केही वर्षअघि कवि विष्णु सन्यासले ‘आन्दोलनमा ईश्वरहरू’ शीर्षकको कविता लेखेका थिए। कविताको अन्तिम पंक्ति थियो–
‘...असंख्य ईश्वरहरूमध्ये एउटाले सम्बोधनमा भन्यो–
मेरो आन्दोलन ईश्वरहरूलाई ईश्वर बनाउन होइन
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘अनुपस्थित तीन’ हेर्दै गर्दा झट्ट यो कविता सम्झनामा आयो। जीवनभर अस्तित्वको लडाइँ लडिरहेका मानिसहरू जीवनपछि पनि उनीहरू समाजले आफूलाई के भन्छ भन्ने कुराको चिन्तामा हुन्छन्।
नाटकका पात्रहरू मृत्युपछि आफ्ना अपराधका कारण नर्कमा पुग्छन्। तर उनीहरू पृथ्वीलोकमा आफूहरूलाई के सोचिरहेछन् भन्ने अन्तर्द्वन्द्वमा फसिरहेका छन्। बीसौं शताब्दीका अस्तित्ववादी फ्रान्सेली लेखक झाँ–पल सात्रको नाटक ‘नो इक्जिट’लाई नेपालीमा अनुवाद गरे अवतार पाठकले। ‘सात्रले बीसौं शताब्दीको फ्रान्सेली समाज र त्यहाँको मनोविज्ञानमाथि सन् १९४४ मा यो नाटक लेखे।
नेपालको अहिलेको समाजसँग पनि यो सान्दर्भिक लाग्यो। अर्को त मानिसहरू लकडाउनमा थुनिएका छन्। यहाँका पात्रहरू नर्क पनि एकै ठाउँमा थुनिएको छ। त्यसैले यतिबेला यो नाटक देखाउनु उचित थियो,’ पाठक भन्छन्।
नाटकका निर्देशक घिमिरे युवराजलाई यो नाटकलाई निर्माण गर्नुमा चुनौती थुप्रै थियो। सुरुमा क्यारेक्टरको लेयर छुट्याउनु, सात्रको आइडोलोजी बुझ्नु र संगीत र सेटअपप तयार गर्नु। त्यो चुनौतीलाई सामना गरेर निर्माण गरे नाटक ‘अनुपस्थित तीन’।
नेपालीमा परिकल्पना गरिएको नाटकमा चार पात्र छन्, आजाद(विपीन काकी), इच्छा (उषा रजक), अभिलाषा(पवित्रा खड्का), मेनेजर(मानहाङ लावती)। तीन पात्र आजाद, इच्छा, अभिलाषाको नर्कमा भेट हुन्छ। उनीहरू पृथ्वीबाट अनुपस्थित छन्।
तर, नर्क उनीहरूले कल्पना गरेभन्दा विल्कुल फरक हुन्छ। त्यहाँ रात कहिल्यै पर्दैन, बत्ती कहिल्यै निभ्दैन। र त्यो सानो सीमाभित्र उनीहरूले बाँकी समय काट्नुपर्ने हुन्छ। तिनै जना फरक स्वभावका हुन्छन्। उनीहरू तिनै जना एक अर्कासँग मिल्नै नसक्ने हुन्छन्।
केही न केही अपराध गरेर आएका हुन्छन्। सुरुमा त्यो अपराध लुकाउन खोज्छन्। जीवनकालमा आजादले पत्नीलाई यातना दिएको हुन्छ। पत्नीलाई धोका दिएर परस्त्रीगमनमा संलग्न हुन्छ। तर ऊ क्रान्तिकारी लेखक हुन्छ।
छातिमा १२ ओटा गोली खाएर मरेको उसको दाबी हुन्छ। ऊ आफूलाई वीर र पराक्रमी देखाउन खोज्छ। ऊ काँतर हुन्छ, तर ऊ आफूलाई काँतर भएको स्वीकार्न सक्दैन।
अभिलाषा लेस्बियन हुन्छे। उसको युवतीसँग आकर्षण हुन्छ। उसले एउटा पुरुषको हत्या गरेकी हुन्छे। ऊ आफ्नो आफ्नो अस्तित्व मानिसले नस्वीकारेको मनस्थितिमा छे। ऊ कठोर छे।
इच्छा एउटी युवती हुन्छे। उसले धनी पुरुषसँग पैसाकै लागि विवाह गरेकी हुन्छे। तर उसको अन्य पुरुषसँग हिमचिम हुन्छ। उसले बच्चालाई मारेर श्रीमान्लाई धोका दिएकी हुन्छे।
यी पात्रहरू तल (पृथ्वी)मा आफूलाई के सोचिरहेका छन् भन्ने चिन्तामा छन्। उनीहरूलाई आफ्नो गोप्यता भंग होला भन्ने डर छ।
प्रत्येक पात्रहरूको चरित्रले कथा बोकेका छन्। उनीहरूको चरित्रबाट कथा बग्दै जान्छ। नर्कमा बसेर जीवनमा उनीहरूले गरेका गल्तीहरू सम्झँदैछन्।
०००
नाटको केन्द्रीय मुद्दा भनेको नै अस्तित्ववाद हो। मानिसहरू आफ्नै अस्तित्वमा फसिरहेका छन्। नाटकको सान्दर्भिकता नेपाली समाजको मनोविज्ञानसँग मेल खान्छ।
नाटकमा सिम्बोलिक रुपमा प्रयोग गरिएको मूर्तिलाई विभिन्न ढंगले हेर्न सकिन्छ। एउटा कलाकारलले कलामाथि गरेको अत्याचारलाई सिम्बोलिक रुपमा देखाउन खोजिएको छ।
नेपाली समाजमा प्रगतिशील भनिने लेखकहरूलाई नाटकले व्यंग्य गरेको छ। नाटकको पात्र ‘आजाद’ लेखक हुन्छ। क्रान्तिकारी हुन्छ। तर उसले आफ्नो पत्नीमाथि गरेको व्यवहार र नारीहरूमाथिको उसको दृष्टिकोणले कथित प्रगतिशील लेखकहरूको छिपेको चरित्रलाई दर्शाउँछ।
नारीवादी दृष्टिकोणबाट हेर्दा नाटकले महिला पक्षमा वकालत गरेको भेट्न सकिन्छ।
अस्तित्वखोजमा हिँडेका मानिसहरू आफ्नो भिजनमा क्लियर छैनन्। विभिन्न समय आन्दोलनमा नेतृत्व गर्ने नेपालका नेताहरूले आफ्नै उद्देश्यप्रति प्रष्ट छैनन्।
सात्रले बिसौं शताब्दीमा नै ‘लेस्बियन’को उठाएको मुद्दा उक्त नाटकमार्फत् उठाएका थिए। महिला र पुरुषभन्दाको अस्तित्वबाहेक अहिलेको नेपाली समाजले ‘लेस्बियन’ अस्तित्व अझै स्वीकार्न सकिरहेको छैन। नाटकमा ‘लेस्बियन’को चरित्र पनि पात्रले सशक्त ढंगले निभाएकी छन्।
कलाकार पवित्रा खड्काले ‘लेस्बियन’ क्यारेक्टरमा स्मरणीय अभिनय गरेकी छन्। ‘सुरुमा त इमोसन लेस्बियनको ल्याउनुपथ्र्यो। फरक फरक जेण्ड हुने बित्तिकै कसरी सोचिन्छ भन्ने कुराको कल्पना गरें। पढेँ, फिल्म हेरेँ। रिसर्च गरेँ,’ खड्का सुनाउँछिन्।
शिल्पीबाट साँझ ५ः३०मा मञ्चन भइरहेको यस नाटक २० गतेसम्म हुनेछ।
Shares
प्रतिक्रिया