गायिका मिलन नेवारको पित्तथैलीमा रहेको पत्थरी शल्यक्रिया (अपरेसन) गरेर निकालिएको छ।
‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलनले सामाजिक सञ्जालमार्फत आफ्नो अपरेसन भएको जानकारी दिँदै खुसी बाँडेकी हुन्।
उनका अनुसार ३ दिनअघि पत्थरीको अपरेसन गरिएको हो। यसबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्।
‘अपरेसन भनेको अपरेसन नै रहेछ। चाहे जत्रो होस् प्रक्रिया त्यही दुखाइ। त्यै, बस घाउ सानो वा ठूलो,’ उनले लेखेकी छन्, ‘धेरै समयदेखि पालेर राखेको लगभग १२ एमएम (पित्तथैली ढुंगा) को भारी बल्ल बिसाएँ।’
अब १० देखि १५ दिनभित्र नियमित काममा फर्किेने गायिका मिलनले जानकारी दिएकी छन्।
उनले आफ्नो अपरेसन गर्ने ग्यास्ट्रो सर्जनद्वय डा. रमेशसिंह भण्डारी र डा. प्रकाश पौडेललाई धन्यवाद दिएकी छन्। डा. भण्डरी ‘फूलबुट्टे सारी’ गीतका भर्सन गायक हुन् भने डा. पौडेल ‘फूल कुमारी’ गीतका लेखक।
गायिका मिलनले सबैलाई स्वास्थ्यमा ध्यान दिन सुझाव पनि दिएकी छन्। कुनै रोग देखिनासाथ उपचार गराइहाल्न पनि उनको आग्रह छ।
‘सकेसम्म वर्षमा एकपटक पूरै शरीरको जाँच गर्नुहोला,’ उनले भनेकी छन्, ‘सही खानपान दैनिक व्यायाम गर्नुहोला र स्वस्थ रहनु होला।’
Shares

प्रतिक्रिया