कला


अमेरिकामा नेपालसहित तीन देशका कलाकारको संयुक्त प्रस्तुति

अमेरिकामा नेपालसहित तीन देशका कलाकारको संयुक्त प्रस्तुति

नेपालखबर
माघ ८, २०८० सोमबार १२:२६, काठमाडौँ

नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन्।

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको कार्यक्रममा तीन देशका कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्।

 ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो । त्यस अवसरमा फिलाडेल्फियामा रहेका नेपाली, करेन, खमेर, बर्मेली र कम्बोडियन समुदायका नागरिकको उपस्थिति रहेको आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विज्ञप्तिमार्फत जनाएको छ।

सो संयुक्त सांस्कृतिक कार्यक्रममा इन्ट्रा डान्स स्कुल, हृयारिसवर्गका नेपाली मूलका विद्यार्थीले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने नेपाली कलाकार रोमा राई र उनको समूहद्वारा प्रस्तुत राई जातिको परम्परागत साकेला नृत्य सबैको आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रममा कम्बोडिन मूलका केभिन चिन र बेर्मेली मूलकी थाङ सोङले आ–आफ्ना देशका संस्कृतिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कम्बोडियन समुदायकी सेलिब्रेटी गायिका चोम निमोल, पाउला थान्च, मेला चुम, बर्माको करेन समुदायकी गायिका फेनी रकम्यानलगायतले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए।

त्यसैगरी सो कार्यक्रममा नेपाली, बर्मेली, कम्बोडियन कलाकारले आफ्ना देशका संस्कृति र कला झल्किने गरी नृत्य प्रस्तुत गरेका थिए।

अमेरिकास्थित सामाजिक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाकाद्वारा आयोजित सो कार्यक्रममा सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले संसारभरका नेपालीबीच सांस्कृतिक एकता गर्ने अभियानस्वरुप यो कार्यक्रम गरिएको जानकारी दिए।

त्यस अवसरमा कम्बोडियन आइडलसमेत रहेकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालय र भागवान गौतमबुद्धको जन्मभूमि पुग्ने रहर भएको बताएका थिए । आफ्नो जन्मभूमि भुटानबाट अन्यायपूर्वक लखेटिएर पितृभूमि नेपालमा शरणार्थी जीवन बिताएको पीडादायी क्षणमा पनि आफूहरुले नेपाली संस्कार र संस्कृतिलाई अगाडि बढाएको भन्दै फाउण्डेसनका निर्देशक ओमराज गुरुङले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

फिलाडेल्फिया नगर परिषद्की सदस्य डा निना अहमदले एसियाका विविध संस्कृतिलाई अमेरिकामा ल्याइ संयुक्तरुपमा प्रस्तुत गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गरे।

उक्त कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेता, नगरपालिकाका प्रतिनिधि, अमेरिकी सङ्घीय सांसदको कार्यालयका प्रतिनिधि र नगरपरिषद्का सदस्यको सहभागी भएका सो विज्ञप्तिमा जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad