निर्देशक विशाल भण्डारीलाई लाग्छ, उनको पुस्ताका कुनै पनि केटाकेटी कमेडी नहेरी हुर्किएनन्। अघिल्लो पुस्ताका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तले कमेडी मार्फत समाज परिवर्तनका मुद्दा उठाएको कुरा विशाल भुल्दैनन्। सामान्य भाषामा भन्दा नबुझेका धेरै कुरा उनी कमेडीमा भनेपछि बुझ्दथे। महजोडीपछि उनले कमेडीमा दीपकराज गिरी, दीपाश्री निरौलाहरुको स्टारडम देखे।
विशालले फिल्म हेर्दा पनि प्रायः कमेडी विधाको फिल्म छनौट गरे। उनको यो छनौट बाल्यकालदेखिकै हो। हुन त विशाल एकताका गायक बन्न चाहन्थे। गीत पनि गाए। तर उनको स्वर चलेन। उनी हरेक दिन कुनै रेडियो वा टेलिभिजन स्टेसनमा जाने र आफ्नो गीत बजाउन आग्रह गर्ने गर्थे।
च्यानल नेपालमा पनि उनी त्यही आग्रह लिएर पुगेका थिए। तर टेलिभिजन प्रशासनले उनलाई जागिरको अफर गर्यो। त्यही अफरसँगै सकियो विशालको गायक बन्ने सपना। उनले ‘हिँड्दाहिँड्दै’ कार्यक्रम चलाए। कार्यक्रम चर्चित भयो। विशाल पनि चिनिए। त्यसपछि उनले ‘म्युजिक एन्ड मोर’ र ‘फ्रेस रिलिज’ कार्यक्रम चलाए। कार्यक्रम प्रस्तोताका रुपमा विशालले ७ वर्ष बिताए।
एकदिन सुरेश पौडेलले उनलाई प्रस्ताव गरे, बिग रियालीटी शो गर्ने हो? यतिबेलासम्म विशालले केही म्युजिक भिडिओ निर्देशन गरिसकेका थिए। उनले निर्देशन गरेका म्युजिक भिडिओ चलेका पनि थिए। उनी म्युजिक भिडिओ निर्देशकका रुपमा स्थापित हुने बाटोमा थिए। उनले सुरेशको प्रस्ताव स्वीकार गरे। त्यसपछि सुरु भयो विशालको रियालिटी शोको यात्रा।
नेपाल आइडलमा असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरे। त्यसपछि उनले फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाए। फिल्म समीक्षात्मक रुपमा असफल भयो। अहिले पनि विशाललाई यही फिल्मको असफलतालाई लिएर उडाउने गरिन्छ। तर फिल्मले लगानी भने उठाएको विशालको दाबी छ। भन्छन्, ‘सानो बजेटमा बनेको फिल्म थियो त्यो। फिल्मले लगानीभन्दा डबल कमाइ गरेको थियो। तर समीक्षाका हिसाबले मेरो फिल्म असफल भयो। यो मेरो जविनका लागि पनि पाठ थियो।’
फिल्मपछि विशालले ‘द भ्वाइस’को पहिलो सिजनमा काम गरे। काम गर्दागर्दै विशाललाई लाग्यो, ‘कति अर्काको मात्रै काम गरेर बस्ने?’ यही प्रश्नले विशाललाई बारम्बार घोच्न थाल्यो। त्यसपछि उनले सोच बनाए रियालिटी शो गर्ने। त्यो समय गायनमा दुई रियालिटी शो स्थापित भैसकेका थिए। विशाललाई फरक गर्नु थियो। उनले कमेडी रोजे।
कमेडी रोज्नुको पनि कारण छ। जब विशाल स्कुल पढ्थे त्यतिबेला उनी कमेडीका कार्यक्रम हेरेर स्कुलको तनाव बिर्सन्थे। कलेज पढ्दा कलेजका तनाव बिर्सिए। जागिरे जीवनमा पनि यसले निरन्तरता पायो। उनलाई लाग्यो, ‘मानिसहरुको दुःख बिर्साउने काम मेरो हो।’ विशाललाई थाहा थियो, मजाकका माध्यमबाट जटिल कुरा पनि सजिलै बुझाउन सकिन्छ। त्यसपछि विशालले कमेडी च्याम्पियन सुरु गर्ने सोच बनाए।
सोच्न जस्तो सजिलो काम गर्न थिएन। रियालिटी शो गर्न ठूलो रकमको जोहो गर्नु पथ्र्यो। योे विशालका लागि चुनौती थियो। चुनौती छ भन्दैमा उनी कामचलाउ शो गर्न तयार थिएनन्। उनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै कमेडी शो गर्नु थियो। उनलाई त कमेडी शोमा भाग लिन आउने कमेडियन छ कि छैनन् भन्नेमै द्विविधा थियो।
भन्छन्, ‘लामो समय दीपक–दीपा, जितु र माग्ने बुढाहरुले खाएको कमेडीको मार्केटमा सक्किगोनीको टिम र सन्दीप क्षेत्रीपछि कोही कमेडियन मार्केटमा आएका थिएनन्। सन्दीपपछि लामो समय नयाँ कमेडियन देखा परेका थिएनन्। त्यसैले नयाँ कमेडियन छैनन् कि भन्ने थियो।’
यो समय विशालले अन्तर्राष्ट्रिय कमेडीको ट्रेन्ड अध्ययन गरे।
विशालमा कमेडी शो गर्ने आँट थियो। तर सुरुमा उनको आँट र प्रस्ताव हेरेर मानिसहरु हाँस्थे। टेलिभिजनमा शोको प्रस्ताव लिएर जान्थे, जवाफ पाउँथे, ‘नेपालमा कमेडीको रियालिटी शो पनि चल्छ? कमेडियन छन्?’
टेलिभिजनका मानिस हाँस्थे। स्पोन्सर खोज्न जाँदा स्पोन्सर हाँस्थे। विशाल हाँस्न सक्दैनथे। त्यो समय विशाल धेरै पटक हतास पनि भए। उनी एक्लै बस्थे र सोच्थे, ‘मैले गल्ती नै गरेँ कि क्या हो!’ फेरि उनलाई लाग्थ्यो, ‘कलाकारका रुपमा स्टारडम बनाएका मदनकृष्ण, हरिवंशदेखि दीपक–दीपा हुँदै सन्दीप क्षेत्रीसम्मको जेनेरेसन आर्थिक हिसाबले पनि राम्रो जीवन बिताइरहेको देशमा चल्ने कन्सेप्ट कमेडी नै हो।’ उनलाई आफूलाई उत्प्रेरित गरेर कार्यक्रम सुरु गर्न समय लाग्यो।
जे होस्, उनले कमेडी च्याम्पियनको पहिलो सिजन गरे। आधा घाटा बेहोरे। आर्थिक रुपमा घाटा बेहोरेपनि दर्शकको माया अत्यधिक पायो। पहिलो शो सकिँदा विशालका बारेमा मानिसहरुले बनाएको छवि परिवर्तन भयो। तिम्रो कन्सेप्ट चल्दैन, गायनको रियालिटी शो गर्नु, विज्ञापन दिन्छु भन्नेहरु दोस्रो सिजनमा हामी सहयोग गर्छौं भन्दै आए। विशालले त्यही मायाको भरमा दोस्रो सिजन गरे। दोस्रो सिजन फाइदामा गयो। उनी अब तेस्रो सिजनको तयारीमा छन्।
पछिल्लो समय विशालको ‘कमेडी क्लब विथ च्याम्पियन’ लोकप्रिय छ। यो शो असारसम्म चल्ने छ। कमेडी क्लबमा सबैभन्दा धेरै मजाक उनीमाथि नै हुने गरेको छ। उनलाई सबैभन्दा असफल निर्देशकका रुपमा चित्रित गरिन्छ। उनी मुस्कुराएर समर्थन गर्छन्। तलब नदिने निर्माताका रुपमा रोस्ट गरिन्छ। उनी हाँसेरै समर्थन गर्छन्। तर शोमा भनिएको जस्तो उनी न त असफल निर्देशक हुन् न पैसा नदिने निर्माता नै। उनको टिमले निर्देशन गरेको ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ लोकप्रिय छन्। थुप्रै म्युजिक भिडिओ लोकप्रिय छन्। ‘कमेडी च्याम्पियन’ होस् अथवा ‘कमेडी क्लब’ दुवैमा उनी सफल साबित भैसकेका छन्। विशाल भन्छन्, ‘मलाई सबैभन्दा धेरै असफल भएको कुरा सुन्न मन पर्छ।’
कमेडी च्याम्पियनको दोस्रो सिजन सकिँदा ‘च्याम्पियन’ डुब्यो भन्ने जोक स्थापित भएको थियो। एकदिन विशाल विराटनगरको यात्रामा थिए। बाटोमा भेटिए ‘च्याम्पियन’का फ्यान। उनले नजिकै आएर भने, ‘विशाल भाइ, तपाईंलाई त धेरै घाटा लाग्यो कि क्या हो?’ विशालले उनलाई होइन, फाइदामा छ भन्न चाहेनन्, मात्रै मुस्कुराए र उनीसँग छुट्टिए। यो घटनाले विशाललाई काम गर्ने उर्जा अझै धेरै दियो। भन्छन्, ‘दोस्रो सिजन पहिलो सिजनको समेत घाटा पूर्ति गर्नेगरी फाइदामा गएको हो। हामीले हरेक सिजनमा एउटा हुकलाइन लिएर हिँड्यौ। त्यही हुक लाइनले काम गरेको हो।’
‘कमेडी क्लब’भित्रका पनि आफ्नै कथा छन्। यो ‘शो’मा गेस्ट बोलाएर उनीहरुमाथि नै मजाक गरिन्छ। सुरुमा यो निकै गाह्रो थियो। कति कलाकार त उनीसँग रिसाए पनि। सेटभित्रै एकदिन गेस्टले मेकअप रुममा भने, ‘मलाई रोस्ट हान्यो भने म यस्तो गर्छु।’ ऋचा शर्मा र मेकअप आर्टिस्टले विशाललाई सुनाए। विशालले उनीमाथि तयार पारेकबो जोक हटाए। त्यसपछि विशाललाई लाग्यो, ‘यो पुस्ताको महिला कलाकारले आफू माथिको जोक सुन्न नसक्ने रहेछन् कि क्या हो!’ त्यसपछि उनले थुप्रै जोकमाथि कैँची चलाए।
उनको यो धारणा पनि नायिका निशा अधिकारीले परिवर्तन गरिदिइन्। हिजोआज विशाल लेखिएको जोक एडिट गर्दैनन्। छायांकन सकिएर गेस्ट बाहिर निस्कँदै गर्दा सोध्छन्, ‘कुनै जोकमाथि आपत्ति छ?’ रहेछ भने एडिटिङमा हटाउँछन्। हिजोआज कलाकार उनको ‘शो’मा हाँस्न आउँछन्। विशाललाई खुशी लाग्छ।
असफलताहरु जीवनमा सुनिरहनु पर्छ भन्ने विशालको मान्यता छ। उनले हात हालेका थुप्रै प्रोजेक्ट सफल भएका छन्। उनका सफल प्रोजेक्टको खासै चर्चा हुँदैन। धेरैलाई त थाहा पनि नहुन सक्छ, ‘द भ्वाइस अफ नेपाल, ‘नेपाल आइडल’ लगायतका कार्यक्रममा उनको सहभागिता थियो। उनको असफल एउटा प्रोजेक्ट ‘कोहलपुर एक्सप्रेस’ हो। यसैलाई लिएर उनीमाथि मजाक हुन्छ। उनी त्यो मजाक सुन्न सक्छन्।
विशाल अनटाइटल्ड फिल्मको तयारीमा छन्। उनलाई लाग्छ, ‘त्यो असफलता सच्याउन यो फिल्ममा काम गर्ने हो।’ उनी त्यही अनुसार खटिरहेका छन्। भन्छन्, ‘हामी सफलताका कुरा मात्रै सुन्न चाहन्छौँ। तर मलाई तपाई गाली चाहिँ गर्दै गर्नुस् है भन्छु। म कहाँकहाँ सफल भएँ, मलाई थाहा छ। आफ्नो कमजोरी थाहा नहुन सक्छ, बिर्सिन सक्छु। सफलताको सिँढी चढ्दै गर्दा असफलताको खुड्किला बिर्सने छुट मलाई छैन।’
विशालको टिम बलियो छ। बेला–बेला यो टिम भत्काउने चलखेल भइरहन्छ। तर विशाललाई कमेडी मार्फत एउटा परिवार स्थापना गर्नु थियो। उनलाई लाग्छ, त्यसमा आफू सफल भएको छु। हुन त राम्रो अवसरका लागि परिवारबाट कोही छुट्टिएर जान चाहे उनी रोक्नेवाला छैनन्। उनको टिमका हरेकको विशाल उज्यालो आगत नै चाहन्छन्। तर आजसम्म त्यो अवस्था नआएकोप्रति उनी खुसी छन्।
विशाल ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन र नयाँ फिल्मको तयारीमा छन्। तयारी जेसुकैको गरिरहेपछि विशालको ध्यान कसरी राम्रा विषयवस्तु चाखलाग्दो शैलीमा प्रस्तुत गर्ने भन्नेमा केन्द्रित छ।
प्रतिक्रिया