ad ad

कारोबार


नर्वेको भिसा त्यागेर ड्रागन खेती, वार्षिक २५ लाखको व्यापार

नर्वेको भिसा त्यागेर ड्रागन खेती, वार्षिक २५ लाखको व्यापार

ध्रुव भट्टराई
बैशाख १८, २०८० सोमबार ८:५०, विराटनगर

चार वर्षअघि मोरङ बेलबारी ८ का तारा सापकोटा नर्वे जाने तयारीमा थिए। भिसा पनि आइसकेको थियो।

तर उनको मनमा टुसाएको विदेश जाने हुटहुटीको जरो एकाएक चुँडियो। स्वदेशमै बसेर केही गरौँ भन्ने हुटहुटीले भिसा त्यागे, नर्वे जाने योजना रद्द गरे।

अब के गर्ने? सम्भावनाहरू खोज्न थाले। एकदिन साथीमार्फत उनले थाहा पाए, ड्रागन फ्रुट्स खेतीमा राम्रो सम्भावना छ।

नर्वे जान जोहो गरेको १३ लाख रुपैयाँले सोही वर्ष १० कट्ठा (आधा बिघा) जमिनामा ड्रागन रोपे।

पहिलो वर्षबाटै उनले नाफा कमाउन सुरु गरे। अहिले उनले वार्षिक २५ लाख रुपैयाँको आम्दानी गरिरहेका छन्।

'सुरु गर्दा त के होला! कसो होला! निकै डराएको थिएँ,' उनले भने, 'काम गर्दै जाँदा सम्भावनाको क्षेत्र पनि फैलिँदै गयो, घरमै बसेर फलबाट राम्रो आम्दानी गर्न सकेको छु, सन्तुष्ट छु।'

बजार पनि राम्रो भएकाले अब त उनी खेती विस्तारको योजनामा पनि छन्।

000

सापकोटा जस्तै मोरङ सुन्दर हरैचा ११ का अनिल श्रेष्ठले पनि आफ्नै‌ ठाउँमा अवसरको बिउँ खोजे। चार वर्षअघिदेखि उनी पनि ड्रागन खेती गरिरहेका छन्।

आईएनजीओमा जागिर गर्ने उनले सुरुका दुई वर्ष जागिर र खेती सँगसँगै लगे। खेतीबाट धोका भए जागिर छँदैछ भन्ने सोचका साथ उनले ब्याकअप योजना बनाएका थिए। तर खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि उनले जागिर छाडिदिए।

अहिले उनी पाँच कट्ठामा ड्रागन खेती गरिरहेका छन्। जागिर छाडेपछि एक वर्षयता उनी पूर्णकालीन कृषि व्यवसायमा छन्।

आफ्नो सुनिश्चित भविष्य,तलबसहितका अन्य आकर्षक सुविधा भएको जागिर छाडेर ड्रागन फ्रुट खेतीमा लागेका अनिल भन्छन्, 'हाम्रो लागि ड्रागन खेती नयाँ अभ्यास थियो, गर्दै जाँदा भविष्यमा राम्रै आम्दानी हुने देखेर परिवारसँग सल्लाह गरी जागिर छोड्ने निर्णयमा राजी गराएको थिएँ।'

उनले अहिले ड्रागन खेतीबाट वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

एक बिघा क्षेत्रफलमा लगाएको धान र मकैभन्दा एक कट्ठा क्षेत्रफलमा लगाएको ड्रागन फ्रुट्सबाट बढी आम्दानी लिन सकिने उनी बताउँछन्।

000

सापकोटा र श्रेष्ठ जस्तै प्रदेश १ का पहाडी र तराई जिल्ला अहिले ड्रागन खेतीप्रति धेरै आकर्षित भएका छन्। पोसिलो फलफूलअन्तर्गत पर्ने सिउँडी प्रजातिको फल किन्न बारीमै ग्राहक पुग्न थालेपछि किसानहरू यसतर्फ आकर्षित भएका छन् ।

झापा मेचीनगर–१० की भावना अधिकारी पोख्रेलले प्याराडाइज कृषि फर्म दर्ता गरेर डेढ वर्षयता व्यावसायिक ड्रागन फ्रुट खेती गरिरहेकी छिन्। मेचीनगर १० ढाटस्थित पूर्वपश्चिम राजमार्गदेखि करिब ५० मिटर उत्तरमा करिब ३ बिघा जमिनमा उनले हाइब्रिड सी भेराइटीको ड्रागन फ्रुट खेती सुरु गरेकी छिन् । 

उनीजस्तै मोरङ उर्लाबारीका नारायणकुमार थापा पनि तरकारी खेती लगाउने योजनालाई परिवर्तन गरी १७ महिना पहिले ड्रागन फुट्स खेतीमा आकर्षित भएका छन् ।

डेढ बिघा जग्गा वार्षिक ६० हजारमा ठेक्कामा लिएर ड्रागन फुट्स खेतीमा लागेका थापाले यही वर्षदेखि फलले आम्दानी दिन थालेको छ।

ड्रागन फुट्स स्वास्थ्यका लागि पनि उपयुक्त फलका रूपमा लिइने भएकाले यसमा आकर्षण बढेको हो।

प्रशस्त मात्रामा भिटामिन र मिनिरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने कृषि अभियन्ता जीवनकुमार राई बताउँछन्। राईले यो फलमा १४ प्रकारका भिटामिन र मिनिरल्स पाइने बताए।


दोहोरो फाइदा 
सुनसरी राम धुनीमा १२ कट्ठा क्षेत्रफलमा क्रिपाशूर घलेले व्यावसायिक ड्रागन फ्रुट्स खेती सुरु गरेको तीन वर्ष भयो। ड्रागन खेती गरिरहेका घले खेती लगाएको पहिलो वर्षबाटै आम्दानी लिइरहेका छन्। त्यसबाहेक उनले आफ्नो खेतीमा १० धूर क्षेत्रफलमा फलको बेर्ना पनि उत्पादन गरी बिक्री पनि गरिरहेका छन्।

'लगाएको पहिलो वर्षदेखि नै फलबाट आम्दानी लिन सफल भएँ,’  घले भन्छन्, 'बेर्ना बेचेर पनि छुट्टै आम्दानी पनि गदै आएको छु।’

एकपटक लगाएपछि फलको खेतीबाट कम्तिमा पनि २५ वर्षसम्म आम्दानी लिन सकिने उनी बताउँछन्। भारतीय सेनाबाट अवकाशपछि उनी खेतीमा लागेका घलेले गएको बर्षमात्र फलको बेर्ना बिक्रीबाट ६ लाख आम्दानी गरेका थिए। यो बर्ष आम्दानी दोब्बर हुने उनी बताउँछन्

फलको एउटा बेर्ना दुई सय ५० रुपैयाँका दरले बिक्री हुँदै आएको छ। फलबाट  गएको वर्ष २० लाख बढी आम्दानी लिएको उनले बताए ।

किसान भन्छन्- धान्नै नसकिने माग छ
प्रदेश १ मा विभिन्न कृषि फर्म तथा व्यक्तिगत रूपमा व्यवसायी खेती सुरु भएको ड्रागन फ्रुट्स खेती विस्तार हुने क्रममा छ। तर अहिले स्थानीय बजारमा यो फलको मागलाई किसानहरूले धान्न नसकेको बताउँछन्।

व्यापारीहरूले किसानको खेतीबाटै प्रतिकेजी ५ सय रुपैयाँको दरले उठाउने गरेका छन्। त्यसैगरी स्थानीय पनि फल किन्नका लागि बारीमा पुग्ने गरेकाले बजारको कुनै समस्या नरहेको प्याराडाइज कृषि फर्म सञ्चालिका भावना अधिकारी पोख्रेलले बताइन्।

उनले प्रत्येक वर्ष ड्रागन फलको खेती प्रदेशका पहाडी तथा तराईका जिल्लामा विस्तार भइरहेको बताइन्।

असार लागेसँगै उत्पादन दिन थाल्ने यो फल पुस महिनासम्म रहने गर्दछ। पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममै भण्डारण गर्न सकिने गरेको किसानहरू बताउँछन् ।

एउटा बोटमा ३० किलो फल उत्पादन
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा २४ रोपनी जग्गामा तीन वर्षअघि ड्रागन फ्रुट गदै आएका शम्भु नेपालले बाँझो बसेको जमिनमा समेत ड्रागन फ्रुट्सको खेती गरेर मनग्ये आम्दानी लिन सकिने बताउँछन्। 

एउटा बोटमा ३० किलोसम्म फल उत्पादन हुने गरेको उनले बताए। पहाडमा पनि खेती सफल भएपछि उनी उत्साहित छन्। अब व्यावसायिक रूपमै यसको खेती गर्ने योजना उनको छ। एउटा बोटले १५ वर्षसम्म फल दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .