बुधबार अभिनेता राजेश हमालको काठमाडौं महानगरको मेयर बन्ने चाहनाको खबर फैलियो। उनले आफैंले सुरु गरेको युट्युब च्यानलमा राखेको भ्लगमा काठमाडौंको सौन्दर्यबारे असन्तुष्टि जनाउँदै भनेका थिए ‘काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो?’
उनको यही भनाइलाई आधार मानेर सबैले विभिन्न शीर्षकमा समाचार बनाए। केहीले त आफूसँग राजनीति सिक्न आउन समेत आग्रह गरे। धेरैले शुभकामना दिए। कतिले फिल्मको पर्दामा जस्तै महानगरमा पनि महानायक बन्न सुझाव दिए। शुक्रबारको एक भेटमा महानगरको मेयर बन्ने नै हो त भन्ने प्रश्नमा हमालले भने ‘मैले त व्यङ्ग्यात्मक रुपमा भनेको मात्रै हुँ।’
हमालले आफ्नै आँखा अगाडि फेरिएको काठमाडौंको स्वरूपका बारेमा चिन्ता व्यक्त गरे। उनी काठमाडौंको सुन्दरतालाई जोगाइराख्न नसकेकोमा निकै दुःखी देखिन्थे। उनले भने ‘मैले हेर्दा हेर्दै छुटेर गएका हुन् काठमाडौंका शान्त, शितल र मुलायम दृश्यहरु। एक समय काठमाडौंको आकाशबाट नियाल्दा हरिया फाँट देखिन्थे।’
कतै कतै देखिने बस्ती पनि कलात्मक शैलीका थिए। नेवारी शैलीका मठ मन्दिर, बौद्ध र स्तुपा देखिन्थे। हेर्दा हेर्दै काठमाडौं क्रंक्रिटको जंगलमा परिणत भयो।’
उनले थपे, ‘भौतिक संरचना बनाउँदा हामीले प्राकृतिक सौन्दर्य जोगाउनै सकेनौँ । त्यो काठमाडौं अत्यन्तै शान्त थियो । प्रदूषण थिएन । भिड थिएन । अपराध थिएन । यदाकदा घटना भइहाल्यो भने वर्षौँ त्यसैको चर्चा हुन्थ्यो । किनभने त्यस्तै अर्को घटना हुँदैन थियो ।
अपराध दर त शून्य नै थियो । दुर्घटना दर पनि कम थियो । मान्छेका साथी मान्छे नै थिए । मान्छेसँग मान्छे डराउँथे पनि । अर्थात् एकलाई अर्कोको भर थियो ।’
आफ्नै जीवनकालमा फेरिएको काठमाडौंको पुरानै स्वरुप फिर्ता गर्न मेयर बन्ने चाहाना राख्नु भएको त होइन नी भन्ने प्रश्नमा हमालले भने ‘काठमाडौंको सच्याउन नमिल्ने गरी बिग्रिएको छ। २०/२५ वर्षमा अकल्पनीय रुपमा परिवर्तन भयो। बितेका २५ वर्षमा पुराना चिजहरू नदेखिने हिसावले मेटियो। मैले हेर्दा हेर्दै काठमाडौं कंक्रिटको जंगलमा परिणत भएको छ। यो अब सुधार्न मिल्दैन। हामीसँग भिजन हुने हो भने बाँकी रहेको सौन्दर्यचाहिँ जोगाउन सकिन्छ।’
विश्वका राम्रा तथा नराम्रा सबैखाले शहरको भ्रमण गरेका हमालले जस्तै नराम्रो शहरका पनि केही न केही राम्रा पक्ष देखेको बताउँदै काठमाडौंका राम्रा पक्ष मेटिँदै गएकोमा दुःख ब्यक्त गरे। यस तर्फ कसैको ध्यान नगएको भएर आफूले भ्लगमा व्यङ्ग्य मात्रै गरेको हमालले बताए।
हमालसँग थुप्रै फिल्ममा स्क्रिन शेयर गरेकी अभिनेत्री करिश्मा मानन्धरले तामझाम सहित एमालेमा प्रवेश गर्ने तयारी गरेकी छिन्। यही चर्चामा आएका हमालले भने आफू विशुद्ध कलाकार भएको र कलाकारितामै रमाउने बताए। हमालकी श्रीमती मधु भट्टराईले भने हमाल राजनीतिमा जान चाहेको खण्डमा आफूले साथ दिने बताइन्।
Shares

प्रतिक्रिया