कारोबार


१ वर्षमा ढोरपाटन पुगे २३ हजार पर्यटक

१ वर्षमा ढोरपाटन पुगे २३ हजार पर्यटक

नेपालखबर
साउन ११, २०८२ आइतबार १२:४५, बागलुङ

नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ। ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ। 

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ। जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन्। 

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ। उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ। ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ। 

गत आवमा मात्रै २० लाख भन्दाबढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ। ‘प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्’, सुवेदीले भने।
 

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन्।

ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले जानकारी दिए। 

समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad