ad ad

कारोबार


पेस्ता आयातमा २ करोड अन्तःशुल्क व्यापारीले तिरेनन् कि सरकारले उठाएन?

पेस्ता आयातमा २ करोड अन्तःशुल्क व्यापारीले तिरेनन् कि सरकारले उठाएन?

दीपक भट्ट
साउन १५, २०७९ आइतबार १२:३०, काठमाडौँ

नेपालमा ड्राइ फुड पेस्ता विशेष गरी चीन र भारतबाट आयात हुन्छ। 

नेपालमा मसलेदार खानेकुरामा समेत मिसाएर खाइने यो ड्राइफुड अमेरिका, टर्की, थाइल्यान्ड र हङकङबाट समेत कहिलेकाहीँ आयात भएको देखिन्छ। 

पेस्ता आयात नेपालमा विधि र पद्धतिबाट नै हुने गरेको छ। व्यापारीहरुले बैंकमार्फत प्रतीतपत्र खोली आयात गर्ने गरेका छन्। यसरी हुने आयातमा प्रक्रियामै रहेर नजानिँदो तरिकाले करछली समेत भएको देखिएको छ। 

अघिल्लो आर्थिक वर्षमा सरकारी पक्ष र व्यापारीहरुको मिलेमतोमा करछली भएको देखिएको हो। विशेष गरी चीनतर्फको तातोपानी नाका र भारततर्फको वीरगन्ज नाकाबाट आयात भएको पेस्तामा करछली भएको देखिएको हो। 

पेस्ता तातोपानी सुक्खा बन्दरगाह र वीरगन्ज भन्सार कार्यालयबाट आयात  हुुँदा कर छली भएको किटान महालेखा परीक्षकको कार्यालयले गरेको छ।  

भन्सार उपशीर्षक २००८१९९० (भुटेको वा भुटेर नुन राखिएको पेस्ता) बाट १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र मूल्यअभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्ने आर्थिक ऐन २०७७ मा उल्लेख भएकोमा अन्तःशुल्कमार्फतको ५ प्रतिशत लाग्ने कर छली भएको देखिएको हो। 

त्यसमा सरकारी पक्षको समेत मिलेमतो रहेको आशंका गरिएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक ऐनलाई बेवास्ता गर्दै करछली भएको बताएको छ। भन्सार कार्यालयले गरेको जाँचपासको परिमाणअनुसार  २ करोड ४ लाख ९८ हजार रुपैयाँ कर छली भएको देखिएको हो। 

आर्थिक ऐनले पेस्तामा अन्तःशुल्क लाग्ने व्यवस्था गरेकोमा अन्तःशुल्क नलिई जाँचपास गरेकोले अन्तःशुल्क कायम भएपछि बढ्ने मूल्यअभिवृद्धि कर (भ्याट) समेत छली भएको देखिएको बताएको छ। 

महालेखाले यो रकम असुलउपर हुनुपर्ने भन्दै अर्थ मन्त्रालयअन्तर्गतको बेरुजुमा राखेको छ। अर्थ मन्त्रालयका अनुसार कानुनमा उल्लेख भुटेर नुन मिसाएको पेस्तामा अन्तःशुल्क लाग्नुपर्नेमा त्यसमा सरकारी पक्ष समेत मिलेमतो गरेर कर असुली नभएको देखिएको छ। विधिसम्मत नै आएको तर करको एक शीर्षकमा व्यापारीहरुले छुट पाएको महालेखाको प्रतिवेदनले उल्लेख गरेको हो। 

महालेखाका अनुसार साधारण पेस्ता आयातसरह नै नुन मिसाएर भुटेको पेस्तालाई भन्सार विन्दुमा कर लगाइएको हो। 

नेपालमा पेस्ताको खपत कस्तो छ?
गत आर्थिक वर्षको आयात विवरणअनुसार नेपालमा पेस्ता भारत, चीन र अमेरिकाबाट भएको देखिन्छ। साधारण पेस्ता आयात १० मेट्रिक टन भएको देखिन्छ। २ करोड १० लाखबराबरको पेस्ता आयात भएको छ। त्यसमा सरकारले ६४ लाख रुपैयाँ कर तिरेको देखिन्छ। 

भुटेर नुन मिसाइएको पेस्ता जसमा कर समेत छली भएको विषय उठान भएको छ। त्यस्तो प्रकारको पेस्ता भने ४ सय १९ मेट्रिक टन आयात भएको देखिएको छ। जुन ३५ करोड १ लाख ८६ हजार रुपैयाँको आयात भएको छ भने १३ करोड रुपैयाँ कर समेत असुली भएको छ। 

नेपालमा गत आर्थिक वर्षभरिमा ३७ करोडभन्दा बढीको पेस्ता खपत भएको देखिएको छ। 

कर छली गरेको भनिएको वर्ष आयात कति थियो?
महालेखाको प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष अर्थात् २०७७/०७८ मा कर छली भएको भन्दै आफ्नो प्रतिवेदनमा राखेर अर्थ मन्त्रालयको बेरुजु उल्लेख गरेको छ। 

उक्त वर्ष हङकङ, टर्की, सिंगापुर, भारत र चीनबाट पेस्ता आयात भएको छ। जसमा साधारण पेस्ता १२ मेट्रिक टन आयात भएको छ। जुन १ करोड ४६ लाखबराबरको देखिएको छ। त्यस्तै साधारण पेस्ता आयातमा सरकारले ४४ लाख कर असुल गरेको देखिएको छ। 

कर छली गरिएको अर्थात् अन्तःशुल्क नउठाइएको भनिएको नुन मिसाएर भुटिएको पेस्ता आयात भने ३ सय ६२ मेट्रिक टन आयात भएको देखिएको छ। जुन थाइल्यान्ड, भारत, चीन र अमेरिकाबाट आयात भएको देखिएको हो। यो ३३ करोड रुपैयाँ बराबरको देखिएको छ। त्यसमा सरकारले ९ करोड ९५ लाख रुपैयाँ कर असुल गरेको देखिएको छ। त्यसमा २ करोड ४ लाख रुपैयाँ अर्थ मन्त्रालयले थप गरेर उठाउनुपर्ने महालेखाले बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .