कला


‘वर्ड अफ माउथ’ले दर्शक तान्यो, ‘परदेशी २’ लागेका हल भरिभराउ

‘वर्ड अफ माउथ’ले दर्शक तान्यो, ‘परदेशी २’ लागेका हल भरिभराउ

नेपालखबर
असोज २८, २०८० आइतबार १४:१३, काठमाडौँ

नेपाली चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको साथ पाएको छ। दर्शकको उल्लेख्य उपस्थितिका साथ शुक्रबारदेखि प्रदर्शन भइरहेको गरेको चलचित्रले शनिबार धेरै हलमा हाउसफुल दर्शक पायो। शनिबार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो। 

हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन्। अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिए। उनीहरुले चलचित्रले घरी हसाउने, घरी रुवाउने र धेरै दृश्यमा गम्भीरसमेत बनाउने बताएका छन्।

चलचित्र हेर्न पुगेकामध्ये कोही एक्लै समेत देखिएका थिए भने कोही साथीभाइ र परिवारका साथ। 

शनिबार चलचित्रको व्यापार पनि शुक्रबारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ। दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने देखिएको छ। निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताउँछन्।

‘शनिबार बुटवल, पोखरा, नेपालगन्ज, चितवनसहित काठमाडौँका हल हाउसफुल भए’, रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ। हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन्। भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ।’ आइतबार पनि सार्वजनिक बिदा परेका कारण चलचित्रलाई फाइदा हुने देखिन्छ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन्।

त्यस क्रममा केही दर्शक कलाकारको अँगालोमा रोएको समेत देख्न सकिन्थ्यो।

दर्शकबाट पाएको प्रतिक्रियाले कलाकार पनि उत्साहित र खुसी देखिएका छन्। कलाकारले पनि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको बताए। 

चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ। राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन्। 

निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सुपरहिट चलचित्र दिएका थिए।

‘परदेशी २’ दसैँको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .