेम इन्साइड अ फ्रेम' हो। फोटोग्राफीमा जब क्यामराको फ्रेमभित्र अर्को फ्रेम कैद हुन्छ त्यसलाई सुन्दर फोटोग्राफीको ट्याग दिइन्छ। त्यसैगरी, महाजात्राले पनि आफ्नो सेटभित्र अर्को सेटलाई कैद गरेको छ। जसले फिल्मको सौन्दर्य बढाइदिएको छ। यथार्थको ठूलो कथाभित्र अर्को एउटा सानो नाटकीय कथा चलिदिन्छ। र त्यो सानो नाटकको दर्शक (त्यो स्टुडियोको केटो) मार्फत् निर्देशक भट्टराई फेरि पनि ड्रामाटिक आइरनीको प्रयोग गर्छन्।

हाँस्य कलाकार सुमन कार्कीले निभाएको यो पात्रले, यसो भन्न सकिन्छ, कथाले मागिरहेको न्याय फिल्मलाई दिलाएको छ।

फिल्ममा कमेडी जनरामा हुनुपर्ने डिस्गाइज अर्थात् छद्मभेषको प्रयोग पनि एकदेव, साहु र अन्य पात्रमार्फत् गरिएकै पाइन्छ।

अभिनय
रवीन्द्रसिंह बानियाँको पात्र जयश, विपिन कार्कीको पात्र फणी र रवीन्द्र झाको पात्र मुन्नाको अभिनय सदाबहार लाग्छ। यद्यपि, दोस्रो भागसँग दाँज्दा समानान्तर पात्रबीच उति भिन्नता नदेखिए पनि पहिलो भागसँग दाँज्दा पात्रको लवज र चालढालमा केही परिवर्तन भने अवश्य महसुस हुन्छ। तर, समयको जाँतोले पिधिँदा मानिसमा परिवर्तन आउनुलाई स्वाभाविक लिन सकिन्छ।

यद्यपि, नयाँ धेरै पात्रहरू थपिँदा पहिलाको दाँजोमा केही कम स्पेस पाएको भए पनि वर्षा राउतले खेलेकोको पात्र सम्पु पहिलाभन्दा अझै मौलिक लाग्छ।

आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्किएर खलनायकी निभाएका हरिवंश आचार्य पुण्यप्रसादको भूमिकामा सन्तोषजनक नै लाग्छन्। एकदेवको भूमिकालाई दिव्यदेवले स्मरणीय बनाउन सकेका छन्। अभिनय क्षमताको आधारमा भन्नुपर्दा प्रवीण खतिवडाले निभाएको पात्र पनि उत्तिकै स्मरणीय हुनुपर्ने हो। तर, उनको पात्र कथामा स्थापित हुन समय लिँदै गर्दा नै ओझेल पारिन्छन्।

शिशिर वाङ्देलको अभिनय सधैँझैँ उल्लेखनीय लाग्छ। सुमन कार्कीले छोटो भूमिकामा पनि आफ्नो भर्साटायल अभिनय कौशलमार्फत् अथाह सम्भावना देखाएका छन्। रजनी गुरुङ, गौमाया गुरुङ लगायतको अभिनय पनि सन्तोषजनक नै लाग्छ।

प्रविधि
फिल्मको सिनेम्याटोग्राफीले दर्शकलाई बाँधेरै राख्नेछ। पार्श्वध्वनिले बिझाउँदैन तर, उत्साही बहाव पनि ल्याउँदैन। फिल्मको बीचतिर राखिएको गीतले दर्शकलाई नोस्टाल्जियामा लिएर जानेछ भने अन्तिमतिर राखिएको गीत कथाको परिवेशमा नसुहाउँदो लाग्दैन तर कथाको संवेदना पछ्याउँदै जाने हो भने उति सुहाउँदो लाग्दैन। भातको थालीमा बर्गर जस्तो!

जाँदाजाँदै, फिल्मलाई एउटा बल मान्न सकिन्छ भने बलबाट नजानिँदो गरी हावा फुस्किरहेकै छ तर, खेल्नै नमिल्ने छैन। कुरा यत्ति हो, भित्तामा कसेर हान्दा नाकै भत्किने गरी चाहिँ फर्किँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .