कला


पारस शाहलाई भेटेपछि कमेडियन भरतमणिले भने : म त झन् ठूलो फ्यान भएँ

पारस शाहलाई भेटेपछि कमेडियन भरतमणिले भने : म त झन् ठूलो फ्यान भएँ

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार १३:३५, काठमाडौँ

कमेडी च्याम्पियन भरतमणि पौडेलले शुक्रबार साँझ पूर्वयुवराज पारस शाहलाई भेटेका छन्। कमेडी च्याम्पियनको यो सिजनको प्रतिस्पर्धाका क्रममा पारसको जिद्धि स्वभावको क्यारिकेचर गरेर चर्चामा आएका भरतमणिले भेटेका हुन्। 

पारसलाई भेट्दा कमेडी च्याम्पियनको पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि सहभागी थिए। 

भरतमणिले पारससँगको भेटपछि खुसी भएको बताएका छन्। 'एकदमै खुसी छु केही दिनअघि पुर्वयुवराज पारस शाहसँग भेट गर्ने अवसर मिल्यो', उनले भनेका छन्, 'उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौँ। लगभग १ घण्टाको बसाइमा रमाइलो गफगाफ भयो।'

उनले आफू पहिले पनि पारसको शुभचिन्तक रहेको बताएका छन्। 'म पहिले पनि उहाँको शुभचिन्तक थिएँ। यो भेटपछि म झन् ठूलो प्रशंसक भएँ। साँच्चै भन्ने हो भने उहाँ साह्रै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ।'

उनले आफूलाई देख्नेबित्तिकै पारस हाँसेको पनि बताएका छन्। 'उहाँले मलाई देख्नेबित्तिकै हाँस्नु भयो। मसँग हात मिलाएर हालखबर, सन्चो बिसन्चो सोध्नु भयो', उनले भनेका छन्, 'पहिलो भेटमै पुरानो साथीसँग भेट भए जस्तै व्यवहार गर्नु भयो। म पहिले नै उहाँको प्रशंसक थिए, यो भेटपछि झन् ठूलो फ्यान भएँ।'

पारसले भरतमणिसँगको भेटमा उनीबारे सानो प्रतिक्रिया पनि दिएका थिए। 'फन्नी फन्नी । दामी थियो,’ पारसले भेटमा भरतमणिलाई भनेका थिए। 

पारसको नकारात्मक स्वाभावको क्यारिकेचर गरेपछि भरतमणिले गाली र प्रशंसा दुवै पाएका थिए। पारसलाई त्यसरी क्यारिकेचर गरेर उडाएको भन्दै समर्थक र राजावादीहरु भरतमणिमाथि खन्निएका थिए। उनले पारसलाई यसबारे जानकारी गराए। 

भरतमणिले यी सबै कुरा सुनाएपछि पारसले उल्टै प्रशंसा गरे। ‘तिम्रो प्रस्तुति राम्रो थियो, कमेडी त अझै झन् राम्रो थियो', पारसले भेटमा भने, 'अझै सफल हुँदै जानु, हाम्रो समाजमा खुट्टा तान्नेको कहाँ कमी छ र? काममा ध्यान दिएर अघि बढिरहनु।'

भेटका क्रममा पारसले भरतमणिसँग कमेडीको कुरा मात्रै गरेनन्। देशको अवस्था बिग्रिँदै गएको भन्दै उनले दुखेसो पोखे। भरतमणिका अनुसार पारसले आफू अहिले पनि प्रजातन्त्रकै पक्षमा रहेको बताएका थिए। 

उनले अहिले देशमा रेफ्रीबिना नै खेल चलिरहेको भन्दै दु:ख व्यक्त गरेका थिए। पारसले देशको चिन्ता लिँदै नेतृत्वले समस्याको सम्बोधन गर्न नसकेकाले अब युवाहरु अघि आउनुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad