कला


‘पगला घोडा’ मार्फत रंगमञ्चमा डेब्यू गरिरहेकी मलिका भन्छिन् : नाटक गर्न निकै कठिन रहेछ

‘पगला घोडा’ मार्फत रंगमञ्चमा डेब्यू गरिरहेकी मलिका भन्छिन् : नाटक गर्न निकै कठिन रहेछ

नेपालखबर
पुस ९, २०८० सोमबार १९:८, काठमाडौँ

अभिनेत्री मलिका महत अहिले चर्चामा छिन्। लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ मा केन्द्रीय भूमिकामा रहेकी मलिकाको तारिफ भइरहेको छ। जुन फिल्म आगामी वर्ष रिलिज हुँदैछ।

यसैबीच, मलिकाले रंगमञ्चमा समेत डेब्यू गर्न लागेकी छिन्। पुष १२ गतेबाट मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘पगला घोडा’ मार्फत रंगमञ्च क्षेत्रमा प्रवेश गर्देछिन्। 

घनश्याम श्रेष्ठको निर्देशन रहने नाटकमा मलिका मुख्य भूमिकामा छिन्। जहाँ मलिकाले चारवटा फरक फरक पात्रको भूमिका निर्वाह गर्नेछिन्। 

नाटकको मञ्चन संघारमा हुँदा आज ‘पगला घोडा’ टिमले पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। जहाँ मलिकाले आफूलाई नाटकमा पहिलोपटक अभिनय गर्न पाउँदा खुसी लागेको बताइन्। साथै चारवटा भूमिका निर्वाह गर्न निकै कठिन भएको उनको भनाई छ। 

‘सुरुमा नाटक गर्न निकै कठिन भयो। अहिले आएर बल्ल म शान्त भएकी छु। नत्र म एकदमै चिन्तित हुन्थे। किनकी पहिलो नाटक त्यसमाथि चारवटा क्यारेक्टरलाई फरक तरिकाले प्रस्तुत गर्नुपर्दा निकै गाह्रो भयो,’ उनले भनिन्। 

फिल्मभन्दा नाटकको प्रकियाहरु निकै फरक रहेको उनी सुनाउँछिन्। ‘सुरुमा एक्टिङ गर्नेजस्तो लागेको थियो। तर, रिहर्सलमा आएपछि थाहा भयो नाटकको प्रोसेस त कति फरक हुँदोरहेछ भन्ने। फिल्मभन्दा नाटक धेरै कुरामा फरक हुँदो रहेछ। सुरुबेला गाह्रो भएपनि अहिलेभने रमाइलो लागिरहेको छ,’उनले भनिन्। 

फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ मार्फत सिनेजगतमा डेब्यू गरेकी हुन्: मलिका महतले। पहिलो फिल्म हिट नभए पनि मलिकाले म्युजिक भिडियोमा काम गरेर निकै चर्चा बटुलिन्। जसकारण उनलाई धेरैले मोडलको रुपमा चिन्छन्। 

यसै बिषयमा पत्रकारले मलिकातर्फ प्रश्न तेर्साए, ‘अहिले तपाईं फिल्मसहित नाटकमा पनि मुख्य पात्रमा खेल्दै हुनुहुन्छ। यो दौडधुप मोडलको छविलाई मेट्नको लागि हो?’ 

‘यो अबुझाइ मात्र हो। त्यो मेटाउनलाई मैले नाटक गरेको होइन। मलाई पहिलेदेखि अभिनयमा निकै रुची थियो। मलाई नयाँ नयाँ कुरा अनुभव गर्न मन लाग्छ। जसकारण नाटकमा जोडिए।’ 

यस नाटकमा मलिकासहित प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय छ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटकलाई नेपाली भाषामा अनुवाद गरेर मञ्चन गर्न लागिएको हो।

नाटकलाई शिव खाँड ठकुरीले नेपालीमा अनुवाद गरेका हुन्। उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन्। यो नाटक नाटक माघ ६ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad