कारोबार


लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १८:५७, काठमाडौँ

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ । 

साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौंको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित भव्य समारोहका बीच तीन स्रष्टालाई सम्मान गरिएको हो। 

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा।डा। त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा ज्येष्ठ नागरिक हुन्। 

समारोहमा प्राडा उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । हालसम्म साहित्यकला मन्दिरबाट करिब १० दर्जन स्रष्टाहरुले सम्मान पाइसकेका छन् । 

स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्राडा त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामका कारण साहित्य कलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताए। 

उनले साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले स्रष्टाहरुलाई सम्मान गर्ने कामको सुरुवात २८ वर्षअघि नै गरेका र अहिले यसले परम्पराको रुपमा निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । 

साहित्यकला मन्दिरका अध्यक्ष तथा चर्चित कवि तथा गीतकार बसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औं वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुशी लागेको बताए । उनले सिर्जनामार्फत समाजका हरेक क्षेत्र प्रतिबिम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए।

 ‘साहित्य होस् या संगीत, कला होस् या रंगमञ्च, यी सिर्जनशील विधाले सदैव हामीलाई अँध्यारोबाट उज्यालोतर्फको यात्रामा डोहोर्याउँछन्’, उनले भने, ‘भनिन्छ नि तमसोमा जोतिर्गमय । साहित्यकलाले हामीलाई मनको अन्धकारबाट निकालेर सिर्जनाको चहकिलो उज्यालोतर्फ डोर्याउँछ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा उषा ठाकुरले बसन्त चौधरीले साहित्य कला क्षेत्रका लागि निरन्तर गर्दै आएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेकी थिइन्। 

साहित्यकला मन्दिरले प्रत्येक वर्ष स्रष्टा सम्मान तथा विभिन्न कृतिहरु समेत प्रकाशन गर्दै आएकोमा बधाई दिंदै यस्तो कामले निरन्तरता पाउने अपेक्षा समेत व्यक्त गरिन् । 

चौधरीको प्रयासले देशका साहित्य तथा कलामा जीवन समर्पित गर्नेहरुलाई प्रोत्साहन भइरहेको समेत उनको भनाइ थियो । बसन्त चौधरी सफल उद्योगपति मात्र नभएर वरिष्ठ कवि, देशभक्त स्रष्टा तथा कर्मठ व्यक्तित्व रहेका समेत उनले सो क्रममा बताइन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा नै रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन्। 

साहित्यकला मन्दिरका उपाध्यक्ष वरिष्ठ कलाकार हरिहर शर्माले आफूहरुले सम्मानका लागि मूर्धन्य व्यक्तिको छनौट गर्ने गरेको र यसले सम्मानकै गरिमा समेत बढिरहेको उल्लेख गरे। 

समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पण समेत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad