कला


कलम छोडेर राइफल रोजेका डीएसपी दीपक, जो हरेक दसैँमा भाइरल हुन्छन्

कलम छोडेर राइफल रोजेका डीएसपी दीपक, जो हरेक दसैँमा भाइरल हुन्छन्

दसैँ गीतहरूका सर्जक दीपक। तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
कात्तिक ३, २०८० शुक्रबार १०:१३, काठमाडौँ

हरेक वर्ष दसैँ नजिकिँदै गर्दा भाइरल हुन्छ फौजी पोसाक लगाएको एउटा तन्नेरी अनुहार। त्यो अनुहारलाई लिएर मिम पनि बन्छन्– ‘यी दाइले यसपालि बिदा पाए कि पाएनन् होला?’ 

त्यसमाथि सञ्जालमै लामो लहरो बन्छ प्रतिक्रियाहरुको। कतिपयले उनको तस्बिर राखेर लेख्छन्, ‘यो दसैँमा मलाई अरु केही चाहिएन यी दाजुले बिदा पाए पुग्छ।’ सञ्जालका प्रयोगकर्ताहरु प्रतिक्रिया सहित हाजिरी लगाउँछन्, ‘यी दाजु पेन्सन पकाएर चौकीदारी गर्न खाडी पुगिसके।’ 

‘यी दाजु मरिसके’ भनेर सञ्जालमै आँसु झार्ने पनि भेटिन्छन् यदाकदा। जे होस्, हरेक वर्ष चर्चामा आइरहने अनुहार हो यो। 

आफैँलाई लिएर बनेका ट्रोल, मिम र प्रतिक्रिया हरेर मुस्कुराइरहेका हुन्छन् दीपक कोइराला। दीपक तिनै व्यक्ति हुन्, जो हरेक साल चर्चामा आइरहन्छन्। दीपकको अनुहार भाइरल त भइरह्यो तर कहिल्यै बाहिर आएन उनको वास्तविक नाम र कथा। ‘यी दाइ’को नाम नै पर्याप्त भैदियो दसैँ सम्झाउन। यो वर्ष पनि उनको अनुहार माथि बनेका मिम सार्वजनिक हुन थालिसकेका छन्। त्यो हेरेर दीपक दङ्ग पर्न थालिसकेका छन्।

अब त उनको अनुहारमा थोरै मुजा बस्न थालिसके। कञ्चटको रौं फुलेर सेता भएका छन्। माओवादी द्वन्द्व उत्कर्षमा रहेका बेला सशस्त्र प्रहरी बलमा भर्ती भएका दीपकका आफ्नै कथा छन्। ती कथा न उनी कसैलाई सुनाउँछन्, न कसैले उनलाई खोजेका छन्। खोजी गरिहाले पनि उनी सजिलैसँग आफ्ना कथा भन्न राजी हुँदैनन्। दसैँमा बज्ने गीतकै कथाले खिचेर कतिलाई उनीसम्म पुर्‍यायो, उनले पनि गीतकै कथा भनिपठाए।

असोज पहिलो साताको एक बिहान, सशस्त्र प्रहरी बल हलचोकमा भेटिएका दीपकले सम्झिए आफ्नै सपना, जीवनको बाटो र सशस्त्र प्रहरी बल भर्तीको कथा। 

सपनाको कथा
दीपकको जन्म दोलखामा भएको हो। उनका बुबा नेपाली सेनाका सुबेदार थिए। उनी सानै थिए, बुबाले काठमाडौंको मध्यबानेश्वरमा सानो घर बनाए र छोराछोरी लिएर आए। दीपकले मध्यबानेश्वरको रत्न राज्य स्कुलमा पढे। त्यहीँबाट राम्रो अंक सहित एसएलसी पास गरेका दीपक विज्ञान पढ्न चाहन्थे।  

विज्ञान पढ्ने उत्कट सपना बोकेर चार जना साथीसहित दीपकले अस्कल क्याम्पसमा प्रवेश परीक्षा दिए। नाम निस्कियो। एक महिना कजेल पनि गए। पढ्दै जाँदा दीपकले सम्झिए, बुबाको कमाइ, उनले निर्वाह गर्नुपर्ने जिम्मेवारी। उनी बीचमै रोकिए। 

उनीसँगै गएका साथीका बुबाहरु नेपाल सरकारका अधिकृत र व्यवसायी थिए। साथीको सपनाको बाटो रोकिएन। दीपकलाई भने हरेक दिन एउटै प्रश्नले डसिरह्यो, ‘मेरा बुबाको सामान्य जागिरले यति महंगो शुल्क बुझाउन पुग्ला?’ उनीसँग पढाइका थुप्रै विकल्प थिए।  

त्यसपछि उनले पढाइ छाडे र फर्किए सपनाको पहिलो बाटोबाट। बुबाले उनलाई पढाउन सक्दिनँ भनेका थिएनन्। दीपकले भनेको भए घर बेचेरै पनि पढाउँथे होला। तर, दीपकलाई बुबाको अवस्था छैन भन्ने लाग्यो, बाटो परिवर्तन गरे।

त्यसपछि उनी पत्रकारिता पढ्न रत्नराज्य क्याम्पस भर्ना भए। पढ्दै पत्रकारिता गरे। साथीहरुसँग मिलेर ‘सिमल मासिक’ पत्रिका चलाए। पत्रकारितामा उनको नाम बन्दै थियो। तर, उनको भविष्यप्रति बुबाआमा आशावादी थिएनन्। भनिरहन्थे, ‘तिमी कहाँ छौ, के गरिरहेका छौ?’ 

‘जीवनमा मेरा पुर्खा कहाँ थिए भन्ने कुराले पनि ठूलो अर्थ राख्दो रहेछ। एकदिन मैले पनि बन्दै गरेको नामको मोह छोडेर हिँडे,’ दीपकले सुनाए, ‘मेरो यो अर्को बाटो सुरक्षित भविष्यको खोज पनि थियो सायद।’ 

ठूलोबुबा, बुबा, दाइ सबै नेपाली सेनाका जागिरे। दीपकले पनि नेपाली सेनामा भर्ती हुने सोच बनाए। सेकेन्ड लेफ्टिनेन्टका लागि स्पर्धा गरे। तर, अन्तर्वार्तामा फालिए। सपना त फेरि पनि भत्कियो उनको। त्यसपछि नेपाली सेना हुने बाटो पनि छोडिदिए। दीपक सशस्त्र प्रहरीमा भर्ती भए। २०६० सालमा उनी सशस्त्रको असईमा भर्ना भए। उनको पहिलो पोस्टिङ भक्तपुरको दुवाकोटमा भएको थियो। 

दसैँ गीतको कथा
कुरा २०६१ सालतिरको हो। सशस्त्र प्रहरीमा उनी टेलिश्रृंखला लेखन तथा निर्देशन गर्थे। त्यो वर्ष पनि २ भाग टेलिश्रृंखला ‘दसैँको खसी’ निर्माण भयो। लेखन, निर्देशन दीपकको थियो। उनी यो सिरियलको हिरो पनि थिए। दसैँ बिदा सुरु भैसकेको थियो। टेलिश्रृंखला प्रसारण तयारी हुँदा ७ मिनेट छोटो भयो। नेपाल टेलिभिजनले २८ मिनेट समय टेलिचलचित्रका लागि दिएको थियो। भैदियो १९ मिनेट मात्रै। त्यसपछि दीपकले सोचे, ‘गीत राखौँ कि यो खाली समयमा।’

तत्काल गीत लेख्नु पर्ने भयो। दीपकले पुरानो लोकभाका ‘कलकत्ते काइँयो’को धुन समाते। यो लय सिर्जना जयनन्द लामाले गरेका हुन्। यही लयमा दीपकले गीतका टुक्का लेखे। 

वर्षमा दिनको यो बडादसैँ कमेरो लाइएन
देश र जनता भन्दामा भन्दै घर जान पाइएन
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

सशस्त्र प्रहरीको सांगीतिक ब्यान्डले दीपकलाई साथ दियो। उनले गीत गाए, भिडिओमा पनि देखिए। सशस्त्र प्रहरी दिवस मनाउँदा होस् वा अन्य कार्यक्रम, खुला चौरमा नाच्ने, गाउने, रमाउने सशस्त्र प्रहरी टोलीले पहिलो गीत पनि त्यसैगरी तयार गर्यो।

पहिलो पटक दसैँको टीकाको दिन टेलिचलचित्रको अन्तिममा गीत बज्यो। नेपाल टेलिभिजनले त्यो दिन पटकपटक गीत बजायो। त्यतिबेला सामाजिक सञ्जालको दुनियाँ सुरु भएकै थिएन। रेडियो र टेलिभिजनले गीत बजाएपछि लोकप्रिय भैहाल्थ्यो। यो गीत पनि एकै दिनमा लोकप्रिय भयो। 

भोलिपल्ट दीपकलाई कान्तिपुर टेलिभिजनबाट सुरजसिंह ठकुरीले फोन गरे। उनले टेलिश्रृङ्खलामा बजाइएको गीतको भिडिओ उपलब्ध गराउन भने। गीत कल कान्तिपुर नामक कार्यक्रममा प्रिमियर भयो। त्यसपछिका हरेक वर्ष यो दसैँ बोलाउने गीतका रुपमा बज्दै आएको छ।

यो गीत रेकर्ड हुनु भन्दाअगाडि चलचित्र ‘मुग्लान’को ‘चरिररी ररी लै’ मात्रै दसैँ गीतका रुपमा ज्यादा चर्चामा रहन्थ्यो। दीपकलाई यकिन छैन, तर दसैँ गीतकै रुपमा रेकर्ड भएको दोस्रो गीत यही हुनसक्छ भन्ने उनलाई लाग्छ। 

भन्छन्, ‘भएर पनि मेरो सम्झनामा नभएको हुन सक्छ। मैले मेरो गीतअघि दसैँ गीत भनेर सुनेको मुग्लान फिल्मको गीत मात्रै हो।’

यो गीत लेख्दासम्म दीपकमा आफैँसँग बिदा नपाउँदाको नमिठो अनुभूति बनिसकेको थिएन। उनका पिताले भने बिदा नपाएका थुप्रै वर्ष ब्यारेकमै दसैँ मनाए। श्रीमानबिनाको एक्लो दसैँ कस्तो हुन्छ, उनकी आमालाई थाहा थियो। छोराछोरीले चाडबाडमा बुबा खोजेर प्रश्न गर्दा मनमा गाँठो पार्ने गरेकी उनकी आमाले यो गीत सुन्दा आँसु झारिन्। आमासँगै आफ्नो समय सम्झिएर बुबा रोए। दीपक बुबा–आमाको आँसुको साक्षी बने।

जागिरे जीवनका वर्षसँगै अनुभव पनि बढेर गयो। दीपक आफैँले संगाले ब्यारेकमा दसैँ मनाउनु पर्दाको अनुभूति। परिवारबाट अलग रहँदा हरेक दर्जाका प्रहरीको अनुहारमा पोतिने उदासीपन मनबाट नियाले। उनी चाहन्थे, दसैँमा घर जान नपाएका हरेक तह र तप्काका सशस्त्र प्रहरीले बिदा नपाउनुलाई सामान्य रुपमा लिऊन् र रमाऊन्। त्यसपछि ब्यारेकका कथा बोल्ने दोस्रो गीत लेखे :

चाहिँदैन सुन चाँदी हिरा नि
सुख दुःख राइफलको सिरानी 

यो गीतपनि लोकप्रिय भयो। गीतसँगै दीपकको लोकप्रियता पनि बढेकै थियो। अर्को साल दसैँको सिजन आयो। पोखरामा इन्स्पेक्टरको तालिम लिइरहेका दीपक छुट्टीमा काठमाडौं आएका थिए। तत्कालीन शाखा प्रमुखले नयाँ गीत बनाउन भने। उनले पुनः अर्को गीत लेखे :

किन आउँछ दसैँ, तिहार किन बिदाबार
फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार?

यो गीतमा गैरे सुरेशले संगीत दिए। जगदीश समालले गाएको यो गीत पनि लोकप्रिय बन्यो। त्यो समयको लोकप्रियता, दर्शकस्रोताले गर्ने प्रेम फरक किसिमको थियो। दीपकले प्रहरीका थुप्रै टेलिचलचित्रमा अभिनय गरे। गीतमा पनि देखिए। उनलाई त्यतिबेला प्रहरीको हिरो भनेर सम्बोधन गरिन्थ्यो। उनका फ्यान उनलाई बाटोमा हिँड्दा लुकेर हेर्थे। 

दीपक सम्झन्छन्, ‘नभटेरै प्रेम पोख्ने त्यो समय बहुत सुन्दर थियो। त्यो समय हामीलाई हृदयबाट माया गर्ने फ्यान थिए। यो मान्छेलाई एकपटक भेट्न पाए हुन्थ्यो भनेर कल्पना गर्थे। कार्यक्रममा भेट्दा कतिले मेरो बाबु भनेर अंगालो हालेर रुनुहुन्थ्यो।’ 

आफ्नै गीत हेरेर रोएको त्यो क्षण... 
सन् २०१० मा दीपक संयुक्त राष्ट्रिसंघीय मिसनमा हाइटीमा थिए। मिसनमा गएको केही समयमै हाइटीमा ठूलो भूकम्प गयो। दीपकले नेपालबाट लगेका सबै सामान उनी बसेको घरमा पुरियो। उनको पासपोर्ट पुरियो। सम्झना आउँदा हेर्न भनेर बोकेका तस्बिर पुरिए। त्यो वर्षको दसैँ दीपकले हाइटीमै बिताउनु पर्यो। 

भिडिओ कल भर्खर सुरु भएको थियो। तर स्मार्ट फोनको समय सुरु भैसकेको थिए। साइबरमा गएर घण्टे शुल्क तिरेर कुरा गर्नु पथ्र्यो। त्यो पनि सजिलो थिएन। दीपकले आफ्नै कोठामा साथीको हातबाट टीका लगाएर दसैँ मनाए। यसपटक दीपक आफ्नै गीत हेरेर रोए। भन्छन्, ‘आफैँले लेखेको शब्द आफैँलाई पर्यो।’ 

दीपक अहिले सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोक काठमाडौंमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा कार्यरत छन्। उनले नयाँ गीत नबनाएको केही वर्ष भैसक्यो। 

किन त? 

छुट्दै गर्दा दीपकले भने, ‘पुरानाजस्तै लोकप्रिय र कालजयी हुने गीत सिर्जना हुँदैनन् कि भन्ने डरले।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .