कला


जसले चित्रमार्फत उठाए दलित र लैंगिक अल्पसंख्यकका मुद्दा

जसले चित्रमार्फत उठाए दलित र लैंगिक अल्पसंख्यकका मुद्दा

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बिहीबार आफ्नो पेन्टिङको ब्रिफिङ गर्दै सुजन शिवा।


लक्ष्मी बलायर
मंसिर २०, २०८० बुधबार २२:४४, काठमाडौँ

बुधबार दिउँसो २ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पुग्दा बेग्लै चहलपहल थियो। प्रतिष्ठानको प्रदर्शनीकक्षमा सुजन शिवा आफूले बनाएका चित्रको व्याख्या गर्न व्यस्त थिए।

पहिलो प्रदर्शनी, त्यसमाथि विदेशी अवलोकनकर्ता। अंग्रेजी बोल्नुपर्दा थोरै नर्भस देखिन्थे उनी।

सोहीबीच रोनिकाले फ्याट्ट भनिन्, ‘वाउ! सो ब्युटिफुल एन्ड टची पेन्टिङ’। जुन प्रतिक्रिया सुन्दा सुजनको मुहारमा छुट्टै चमक छाएको थियो। 

एक व्यक्ति जो जन्मिँदा केटा हुन्छ। तर, ठूलो हुँदै गर्दा ऊ आफूलाई केटी सोच्छ। समाजले उसलाई केटा नै देख्छ। भित्री रूपबाट भने उसमा केटीजस्तो भावना हुन्छ। यस्तै समलिङ्गी पुरुषको भावना झल्किन्छ सुजनको पेन्टिङमा।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजीबीटीक्यूआईए प्लस) का भावनालाई चित्रकलामा उत्रार्ने कोसिस गरेको सुजन बताउँछन्।

‘मैले यो पेन्टिङ यौनिक अल्पसंख्यकलाई लक्षित गरेर बनाएकी हुँ। जुन बाहिरी रूपबाट केटा हुन्छ। तर, भित्रबाट महिलाको भावना हुन्छ। एक व्यक्ति बाहिर के छ र भित्रैबाट के मन पराउँछ? व्यक्तिका दुई रूप यसले देखाउँछ।’

झापा घर भएका सुजनले तीनवटा रचना प्रदर्शनीमा राखेका थिए।

उनको दोस्रो चित्रमा जातीय भेदभावको कुरा उठाइएको छ। जसले कथित उपल्लो र तल्लो जातबीचको खाडललाई झल्काउँछ।

त्यस्तै, तेस्रो चित्रले भने लैंगिक अल्पसंख्यक समुदाय अरुभन्दा भिन्न छ भन्ने देखाउँछ। 

आफू पनि त्यही समुदायको भएकाले दलित र लैंगिक अल्पसंख्यक समुदायका पीडा र भावनालाई चित्रमार्फत प्रस्तुत गरेको उनले बताए। 

सुजन व्यावसायिक कलाकार होइनन्। त्यसैले त पहिलोपटक प्रदर्शनीमा चित्र राख्न पाउँदा अरुभन्दा बढी नै खुसी छन् उनी।

भन्छन्, ‘सानैदेखि चित्रकलामा रुचि थियो। दर्शकहरूबाट राम्रो प्रतिक्रिया मिलेको छ। यस्ता प्रदर्शनीले हामीजस्तोलाई अवसर सिर्जना गर्छ।’

जातीयता र लैंगिकतामा आधारित दोहोरो विभेद खपेर समाजमा बस्नुपर्दाको पीडायुक्त अनुभूति प्रदर्शनीमा राखिएका अन्य कलाकारका रचनामा पनि झल्किन्थ्यो।

अर्का कलाकार अजय उप्परकोटीको चित्रमा देखिन्छन् दुई युवक। एउटा बाहुन, अर्को दलित। जो एकअर्कालाई अथाह प्रेम गर्छन्। जातीय भेदभावबीच दुई समलिंगी पुरुषबीचको प्रेमलाई यसमा देखाएको उनको भनाइ छ।

‘केटाकेटाबीच पनि माया-प्रेम हुनसक्छ। यसमा जातीय तगारो पनि हुनु हुन्न। यो कुरा सामान्य हो भन्ने मैले पेन्टिङमार्फत देखाउन खोजेको छु। यसलाई समाजले पनि स्वीकार्नुपर्छ भन्ने सन्देश पेन्टिङमा छ,’ उनले भने।

समाजको समस्यालाई कलामार्फत प्रतिरोधका रूपमा प्रयोग गरिएको सुनाउँछन् उनी।

उप्परकोटी भन्छन्, ‘प्रतिरोध आन्दोलन वा हिंसात्मक तरिकाले मात्रै हुँदैन। बरु रचनाका माध्यमबाट प्रतिरोध गर्नु राम्रो कुरा हो। पहिलोपटक जातसहित यौनिक अल्पसंख्यकका कुराहरू समेटेर प्रदर्शनी भएको रहेछ। सामाजिक समस्यालाई बोल्नका लागि कलाको शक्ति हुँदोरहेछ भन्ने यसले देखाएको छ।’

यसअघि राष्ट्रिय कला प्रदर्शनीमा सहभागी भइसकेका अजय स्नातकमा ललितकला पढिरहेका छन्। ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ शीर्षकको प्रदर्शनी बुधबारसम्म चलेको थियो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सामरी उत्थान सेवाको आयोजनामा भएको यस्तो प्रदर्शनी पहिलो रहेको कलाकार शिवहरि ज्ञवालीले दाबी गरे।

उनका अनुसार, प्रदर्शनीमा ३८ कलाकारका ४२ कलाकृति राखिएका थिए। जसमा ललितकलाका कुलपति नारदमणि हार्तम्छालीका चित्र पनि समावेश थिए। 

‘दलित तथा यौनिक अल्पसंख्यकका विषयलाई कलामार्फत् प्रस्तुत गरिएको प्रदर्शनी नेपालकै पहिलो हो। जुन कलाकृतिहरू जात र यौनिकतासँग सम्बन्धित थिए। ६ दिनको अवधिमा दर्शकको उत्साहजक सहभागिता थियो,’ ज्ञवालीले भने। 

प्रदर्शनीले दलित तथा अल्पसंख्यक समुदायलाई मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .