कारोबार


कृषि औजार कारखाना पुनर्संञ्चालनमा अर्थमन्त्रीको चासो, अध्ययन गर्न महावीर पुनलाई आग्रह

कृषि औजार कारखाना पुनर्संञ्चालनमा अर्थमन्त्रीको चासो, अध्ययन गर्न महावीर पुनलाई आग्रह

नेपालखबर
साउन ३०, २०७९ सोमबार २३:३९, काठमाडौँ

अर्थमन्त्री  जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ। 

भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन्।  

भेटका क्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताए।

‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी  छिट्टै सञ्चालनमा ल्याउने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविष्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य छ’, उनले भने। 

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मतसम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविष्कार गर्ने बताए। कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र समेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताए। 

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरी आधुनिकीकरण समेत गर्न सकिने पुनको भनाइ थियो। अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए।   

नेपाल सरकार र तत्कालीन सोभियत संघको संयुक्त लगानीमा वि.सं. २०२१ सालमा  कृषि औजार कारखाना वीरगञ्जमा स्थापना भएको थियो। कम्पनीमा परिणत भएको कृषिऔजार कारखाना, वीरगञ्जले सुरुका वर्षहरुमा कृषि औजारहरुको प्रर्याप्त उत्पादन गरी आपूर्ति गरेको थियो। 

वि.सं. २०४८ सालमा निजीकरण भएको कृषि औजार कारखानालाई २०५१ फागुनमा निजीकरण फुकुवा गरी सञ्चालनमा ल्याइएको थियो। यो कारखाना वि.सं. २०५९ सालदेखि पूर्ण रुपमा बन्द छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .