संस्कृति तथा पुरातत्व अध्ययन केन्द्र (सीएआरसी)ले पुरातत्व क्षेत्रको सुदृढीकरण तथा पुनर्संरचना गर्न सरकारसँग माग गरेको छ।
केन्द्रले देश संघीय संरचनामा गए पनि पुरातत्व क्षेत्रको संरचना केन्द्रीकृत नै भएकोले यो क्षेत्र धराशायी भएको भन्दै मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो।
केन्द्रका अध्यक्ष सुदर्शन अर्यालसहितको टोलीले बुझाएको ज्ञापन पत्रमा पुरातत्व विभागलाई प्रदेश स्तरसम्म विस्तार गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा पुरातत्व अधिकृतको व्यवस्था गर्नुपर्ने लगायत माग गरिएको छ।
ललितपुरको मंगलबजारमा रहेको सांस्कृतिक एवं पुरातात्विक प्रयोगशालाको उचित प्रयोग हुन नसक्दा अहिले पुरातात्विक सम्पदाको परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता रहेको भन्दै त्यसको उचित पहलका लागि प्रयोग गर्न समेत केन्द्रले माग गरेको छ ।
सांस्कृतिक तथा पुरातत्विक क्षेत्रको संरक्षणका लागि अहिलेको संयन्त्रले काम गर्न नसकेको केन्द्रले जनाएको छ। यसका लागि छुट्टै सुरक्षा दस्ता गठन गर्न समेत ज्ञापनपत्रमा आग्रह गरिएको छ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले पुरातत्व क्षेत्रको संरक्षणमा आफू सकारात्मक भएको र यसबारे आफूले पहल गर्ने आश्वासन दिएको केन्द्रका अध्यक्ष अर्यालले जानकारी दिए।
Shares
प्रतिक्रिया