कारोबार


संकटका बेला २ बैंकले आईएफसीबाट भित्र्याए पौने ६ अर्ब लगानी

बैंकहरु भन्छन्– घरेलु, साना र मझौला कर्जा क्षेत्र लाभान्वित हुन्छन्
संकटका बेला २ बैंकले आईएफसीबाट भित्र्याए पौने ६ अर्ब लगानी

नेपालखबर
साउन ३०, २०७९ सोमबार ११:३२, काठमाडौँ

नेपालमा अहिले लगानीयोग्य रकमको अभावले तरलतामा चाप परिरहेका बेला अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले दुई वाणिज्य बैंकमार्फत झण्डै पौने ६ अर्ब लगानी गरेको छ। 

विश्व बैंक समूहअन्तर्गतको संस्थाले सानिमा बैंक र एनएमबी बैंकमार्फत साढे ४ करोड डलर ऋण लगानी गरेको हो। 

यसअनुसार सानिमा बैंक लिमिटेड (२ करोड डलर) र एनएमबी बैंक लिमिटेड (साढे २ करोड डलर)मार्फत अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले संकटको समयमा ४ करोड ५० लाख अमेरिकी अलर अर्थात् करिब ५ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेको हो। 

वित्तीय क्षेत्रमा अहिले कर्जा माग बढिरहेको छ। तर सोअनुसारको बैंकमा पैसा जम्मा भने भएको छैन। अर्थात् निक्षेपको अवस्था कमजोर बनेको छ। यस्तो अवस्थामा दुई बैंकले लिएको ऋणले केही राहत मिल्ने देखिएको छ। 

ऋण लिने बैंकहरुले पनि यसले लघु, घरेलु तथा मझौला उद्योगहरुलाई कर्जा सुविधा वितरण हुने भएकाले यसलाई ठूलो सहयोगका रुपमा लिएका छन्।  

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो हप्ता बैंक तथा वित्तीय संस्थामा ५० अर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा गत हप्तासम्ममा त्यो घटेर ५० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। एक हप्ताको अन्तरालमा नै बैंक तथा वित्तीय संस्थाको निक्षेप २७ अर्ब रुपैयाँले घटेको छ। 

तर कर्जा प्रवाह भने बढिरहेको छ। एक हप्ताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब थप लगानी गरेका छन्। अघिल्लो हप्ताको तुलनामा गत हप्ता बैंकहरुको ऋण प्रवाह बढेको हो। अघिल्लो हप्ता ४६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह देखिएकोमा गत हप्ता ४६ खर्ब ९६ अर्ब पुगेको हो।

धेरै बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन्। नयाँ आर्थिक वर्षको सुरुदेखि नै तरलतामा चाप परेको देखिन्छ। 

यसलाई राहत हुने गरी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले सहयोग गरेको छ। 

के भन्छन् दुई बैंकका सीईओ? 
सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता लिएको हो। बैंकले लघु, साना तथा मझौला उद्योग (एमएसएमइज)का लागि उक्त रकम भित्र्याएको हो। 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे अहिलेको तरलताको असहज परिस्थितमा पनि आईएफसीबाट प्राप्त रकमले एमएसएमइज सेक्टरमा कर्जा प्रवाह गर्न सहज हुने बताउँछन्। 

‘यो रकम अत्यन्त महत्त्वपूर्ण छ। एक त तरलतामा राहत हुन्छ। अर्को सानिमा बैंकले साना तथा लघु उद्योगमाझ आफ्नो व्यवसाय फैलाएका कोशिस गरिरहेको छ। त्यसलाई समेत सहयोग पुग्छ’, उनले भने। 

सानिमा बैंकले ३५ प्रतिशत ऋण प्रवाह लघु साना तथा मझौला उद्योगमा विस्तार गरेको छ।

बैंकले ४४ अर्ब रुपैयाँबराबरको कर्जा यस्ता लघु उद्योगहरूलाई प्रदान गरेको छ। बैंकले २५ सय लघु उद्यमीहरूले उक्त कर्जाको उपयोग गरेका बैंकको तथ्याङ्कले देखाउँछ। 

यता एनमएबी बैंकले आईएफसीबाट तेस्रो आवधिक कर्जास्वरुप २ करोड ५० लाख अमेरिकी डलर कर्जा लगानी भित्र्याएको छ। 

एनएमबी बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज अङ्गबीच उक्त समझदारी भएको हो। योभन्दा अघि पनि यस बैंकले आईएफसीबाट ऋण सहयोग लिइसकेको छ। 

बैंकको सीईओ सुनिल केसीका अनुसार यो रकम निकै महत्वपूर्ण छ। विस्तार गरिएको क्रेडिट लाइनले कोभिड १९ को कारणले गर्दा समस्यामा परेको साना तथा मझौला कर्जाको क्षेत्रमा यसले सहयोग गर्ने उनको धारणा छ। 

उनले भने, ‘साना तथा मझौला कर्जा क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउन यो रकमले निकै महत्त्व राख्छ।’

आईएफसीले सन् २०२३ सम्म नेपालको ३० हजारभन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई)माझ पुग्ने बृहत् रणनीति लिएको छ। सोहीअनुसार नेपाली बैंकमार्फत ऋण प्रवाह गर्न लागेको हो। 

कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम÷व्यवसायमा ठूलो प्रभाव पारेको छ। यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्ने आईएफसीले जनाएको छ। 

यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिनेमा आशावादी रहेको आईएफसीले विज्ञप्तिमार्फत समेत बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .