सपनाका अग्ला पहाड बोकेर काठमाडौं महानगरभित्र हेलिएकाहरुका आर्तनाद कथा हामीले संचारमाध्यममा पढेका, सुनेका र हेरेका हौं। कंक्रिटको यो मायावी जंगलमा सपनाका पछाडि बेतहासा भागिरहेका लाखौं मान्छेका आफ्नै लयमा मदमत्त यो महानगरलाई हेर्ने आ–आफ्नै नजरिया छन्।
महानगरभित्र भौंतारिएका यस्तै दुई पात्र मार्फत निर्देशक मोहन राईले एक रातको कथा मार्फत महानगरको चित्रण आफ्नो ‘दृश्य क्यानभास’ मा उतारेका छन्। महानगरको सवाई कहने सिनेमा ‘महानगर‘ सार्वजनिक हुँदैछ, भदौ ८ गते देशभरका मल्टिप्लेक्स मार्फत।
त्यसो त गएको साल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा राम्रो प्रतिक्रिया सहित कयौं पुरस्कार समेत जितेको यो सिनेमालाई ‘खास दर्शक’ ले हेरिसकेका छन्। पाँचौ नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल (निफ) मा उत्कृष्ट स्क्रिनप्ले र निर्देशन विधामा पहिलो पुरस्कार समेत जितेको थियो।
महानगरको आजै मात्र ट्रेलर सार्वजनिक गरिएको छ, जहाँ ‘डार्क सेड’ मा दुई प्रमुख पात्र मेनुका प्रधान र कर्मा शाक्यको संवाद देखाइएको छ। ट्रेलर हेर्दा महानगर मार्फत काठमाडौं खाल्डोभित्र गरिने/हुने संघर्ष र बेथितिका कथावाचन गरिएको बुझ्न सकिन्छ।
सर्वसाधारणका निम्ति भदौ ८ गते हलहरुमा उपलब्ध हुने यो सिनेमाले फिल्म फेस्टिबलहरुबाट मनग्गे प्रशंसा र पुरस्कार बटुलिसकेको हुनाले नेपाली दर्शकले पनि महानगरलाई मन पराईदिने अपेक्षा राखेको निर्देशक राई बताउँछन्।
Shares

प्रतिक्रिया