ad ad

कला


‘जे पनि हुनसक्ने’ धम्कीपछि फेरियो नाटक ‘ह. राम पण्डित’ को नाम, निर्देशक र कलाकार त्रासमा

‘जे पनि हुनसक्ने’ धम्कीपछि फेरियो नाटक ‘ह. राम पण्डित’ को नाम, निर्देशक र कलाकार त्रासमा

नेपालखबर
भदौ ३०, २०८० शनिबार ९:५८, काठमाडौँ

विगत चार दिनदेखि शिल्पी थिएटर बत्तिसपुतलीमा मञ्चन भइरहेको नाटक ‘ह.राम पण्डित’ को नाम फेर्न दबाव परेको छ।

भैरव अर्यालको कृतिमा आधारित भएर तयार पारेको नाटक  ‘ह.राम पण्डित’ अर्थात ‘हल्दार राम पण्डित’को नाम फेर्न दबाव परेको दैलो प्रोडक्सनले जनाएको छ।

आफूलाई शिव सेना र हिन्दू जागरण मञ्चका प्रतिनिधि बताउने व्यक्तिहरुले थिएटरमै आएर दबाब दिएपछि नाटकको नाम फेर्न बाध्य भएको नाटकका निर्देशक बारत लिम्बूले बताए।

उनीहरुको दबाबपछि नाटकको नाम फेरेर ‘ह.बिन्दु राम पण्डित’ राखिएको दैलो प्रोडक्सनले जनाएको छ।

‘नाटकको पोष्टर सार्वजनिक भएदेखि नै प्रोडक्सनका, कलाकार र शिल्पी थिएटरका निर्देशक बारत लिम्बूलाई बारम्बार फोनबाट दबाब र धम्की आयो,’ दैलो प्रोडक्सनले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘उहाँहरुमध्ये केहीले ‘हामी शिव सेना नेपाल र केहीले हिन्दु जागरण मन्चको प्रतिनिधि हुँ’भन्नु भयो। हामीले ‘यो कुनै धर्ममाथिको प्रहार हैन, बरु आएर नाटक हेर्नुस्। नाटकमा त्यस्तो केही पाउनु भयो भने बरु हामी नाटक नै रोकौँला’ बारम्बार भन्यौँ। उहाँहरुले बुझे जस्तो नाटकले हिन्दु धर्मलाई होच्याउन खोजेको भन्ने आरोप सर्वथा गलत छ । हामी त्यसमा स्पस्ट छौँ। किनभने हामी रंगमञ्च र कलाको माध्यमबाट जे बोल्छौँ, एउटा चेतनशील समाजको कल्पना गर्छौं।’  

थिएटरमै आएर आफूलाई हिन्दु जागरण मन्चका मान्छे बताउने व्यक्तिहरुले धम्क्याउने र तर्साउने किसिमले दबाब दिएपछि नाम फेर्न बाध्य भएको कलाकार सबिर चुरौटेले बताए।

‘नाटकको नाम नफेरे जे पनि गर्न सक्ने किसिमको धम्की आयो। आफूलाई पत्रकार बताउने इटहरी सुनसरीका अभिमन्यू अभिजितले फोनमा नाटकका निर्देशक र कलाकार साथीलाई तपाईंहरूमाथि आक्रमण पनि हुन सक्छ’ भनेपछि हामी नाम फेर्न बाध्य भयौँ,’ निर्देशक लिम्बूले भने।

नाटक विरुद्ध जातीय र धार्मीक संगठनका नाममा आइरहेको दबावले त्रास बढेको कलाकार सबिर चुरौटेले बताए। 

‘यस्तो भयो भने ढुक्कसँग अभिनय गर्न सक्ने अवस्था रहँदैन,’ चुरौटेले नेपालखबरसँग भने, ‘नाटकका लेखक र कलाकारहरुलाई जुन किसिमको सेन्सरसिप गरिंदैछ, दवाव र धम्की दिइँदैछ यो पक्कै पनि लोकतान्त्रिक समाजको चरित्रभित्र पर्दैन।’ 

शिव सेना र हिन्दु जागरण मन्चका प्रतिनिधि बताउने समूहले दिएको धम्की र दवावबाट प्रताडित भएको हुँनाले नाटकको नाम ‘ह.राम पण्डित’बाट परिवर्तन गरेर ‘ह विन्दु राम पण्डित’ बनाएको प्रोडक्सनले जनाएको छ। 

‘तर, हामी उहाँहरुलाई स्पस्ट भन्न पार्न चाहन्छौँ, यो परिवर्तन स्वस्फुर्त र समझदारीबाट भएको हैन। उहाँहरुले हामीलाई दिएको दबाबको कारणले भएको हो,’ दैलो प्रोडक्सनले भनेको छ।

‘हिन्दु सनातन धर्मप्रति हाम्र‍ो पूर्ण आदर र सम्मान रहेकोले यस्ता हस्तक्षेपले धार्मीक असहिष्णुता झन् बढ्दै जाने हो कि भन्ने हाम्रो चिन्ता हो,’ प्रोडक्सनका अध्यक्षले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाटक हेरेर दिइने हरेक आलोचना र विवेचनालाई हामी सहर्ष स्विकार्छौ । हामीले मन्चन गरेको नाटक हेरेर आलोचनात्मक टिप्पणी गर्दा हामीलाई खुशी लाग्नेछ । बहस आवश्यक छ प्रतिबन्ध र अतिक्रमण हैन।’

कस्तो छ ह.राम पण्डित?

नाटकमा मानिसको कर्मको आधारमा मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको लोक विश्वास नाटकले प्रस्तुत गरेको छ।

मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, क–कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् भन्ने कथा नाटकमा देखाइन्छ। दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्य भदौ २७ गतेबाट मञ्चन सुरु भएको नाटक आगामी असोज १३ गतेसम्म देखाउने तयारी छ।

नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई, क्षितिज सन्तोष माझी लगायतका कलाकार अभिनय गरेका छन्।

नाटकमा प्रत्यक्ष संगीत नरेश गजुरेल र अर्पन महर्जनको छ। नाटक प्रत्येक दिन साँझ सवा ५ बजेदेखि मञ्चन हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .