कला


‘चिसो एष्ट्रे’ बारे सेलिब्रेटी : हलिउड फिल्म हेरे जस्तो!

‘चिसो एष्ट्रे’ बारे सेलिब्रेटी : हलिउड फिल्म हेरे जस्तो!

नेपालखबर
चैत २, २०७८ बुधबार १६:२५, काठमाडौँ

फिल्म ‘चिसो एष्ट्रे’ लाई सेलिब्रेटीले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रिया दिएका छन्। मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन्। 

प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिएका थिए।
‘हलिउड जस्तो’ फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा सन्तोष पन्तको जवाफ थियो। उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताएका थिए।

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झै फिल्मलाई हलिउडस्तरको मानेको प्रतिक्रिया दिएका थिए। उनले नेपाली सिनेमा हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताएका थिए।

‘सिधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो। लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजिगरिरहेका थियौँ त्यो यही सिनेमा हो,’ उनले थपे, ‘सिनेमाको दृश्य भाषामा यो ठूलो फड्को हो।’

निर्देशक निश्चल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै यो फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखेका थिए। उनले पनि फिल्मको अभिनयदेखि कस्ट्युमको छनौटसम्मको तारिफ गर्दै दृश्य भाषामा भने फिल्म निकै नै अब्बल रहेको बताएका थिए। 

अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौँ खाल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए।

‘पहिलो कुरा त यो मेरो स्वादमा पर्यो। ग्रिपिङ छ। कलाकारको काम एकदमै राम्रो छ। मलाई मनपर्यो।’

साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए।

‘म परम्परागत कथा वाचनमा विश्वास गर्दिन। यो फिल्मले पनि गरेको छैन। मलाई त सबैभन्दा बढी यही हिम्मत नै मनपर्यो। बाँकी कुरा पनि राम्रो छ,’ उनको प्रतिक्रिया थियो।

अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताएका थिए। उनले पनि कथा भन्ने शैली फरक रहेको प्रतिक्रिया दिए। 

मंगलबार प्रिमियरमा उपस्थित अधिकांशले फिल्म कथा वाचन गर्ने शैली, कलाकारको अभिनय र छायांकनको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताएका थिए।

‘हामीले अलि फरक शैलीको फिल्म बनाउने प्रयास गरेका थियौँ। फिल्म फ्रटिनिटीबाट स्याबास पायौँ। अब दर्शकको प्रतीक्षा छ’ उनको भनाइ थियो।

कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो। फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन्। अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ। 

प्रिमियरअघि भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो। उनले भूपीको कविताको भावलाई लिएर सिनेमा बन्नु नै सुन्दर पक्ष रहेको बताएकी थिइन्। समग्रमा पनि उनले आफूलाई चलचित्र मन परेको प्रतिक्रिया दिएकी थिइन्।  

कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन्। फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad