ad ad

रोजगार


जीवन धान्न ९ महिना चौँरी खर्कको बास

जीवन धान्न ९ महिना चौँरी खर्कको बास

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १०:३, चौतारा

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको समय वर्ष दिनमा ९ महिना उच्च हिमाली भेगमा बित्छ। घर खर्च चलाउन चौँरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उनी बाँकी ३ महिनाका लागि मानव बस्तीमा झर्छन्। 

हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गरेका छन्। यो समयमा उनको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ। पुस्तौँदेखि चौँरीपालन व्यवसाय गरिरहेका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका १२ जनाभन्दा बढी चौँरीपालक किसानको दिनचर्या हो यो।

चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन्। आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए।

‘पढेको छैन, अरु सीप पनि छैन’, शेर्पा भन्छन्, ‘परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ।’ 

वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ। साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन्। जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन्। पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ।

‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ’, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्छन्, ‘चौँरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ।’ बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उनी बताउँछन्। 

खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन्। सारा संसार खर्क नै हुन्छ। उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन्। 

छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउँछन्।

‘आफैँ बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ’, शेर्पा भन्छन्, ‘दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ।’

शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेका भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन्।

बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ। खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेकी छैनन्। 

‘गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ’, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भनिन्, ‘बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन।’

साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौँरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन्। तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .