निर्वाचन विशेष


तुलसीपुर उपमहानगर: प्रमुख पद कांग्रेस र एमाले दुवैको जित्ने दाबी, कसले मार्ला बाजी?

तुलसीपुर उपमहानगर: प्रमुख पद कांग्रेस र एमाले दुवैको जित्ने दाबी, कसले मार्ला बाजी?

फाइल तस्बिर : गेहेन्द्र गिरी र टीकाराम खड्का


सुदीप भण्डारी
बैशाख १७, २०७९ शनिबार १०:२२, बुटवल

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै दाङको तुलसीपुर उपमहानगरपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।

तुलसीपुरको प्रमुख पद हात पार्न कांग्रेसका गेहेन्द्र गिरी र एमालेका टीकाराम खड्काबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। दुई उपमहानगर रहेको दाङमा घोराही माओवादी केन्द्रलाई छाडेर तुलसीपुर कांग्रेस आफूले राखेको हो। दुवै दलले मतदाता आफूतिर तान्न प्रचारप्रसार तीव्र बनाएका छन्। 

२०४९ को स्थानीय चुनावमा कांग्रेसका शंकर आचार्य तत्कालीन तुलसीपुर नगरपालिकाको मेयरमा विजयी बनेका थिए। २०५४ सालमा उनै शंकरलाई एमालेका ढुण्डीराज लामिछानेले हराए। 

संसदीय चुनावमा भने तुलसीपुरबाट अरु दलले भन्दा कांग्रेसले अलि धेरैपटक जितेको छ। 

२०४८, २०५१, २०५६ र २०७० को संसदीय चुनावमा तुलसीपुरबाट कांग्रेसले जितेको थियो। २०६४ मा माओवादी केन्द्र विजयी भएको थियो। २०७४ को वाम गठबन्धनले जितेको थियो। 

तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर पनि हो। त्यसैले मेयरमा जितहार टीकाराम र एमालेको इज्जतभन्दा बढी पोखरेलको प्रतिष्ठासँग जोडिएको छ। यता गेहेन्द्र गिरी विजयी भएमा कांग्रेसले विगतको साख फर्काउनेछ।

पूर्वसांसद दोस्रोपटक मेयरका उम्मेदवार  
२२ वर्षअघि नै गेहेन्द्र गिरी संसद् भवन प्रवेश गरिरकेका नेता हुन्। २०५६ सालमा तत्कालीन दाङ क्षेत्र नम्बर ४ बाट विजयी भएर उनी प्रतिनिधि सभा सदस्य बनेका थिए। सांसद भएको १८ वर्षपछि २०७४ सालमा तल झर्दै तुलसीपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बने। तर एमालेका घनश्याम पाण्डेसँग हारे। 

कांग्रेस दाङका पूर्वजिल्ला सभापति समेत रहेका गिरी हाल पार्टीको केन्द्रीय सदस्य हुन्। सुरुमा मेयरको उम्मेदवारमा नगर सभापति सुरेश हमाल, विमल रिजाल, रेग्मी लगायतको चर्चा थियो। आकांक्षीहरूको आआफ्ना दाबीबीच अन्ततः गेहेन्द्रले टिकट पाए। 

राजनीतिक विश्राम लिएको घोषणा गरेका खड्काको हातमा टिकट 
गत पुसमा टीकाराम खड्काले सामाजिक सञ्जालमा आफूलाई आराम गर्ने अवसर प्राप्त भएको र सांगठनिक जिम्मेवारीमा विश्राम लिने मनस्थितिमा भएको भनेर लेखेका थिए। त्यसबेला नेपालखबरसँग उनले आफूलाई जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि पोखेका थिए। 

विगतमा माधव नेपाल पक्षमा रहेका खड्का पार्टीको जिल्ला अधिवेशनबाट अध्यक्षमा दोहोरिन चाहन्थे तर पाएनन्। केन्द्रीय सदस्य पनि बन्न सकेनन्। त्यसैले उनको असन्तुष्टि सामाजिक सञ्जालमार्फत आएको थियो। 

अन्ततः उनै खड्कालाई एमालेले तुलसीपुरको मेयर लड्न टिकट दिएको छ। २०४८ साल ताका उनी रोल्पाको पार्टी प्रमुख भएका थिए। त्यसबेला रोल्पाबाट चुनाव लड्न टिकट पाए पनि जित्न सकेनन्। पछि दाङमा राजनीति गर्न थाले र पार्टीको जिल्ला नेतृत्वसम्म पुगे। 

अघिल्लो चुनावको अंकगणित 
२०७४ को चुनावमा तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९३० मत पाए।   

त्यसबेला तुलसीपुरमा एमालेको भन्दा कांग्रेसको ४ हजारजति मत कम देखिन्छ। माओवादी केन्द्रका मेयरका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९३ भोट ल्याएका थिए। 

त्यसबेला अन्तरघातका कारण पनि तुलसीपुरमा हार्नुपरेको भनेर कांग्रेसभित्र चर्चा हुने गरेको छ। 

यसपटक तुलसीपुरको गठबन्धनमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गरेको छ। तर उपमेयर पद भने एकीकृत समाजवादीले लिएको छ। जोगबहादुर राना उपमेयरका उम्मेदवार बनेका छन्। माओवादी केन्द्रले घोराहीको प्रमुख पाएको छ। 

तुलसीपुरमा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत गठबन्धनका दलले साथ दिँदा कांग्रेसले जित सहज देखेको छ। कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले तुलसीपुरमा कांग्रेस बलियो रहेको र गठबन्धन भएपछि जित सुनिश्चित बनेको दाबी गर्छन्। 

‘गठबन्धन भएपछि हामी अझ बलियो भएका छौं। उहाँहरूले मोनो रेल, भ्यु टावर, स्मार्ट सिटीका ठूला सपना देखाउनुभएको थियो। तर नागरिकका समस्या उस्तै छ’, उनले भने, ‘हामीले ५ वर्षमा शिक्षा स्वास्थ्य, बाटाघाटा जस्ता न्यूनतम कुराहरू पुरा गर्ने भनेका छौं। यो कार्यकालको काम हेरेर पनि तुलसीपुरवासीले कांग्रेसलाई भोट दिन्छन्।’  
तुलसीपुरमा एमालेबाट टीकाराम खड्का मेयरको उम्मेदवार बन्दा उपमेयरकी उम्मेदवार स्यानी चौधरी हुन्। 
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्तेतले यो कार्यकालमा भएका कामले तुलसीपुरमा आफ्नो पार्टी विजयी हुने दाबी गरे। 

‘हामीले विकास निर्माणका संरचना तयार गरेका छौं। अस्पताल बनायौं, तुलसीपुरमा धेरै राम्रा सडक बनेका छन्। खानेपानी शिक्षा स्वास्थ्यलाई प्राथमिकता राखेर अघि बढ्यौं’, उनले भने, ‘एक्लै आउन त कसैको हिम्मत छैन। सबै दल मिलेर आए पनि दाङमा एमाले बलियो छ।’ 

मेयरका उम्मेदवार खड्का सर्वहारा वर्गको भएको कुनै खोट लगाउने ठाउँ नभएको हुँदा जित्ने बस्नेतले दाबी गरे। तुलसीपुरको मेयर उपमेयर लगायतका पदमा अरु पनि उम्मेदवार छन्। तर खास प्रतिस्पर्धा कांग्रेससहितको गठबन्धन र एमालेका उम्मेदवारबीच हुने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .