ad ad

कला


पत्नीसँग अलग भएपछि आत्महत्या गर्न चाहन्थे राजेश खन्ना

रगतले लेखिएका चिठी आउँथे
पत्नीसँग अलग भएपछि आत्महत्या गर्न चाहन्थे राजेश खन्ना

नेपालखबर
पुस १४, २०७९ बिहिबार १२:२५, काठमाडौँ

बलिउड फिल्म उद्योगका पहिलो सुपरस्टारका रूपमा राजेश खन्नालाई लिने गरिएको छ। उनलाई सबैले काका भनेर सम्बोधन गर्थे। बलिउडमा त्यतिबेला ज्यादा स्टारडम भएको मानिसलाई ‘उपर, काका, मुनि’लगायत शब्दले सम्बोधन गर्ने प्रचलन थियो। 

सन् १९७० को दशकमा खन्नालाई धेरै चिठी आउँथे। त्यसताका उनले चिठी पढ्न एक पुरुषलाई कर्मचारीका रूपमा नियुक्ति गरेका थिए। उनलाई आएका धेरै चिठी रगतले लेखेका हुन्थे। 

बाबु–आमाको गरिबीका कारण खन्नालाई आफन्तले जिम्मा लिएका थिए। फिल्ममा आउन उनले निकै संघर्ष गरेका थिए। खन्नाले ट्यालेन्ट हन्टमा १० हजार जनालाई हराएर प्रतियोगिता जितेका थिए। यो जितले उनलाई दुई फिल्ममा अभिनय गर्ने अवसर आयो। यहीँहबाट सुरु भएको उनको फिल्मी करिअरले निकै सुन्दर छाप छाड्यो। यति सुन्दर फेज बलिउडमा कमै देखिएको चर्चा गरिन्छ। 

खन्ना एक्लैले झन्डै २० वर्षसम्म बलिउडमा प्रभुत्व जमाए। तर अमिताभ बच्चनको प्रवेशले उनको स्टारडम हल्लायो। 

आर्थिक अभावका कारण बाबु–आमासँग विछोड
राजेश खन्ना २९ डिसेम्बर १९४२ मा जन्मिएका थिए। उनी हीरानन्द खन्ना र चन्द्ररानी खन्नाको घरमा जन्मिए। उनका एक दाजु पनि थिए। राजेशको नाम उनका बुवाले जतिन खन्ना राखेका थिए। उनका बुवा स्कुलका शिक्षक थिए। सन् १९४७ मा देश विभाजन हुँदा राजेश खन्नाको परिवारले भारत रोज्यो। त्यसपछि उनका बुवाले जागिर गुमाए। जगिर गुमेपछि खन्ना परिवारले अनेक समस्या सामना गर्नुपर्‍यो। समस्या यति जटिल बन्यो कि उनको परिवारलाई पेट पाल्नसमेत कठिन भयो। यही कारण ६ वर्षमा राजेश खन्नाले आफ्ना बुवा–आमाको काख छाड्नु पर्‍यो।चरम आर्थिक संकटपछि हीरानन्द र चन्द्ररानीले राजेशलाई मुम्बईमा बस्ने आफन्त चुन्नीलाल खन्ना र लीलावतीको जिम्मामा सुम्पिए। 

अभिनयमा सानैदेखि लगाव 
राजेशमा बाल्यकालबाटै अभिनयमा लगाव थियो। राजेश १० वर्षमै थिएटरमा आए। उनलाई बङ्गो र तबला बजाउन निकै रुचि थियो। उनी अभिनयलाई असाध्यै मन पराउँथे, त्यसैले कलेजका दिनमा पनि उनी थिएटर र स्टेज शोसँग जोडिए। 

एकपटक ‘अन्धा युग’ नामक नाटकमा राजेश खन्नाले सिपाहीको भूमिका निर्वाह गरे। उनको प्रस्तुति देखेर प्रमुख अतिथिले ‘तिमी फिल्ममा आउनुपर्छ’ भने। तर उनका बुवा फिल्मी दुनियाँमा छोराको पाइला नपरोस् भन्ने चाहन्थे। बुबाले अस्वीकार गरे पनि उनी मानेनन्। उनले आफ्ना मामासँग फिल्मी लगावबारे कुरा गरे। त्यसपछि उनले आफ्नो नाम परिवर्तन गरेर राजेश खन्ना राखे। 
महँगो गाडीमा अडिसन दिन जान्थे

राजेश खन्ना स्पोर्ट कारको शौखिन थिए। उनी अडिसनका लागि पनि एमजी स्पोर्ट कारमा जान्थे। त्यतिबेला फिल्मका ठूला स्टारसँग पनि यस्ता कार थिएनन्। अडिसनका लागि पुगेका खन्नाले कहिलेकाहीँ निर्देशकलाई भेट्ने गर्थे। भेटमा उनी भन्ने गर्थे, ‘मलाई पनि जुनियर आर्टिस्टको भूमिका दिनुहुन्छ भने म त्यो पनि पूर्ण भक्तिका साथ गर्नेछु।’ तर उनको कुरालाई कसैले ध्यान दिँदैनथे।

फिल्मी यात्राको पहिलो एपिसोड
राजेश खन्नाको पहिलो फिल्म ‘आखरी खत’ सन १९६६ मा रिलिज भएको थियो। चलचित्रले ४०औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्रअन्तर्गत नोमिनेसनमा परेको थियो। तर चलचित्र मनोनयन राउन्डबाट बाहिरिएको थियो। उनको पहिलो प्रयास सफल हुन सकेन। सन् १९६७ मा रिलिज भएको ‘राज’ दोस्रो फिल्म भने हिट भयो। ६५ लाखमा बनेको यो फिल्मले त्यतिबेला १ करोड कलेक्सन गरेको थियो। त्यसपछि उनको फिल्मी यात्राले गति लियो। 

मानिसमा राजेश खन्नाको क्रेज अत्यधिक थियो। फिल्म सुटिङमा उनी फ्यानद्वारा घेरिन्थे। उनको सुटिङ जहाँ हुन्थ्यो, त्यहीँ हेर्ने दर्शकको भीड लाग्थ्यो। जसका कारण कहिलेकाहीँ दुर्घटना पनि हुने गरेको थियो। 

सुटिङका क्रममा यस्ता सम्भावित घटनालाई ध्यान दिई सतर्कतासमेत अपनाउने गरिएको थियो। एकताका राजेश खन्नाको सुटिङ नैनीतालमा थियो। सुटिङ लोकेसन नैनी तालको वरिपरि भएकाले सो ताललाई तीन दिनसम्म चारैतिरबाट डुङ्गाले बाँधिएको थियो– उनलाई हेर्न मानिसहरू त्यहाँ पुग्ने छन् र यो बन्धनले सम्भावित दुर्घटना नहोस् भनेर। 

दोस्रो कथा फिल्म ‘अमर प्रेम’को हो। यो फिल्मको एक दृश्य कोलकाताको हावडा ब्रिजमुनि लिनु थियो। जहाँ राजेश खन्ना शर्मिला टैगोरसँग डुङ्गामा देखिनु थियो। तर पछि त्यहाँको प्राधिकरणले अनुमति दिएन। राजेश खन्नालाई हेर्न हावडा ब्रिजमा यति धेरै मानिस जम्मा हुन्थे  कि जसका कारण पुल भत्किने जोखिम देखिएकाले त्यहाँ सुटिङ गर्न नदिएको प्राधिकरणले स्पष्टीकरण दियो। राजेशको जीवनमा यस्ता थुप्रै घटना छन्। 

राजेश खन्नालाई थिएटरमा देखेर मानिसहरू पागल भए, उनको सर्ट च्याते
राजेश खन्नाका साथीहरूको सूचीमा साउथ अभिनेता कमल हसनको नाम पनि समावेश छ। एकपटक कमल हसन राजेश खन्नासँग अमेरिकी फिल्म हेर्न गएका थिए। त्यहाँ उपस्थित मानिसहरूलाई थाहा थिएन कि राजेश खन्ना पनि त्यहाँ छन्। सबै ठीक थियो र फिल्म समाप्त भयो। तर राजेश खन्नाले फिल्मको शीर्षक समाप्त भएपछि हेर्न थाले। उता, कमल हसनले त्यहाँ उपस्थित मानिसहरूलाई यो कुरा थाहा पाएमा थिएटरमा भागदौड मच्चिने चिन्ता गर्न थाले। अन्ततः त्यही भयो। मानिसहरूले राजेश खन्नालाई चिने र उनलाई छुन त्यहाँ उपस्थित मानिसहरूबीच झगडा भयो। कमल हसनले राजेश खन्नालाई त्यो भीडबाट बचाए र उनलाई बाहिर निकाले। तर मानिसहरूको झगडामा राजेश खन्नाको सर्ट च्यातियो। त्यसबेला पनि राजेश खन्ना मुस्कुराइरहेका थिए। 

राजेश खन्नाका फ्यानहरूको क्रेज कहिल्यै समाप्त भएन। एकपटक उनले एक प्रशंसकलाई भेटे, जसले उनलाई उनको फोटोहरूको संग्रह देखाए। उनलाई देखेर राजेश खन्ना छक्क परे र खुसी पनि भए। उसलाई त्यो संग्रह यति मनपर्‍यो कि उनले त्यो फ्यानलाई एउटा फुड ट्रक उपहार दिए। जुन अझै पनि दिल्लीमा सञ्चालनमा छ। राजेश खन्ना आफँैले यो फुड ट्रकमा ५०० पटक गएर त्यहाँको खानाको स्वाद लिएका थिए।

खन्नाले आत्महत्या गर्न चाहेका थिए
राजेश खन्ना र डिम्पल कपाडियाको सम्बन्धमा विवाहको ११ वर्षपछि दरार आउन थाल्यो। राजेश खन्ना डिम्पललाई फिल्ममा काम गराउन चाहदैनन् भन्ने चर्चा थियो। जसका कारण यी दुईबीच निकै विवाद भयो। यही कारण उनीहरू अलग बस्न थाले तर सम्बन्धविच्छेद गरेनन्। एक अन्तर्वार्तामा राजेश खन्नाले डिम्पलसँग अलग भएपछि १४ महिनासम्म आफ्नो वरिपरि पर्खाल बनाएको बताएका थिए। उनले मानिसहरूलाई विश्वास गर्न छाडेका थिए। त्यसताका उनले नयाँ फिल्ममा साइन गरेनन्। उनको आत्मविश्वास घटेको थियो। उनी बारम्बार चिन्तित थिए र आत्महत्या गर्न चाहन्थे। 

राजेश खन्नाले आफ्नो करियरमा धेरै हिट फिल्म दिए। तर उनको स्टारडम लामो समय टिक्न सकेन। रिपोर्टमा विश्वास गर्ने हो भने अमिताभ बच्चन जब फिल्मी दुनियाँमा प्रवेश गरे, तब उनको जादू मानिसमा फिक्का हुन थाल्यो। कारण थियो– उनले एक्सन फिल्ममा काम गर्न थाले तर दर्शकले उनलाई रोमान्टिक भूमिकामा मात्रै हेर्न चाहन्थे। फिल्ममा क्रेज घटेपछि खन्नाले थुप्रै टीभी सिरियलमा पनि काम गरेका छन्। 

एक समय थियो, राजेश खन्नाको घरबाहिर मानिसहरूको भीड लाग्थ्यो तर जीवनको अन्तिम समयमा उनी पूर्णतया एक्लो भए। आफ्नो अभिनय यात्रा स्मरण गर्दै राजेश खन्नाले एक अन्र्तवार्तामा भनेका थिए, ‘एक समय थियो– जब मेरो बंगला आशीर्वादबाहिर मानिसहरूको भीड लाग्थ्यो। मेरो ड्राइङ रुम गुलदस्ताले भरिएको थियो। तर एक समय यस्तो पनि आयो– एउटा फूल पनि आएन।’ यो कुरा सुनाउँदै उनी भावुक भएका थिए।

सन् २००५ मा खन्नालाई फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड दिने घोषणा गरियो। फिल्मफेयरकी प्रबन्ध सम्पादक मीरा जोशीले राजेश खन्नालाई भेटेर अवार्ड समारोहमा आएर ट्रफी स्वीकार गर्न भनेकी थिइन्। खन्नाले त्यसबेला मीरासँग समारोहका लागि केही अतिरिक्त पास मागेका थिए तर उनी एक्लै पुगेका थिए, जसले सबैलाई चकित बनाएको थियो। उनले एक्स्ट्रा पास लिए, तर पनि उनीसँग अवार्ड समारोहमा कोही आएनन्। 

मृत्युपछि क्यान्सर भएको संसारलाई थाहा भयो 
सन् २०११ मा राजेश खन्नालाई क्यान्सर भएको थाहा भयो। तर उनी यो कुरा आफ्ना नजिकका मानिसमा मात्र सीमित राख्न चाहन्थे। उनले परिवारका सदस्यहरूलाई यो कुरा आफ्ना फ्यानसम्म नपुराउन आग्रह गरे। सन् २०१२ मा उनको स्वास्थ्य बिग्रन थालेपछि २३ जुनमा उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केही दिनमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

खन्नालाई जुलाई १४ मा पुनः लीलावती अस्पतालमा भर्ना गर्नुपर्‍यो। तर उनले त्यसबेला जीवनप्रतिको मोह गुमाइसकेका थिए। उनले घरमै अन्तिम सास लिन चाहेको परिवारलाई बताएका थिए। उनका परिवारले १६ जुलाईमा अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याए। त्यसको २ दिनपछि १८ जुलाईमा बंगला आशीर्वादमा खन्नाको निधन भयो। राजेश खन्नाको मृत्युपछि संसारलाई थाहा भयो– उनी क्यान्सर रोगी थिए। उनको शव यात्रामा १० लाखभन्दा बढी मानिस सहभागी भएका थिए।

(राजेश खन्नाको आज ८०औँ जन्मजयन्तीको अवसर पारेर दैनिक भास्करमा अरुणिमा शुक्लाले लेखेको सामग्री अनुवाद गरिएको हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .