कला


सम्झनामा तारा देवी...

सम्झनामा तारा देवी...

नेपालखबर
माघ १०, २०७८ सोमबार २१:४१, काठमाडौँ

स्वर किन्नरी तारा देवीको १६ औँ पुण्य स्मृतिका अवसरमा तारा देवी स्मृति फाउण्डेसनले गरेको ‘सम्झनामा तारा देवी’ कार्यक्रममा एक दर्जन भन्दा बढी गायक गायिकाहरुले तारा देवीद्वारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका छन्। 

काठमाडौं महानगरपालिका र म्युजिक नेपालको सहयोगमा भएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधव घिमिरेको शब्द तथा नातिकाजीको संगीत तथा शुभ बहादुर सुनामको संगीत संयोजन रहेको गीत ‘फूलको थुँगा..’ गाइन्। यहि गीतमा स्वर किन्नरी तारा देवीको बायोपिक आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुत गर्दा माहोल निकै भावुक बनेको थियो। जेरक्स चौधरीले कोरियोग्राफी गरेको बायोपिकमा अनुजा अधिकारी, रियाना थापा, जेरक्स चौधरी, किशोर विश्वकर्मा, श्रवण पाख्रिन, सिर्जना घिमिरे कलाकार थिए।

गायिका प्राश्ना शाक्यले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘उकाली ओरालीहरुमा’ बोलको गीत गाएर माहोल तताइन्। जिना रसाईलीले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘आमा भएर बाँची हेर’ प्रस्तुत गरिन्।

कार्यक्रममा पाँच वटा युगल प्रस्तुती गरिएको थियो। पूर्वमन्त्री रामबीर मानन्धरले गायिका गीता पाण्डेसँग ‘मुस्कानका लहरहरु’ र गायिका प्राश्ना शाक्यसँग ‘तिम्रो नाम अझै छ ओठमा’ गाए । गायिका सरस्वती मानन्धर, लजना मानन्धर, रेकिशा केसी, पुष्मा नेपाली साथै गायक सुरेश मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्माले पनि तारादेवीका गीत गाएर उनको स्मरण गरे। 

कार्यक्रममा रचनाकार किरण खरेल, चाँदनी शाह, रत्न शम्शेर थापा, चेतन कार्की लगायत संगीतकार नातिकाजी, गोपाल योञ्जन, शुभ बहादुर सुनाम, शिव शंकर तथा अम्बर गुरुङका गीतहरु गुञ्जिएका थिए। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले श्रष्टाहरुको हितका लागि महानगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए। 
फाउण्डेशनका अध्यक्ष दीपक केसीले आगामी वर्षसम्म फाउण्डेशनको घर निर्माणका लागि महानगरपालिकाले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad