ad ad

कला


परम्परागत टीभी विस्थापित गर्न आएको नेटफ्लिक्स आफैँ टीभीजस्तो बन्दैछ

परम्परागत टीभी विस्थापित गर्न आएको नेटफ्लिक्स आफैँ टीभीजस्तो बन्दैछ

स्क्विड गेमको एक दृश्य


एलेक्स बार्कर
असोज १३, २०७९ बिहिबार ८:२१,

नेटफ्लिक्सलाई यो दुनियाँ पर्याप्त छैन भन्ने भनाइमा दम थियो। यो स्ट्रिमिङ सेवाले आफ्नै शो निर्माणका लागि सम्झौता गर्दा त्यो सम्झौताले कुनै एक मुलुक, भूमि वा पृथ्वी ग्रह मात्र नभई सिंगो ‘ब्रह्माण्ड’ नै ढाक्थ्यो। 

नेटफ्लिक्सका वकिलहरुको परिकल्पना अन्तरिक्ष यात्रामा मात्र सीमित रहेन। नेटफ्लिक्सले गरेको त्यस्तै एउटा सम्झौतामा ‘अहिले थाहा नभएका र भविष्यमा आविष्कार हुने’ सबै प्रकारका माध्यममा वितरणको एक मात्र अधिकार आफूलाई भएको उल्लेख छ।

सम्झौताका यस्ता खालका सर्तहरु कानुनी उन्मादको प्रतिफल मात्र थिएन। यो त सोचीविचारी लिइएको नीति थियो। स्ट्रेन्जर थिङ्स वा स्क्विड गेमजस्ता प्रोजेक्टका सम्पूर्ण वित्तीय जोखिम उठाएपछि नेटफ्लिक्सले सुरुमै तिनलाई भुक्तानी दिन्थ्यो र बदलामा बौद्धिक सम्पत्तिको सम्पूर्ण स्वामित्व माग गर्थ्यो।

यस्तो खालको सम्झौता टेलिभिजनले गर्ने परम्परागत सम्झौताभन्दा भिन्न थियो। टेलिभिजनमा आफ्नो शोको व्यापारिक सफलतामा निर्माताहरुको केही हिस्सा हुन्थ्यो। तर, नेटफ्लिक्सले त्यो तरिका बदल्यो। त्यसैले टीभीको भीडमा नेटफ्लिक्स अलग देखियो।

तर, गत केही वर्षमा लोकप्रियता खस्किएसँगै नेटफ्लिक्सले पनि टेलिभिजनकै जस्तो सम्झौताका सर्तहरु अपनाउन थालेको छ। अब नेटफ्लिक्सका लागि अधिकार साझेदारी गर्नु निषिद्ध छैन। लचकता नयाँ नियम बनेको छ।

नेटफ्लिक्सको सब्स्क्राइबर संख्या घट्दो छ। स्ट्रिमिङ व्यवसाय नै मन्दीतर्फ मोडिएको छ। यो कम्पनीले सामग्री निर्माणको बजेट विनियोजनमा पनि मुठी कस्न थालेको छ। यो वर्ष नेटफ्लिक्सको सेयर मूल्यमा ६० प्रतिशतको गिरावट आएको छ। तर, उसको नीतिमा आएको यो परिवर्तनका लागि यी कुनै पनि कारण जिम्मेवार छैनन्। यो त समायोजनका एउटा क्रमिक प्रक्रिया मात्र हो।

यदि नेटफ्लिक्स व्यावहारिक बन्ने विषयमा गम्भीर छ भने यो परिवर्तन आउँदा दिनमा अझै तीव्र हुनेछ। जसले नेटफ्लिक्सको सामग्री उत्पादनमा लाग्ने वार्षिक १७ अर्ब डलर बजेट र समग्र सिर्जनात्मक क्षेत्रको अर्थतन्त्रलाई नै प्रभावित तुल्याउनेछ। विज्ञापनको सुरुवात गर्नेदेखि लिएर प्रत्यक्ष कार्यक्रम विकास गर्नेसम्मका उसका योजना छन्। जसले गर्दा नेटफ्लिक्स जस्ता प्रसारकलाई विस्थापित गर्न आएको थियो, त्यस्तै देखिन थालेको छ। 

अधिकारमा साझेदारीबाट सबैभन्दा धेरै फाइदा लिनेमा पक्कै नेटफ्लिक्स पनि पर्छ। आज पनि उसको लाइब्रेरीको अधिकांश हिस्सा अन्यत्रबाट लिइएका शोहरुले ओगटेका छन्। शिट्स क्रिक वा पिकी ब्लाइन्डर्सजस्ता लोकप्रिय शोहरु नेटफ्लिक्समा आउनुअघि अन्यत्रै प्रशारण भएका थिए।

यसका केही अनौठा असर पनि छन्। बेलायतको मिडिया नियामक अफकमले हालै बीबीसी, च्यानल ४ लगायत अरु सार्वजनिक प्रशारण सेवाहरुबाट नेटफ्लिक्सले लिएका शोहरु बेलायतमा कति स्ट्रिम भए भन्नेबारे जाँच गरेको थियो।

सो जाँचमा २०२२ को पहिलो त्रैमासमा त्यस्ता सामग्री ५१ करोड पटक स्ट्रिम भएको देखियो। यो सोही अवधिमा नेटफ्लिक्सका आफ्नै सामग्रीले आकर्षित गरेको भ्युजको करिब एक तिहाइ हो। सर्वेक्षणका एक सहभागीले अफकमलाई भनेका थिए, ‘हामी परम्परागत टीभी च्यानलमा शोहरु (निशुल्क) हेर्दैनौँ। किनभने ती नेटफ्लिक्समा आइहाल्छन् (सशुल्क)।’

आफ्नो मौलिक शोको रक्षा गर्न नेटफ्लिक्स अग्रसर रहँदै आएको छ। अगाडि नै ठूलो मात्रामा पैसा तिरेपछि नेटफ्लिक्सले कहिले शो प्रशारण गर्न, कहाँ गर्ने, त्यसबाट प्रभावित अन्य सामग्री निर्माण गर्ने या नगर्ने, त्यसमा आधारित व्यापार वा भिडिओ गेम बनाउने या नबनाउनेजस्ता अधिकार समेत आफ्नो हातमा राख्ने गर्छ। उदाहरणका लागि स्क्विड गेममा आधारित नयाँ रियालिटी शो बनाउन नेटफ्लिक्सले अलग निर्माताहरुलाई अनुमति दिएको छ। 

यो निकै ठूलो शक्ति हो। तैपनि नेटफ्लिक्सका लागि समेत हिसाबकिताब बदलिन थालेको छ।

केही (तर सबै होइन) निर्माताहरु आफूले बनाएको शोमा केही अधिकार कायम राख्न जोड गर्दैछन्। प्रतिभा र राम्रा प्रोजेक्टका लागि अन्य स्ट्रिमिङ सेवाहरुले ठूलो प्रतिस्पर्धा दिँदैछन्। नियामक निकायहरुले निर्माताको अधिकार बढाउन, खासगरी युरोपमा हस्तक्षेप गरिरहेका छन्। र, स्ट्रिमिङ व्यवसायलाई सहयोग गर्न शोको जीवनचक्रको कुन हिस्सा सबैभन्दा मूल्यवान् हुन्छ भन्ने नेटफ्लिक्सले राम्ररी बुझ्न थालेको छ।

यसको नतिजास्वरुप शोको अधिकारबारे खुला बहस हुन थालेको नेटफ्लिक्सका कार्यक्रम बनाइरहेका व्यक्तिहरु बताउँछन्। आफ्ना प्रमुख शोहरुको सम्झौतामा नेटफ्लिक्सले निर्माता र सफल शोहरुलाई पुरस्कृत गरेर सिर्जनात्मक प्रोत्साहन दिने चलन सुरु गरेको छ।

तर, अलि कम महत्वपूर्ण सामग्रीहरुका सन्दर्भमा निश्चित समय नेटफ्लिक्समा राखिसकेपछि निर्माताहरुले त्यसलाई परम्परागत टीभीमा बेच्न सक्ने सर्तबारे छलफलका लागि पनि सो कम्पनी खुला बनेको छ। यहाँनेर निर्माताहरुका लागि जुवा भनेको कम पैसा लिएर बढी अधिकार राख्नु हो।

नेटफ्लिक्सको अभ्यास क्षेत्रैपिच्छे फरक छ। त्यस्तै, निर्मातैपिच्छे पनि फरक छ। तर, उसको यो यात्राको दिशा भने स्पष्ट छ। नेटफ्लिक्सका मौलिक सामग्री चाँडै परम्परागत टीभीको हिस्सा बन्न सक्छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .